पहाडी रुटमा यातायात खुल्यो


धरान । यातायात व्यावसायीहरुको विवादले मंगलरदेखि ठप्प भएको कोशी राजमार्गको पहाडी रुटमा यातायात सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा यातायात व्यावसायीहरुबीच भएको छलफलमा सहमति भएपछि बुधबार दिउँसोदेखि पहाडी रुटमा यातायात सुचारु भएको हो । तेह्रथुमदेखि राजधानीसम्म मितेरी यातायात प्रालिले रात्रीकालीन सेवा शुरु गरेको विरोधमा मंगलबार बिहानै कोशी अञ्चलका बस व्यावसायीहरुले एउटा बस नियन्त्रणमा लिएर अवरोध पुर्याएपछि विवाद चर्किएको थियो । बस व्यावसायीहरुले अचानक पहाडी रुटमा गाडी नचलाउने निर्णय गरेपछि सर्वसाधारण जनताहरु गन्तव्यमा नपुगी बीचमा अलपत्र परेका थिए ।
प्रशासनको पहलमा बुधबार भएको वार्तामा मितेरी यातायातले तत्कालको लागि १० दिनसम्म धनकुटाको हिलेदेखि मात्रै रात्रीकालीन सेवा सुचारु गर्ने सहमति भएको छ । दश दिनभित्र व्यावसायीहरुले तेह्रथुमसम्म रात्रीकालीन बस सेवा सञ्चालन गर्न आवश्यक छ छैन भनेर अध्ययन गर्ने र त्यसै वमोजिम निर्णय गर्ने सहमति भएको छ । ‘दश दिनसम्म हामी हिलेबाट मात्रै रात्री बस सेवा चलाउछौं, त्यतिञ्जेल व्यावसायीहरुले तेह्रथुममा रात्री बस सेवा आवश्यक छ कि छैन भनेर बुझ्ने सहमति भएको छ’–मितेरी यातायातका भक्त लामाले सहमतिबारे जानकारी दिदै भने–‘तरपनि, हाम्रो अडान भनेको रुट परमिट जहाँसम्म छ, त्यहाँबाट यातायात सेवा सञ्चालन गर्न पाउनुपर्छ भन्ने हो ।’


नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, कोशी अञ्चल समितिका अध्यक्ष सरोज श्रेष्ठले दश दिनभित्रमा व्यावसायीहरुले समस्याको निकास निकाल्ने बताए । उनका अनुसार महासंघले नै हिलेदेखि उत्तर तेह्रथुम क्षेत्रका जनतालाई रात्रीकालिन सेवा आवश्यक भए नभएको बुझेर त्यसैवमोजिम निर्णय गर्नेछ । मितेरी यातायात प्रालिले जेठ १ गतेदेखि काठमाण्डौं–तेह्रथुम रुटमा रात्रीकालीन बस सेवा सञ्चालनमा ल्याएको थियो । यो बाहेक त्यस क्षेत्रमा फेसबुक नामको अर्को रात्री बस पनि सञ्चालनमा छ । धरानका यातायात व्यावसायीहरुले रात्री बसले लोकल यात्रु पनि बोकेर स्थानीय व्यावसायीहरुलाई धरासायी बनाएकोले हिलेसम्म मात्रै चल्नुपर्ने भनाई राख्दै आएका थिए । उता, मितेरी यातायातले भने तेह्रथुमसम्मको रुट परमिट पाएकोले त्यहाँसम्म चल्न पाउनुपर्ने अडान राख्दै आएको छ ।


सतहमा यो विवाद तेह्रथुम कि हिलेसम्म गाडी चलाउने जस्तो देखिएपनि भित्रीरुपमा मेची र कोशी अञ्चलका व्यावासायीहरुको सडकमा आफुहरुको कब्जा(एकाधिकार) हुनुपर्छ भन्ने लडाई हो । कोशी र मेचीका बस व्यावसायीहरु आफ्नो एकाधिकार भएको क्षेत्र एवं सडकमा एकले अर्कोलाई बस चलाउन नदिन अनेक हतकण्डा अपनाउने गरेका छन् । राज्यले सिण्डिकेट प्रणाली खारेज गरेपनि सडकमा यातायात व्यावसायीहरुको संस्थागत सिण्डिकेट एवं एकाधिकार तोडिन सकेको छैन ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे