चोक चोक र सडकमा कविता र गजल वाचन

महोत्सव समापन समारोहमा सडक कविता वाचनमा आफ्नो कविता वाचन गर्दै कवि मुनराज शेर्मा ।
धरान । धरानको भानुचौकमा सधै गन्तब्यमा पुग्न हत्तारिएका यात्रुहरुको बाक्लो ओहोरदोहोर हुन्छ । उनीहरुलाई एकछिन अडिने फुर्सद नै हुन्न । तर, सोमबार मध्यान्न भने लोकतान्त्रिक चौतारीमा सुस्ताउनेहरु धेरै थिए । उनीहरु नअडिऊन पनि किन ? एक से एक गीत, गजल र कविताहरु गुञ्जिन थालेपछि हत्तारिएका यात्रुहरु पनि साहित्यिक माहौलमा समाहित भए ।


                       रात मेरो रात हैन, जहाँ तिम्रो साथ छैन
                      मदिरा त्यो के मदिरा, जहाँ केही मात छैन ...।
प्राध्यापक सुवासचन्द्र न्यौपानेले गजल सुनाइसक्दा लोकतान्त्रिक चौतारीमा स्रोताहरुको घुइचो भइसकेको थियो । उनले थप अर्को पनि गजल सुनाए । उनीपछि प्रफुल्ल भण्डारीले गीत सुनाए । समालोचक एवं कवि मुनराज शेर्माले देशविहिन शरणार्थीहरुको पीडालाई कवितामार्फत यसरी व्यक्त गरे ः

देश भोग्न नपाएको पीडाले 
अधमरो सर्लक्क उभिन्छ
छातीमा देश लिएर
हरेक पानीका मुटुहरु
पोलिथिनका राष्ट्रियतामा
कति अबेर नगरी फुट्छन्
सानो विद्रोहले पनि ।


तीन दिने धरान साहित्य महोत्सवको समापन अवसरमा सोमबार धरानको चोक चोकमा सडक कविता वाचन भएको थियो । छाताचोकबाट शुरु भएको सडक कविता नगरपालिकाको मोति स्मृति भवन पछि धरान १६ स्थित लेखनाथ चौकमा भएको थियो । त्यहाँ कवि शिरोमणी पौडेलको सालिकमा माल्र्यापण पनि गरिएको थियो । त्यहाँबाट धरान ४ स्थित लक्ष्मी चोक, धरान १४ विजयपुरस्थित श्रष्टा विभूति स्तम्भ रहेको विजयपुर चोकमा पनि सडक कविता वाचन भएको थियो । अन्त्यमा भानुचौकमा पुगेर कविता वाचनसँगै तीन दिने महोत्सवको समापन गरिएको थियो । समापन अवसरमा श्रष्टाहरुलाई सम्मान पनि गरिएको आयोजक समितिले जनाएको छ ।
सडक कविता वाचनमा वरिष्ठ कवि अनिल पौडेल, श्रेष्ठ परिक्रमा, राज माङलाक, झरना मुखिया, श्रीशीशा राई, पेमा लामा, मुक्साम लावतीलगायत दर्जन कवि तथा साहित्यकारहरुले गीत, गजल र कविता वाचन गरेका थिए । माया प्रेम, राष्ट्रियता, विद्रोहका गीत गजल र कविताप्रति सर्वसाधारणहरुले पनि खुबै रुचि लिएर श्रवण गरे ।
उहिले कैले नै  
उधारोमा लालमोहर बेचेर
माथि पहाडको भित्तामा याक्सा बसेको लठेब्रो
सर्पजस्तो नागबेली छउमा जाँडको डबुको देखाउदै
हफपेन्टमा बटुवालई हुक्राङ गर्छ
र, एकछिन पछि 
घरि उता मुग्लान फर्किएर हाँस्छ
घरि यता ओलाङ्चुङगोलामा तोक्मा अड्याएर खुइय गर्छ
जन्मिदै रुखो सिरुद्धारीमा जन्मिएको बबुरो
सुम्हालुङ गढीमा उबिर छर्दै
पैतालामा राताम्मे मधेस धाउछ
पहाडका भित्ता र खुडकिला गन्छ
विचरो फेदेन
च्व च्व
च्व च्व ।
फेदेन(फिदिम) शिर्षकको कविता । राज माङलाक ।


तीन दिने साहित्यिक कार्यक्रम सफल भएको र श्रष्टा सम्मान तथा सडक कविता वाचन, सडक नाटक, सांगीतिक कार्यक्रमलगायतले धरानलाई साहित्य, कला र संगीतको शहरकोरुपमा चिनाउन सफल भएको आयोजक समितिका संयोजक प्रा.डा.टंक न्यौपानेले बताए । उनका अनुसार चोक र सडकहरुमा कविता वाचन र सडक नाटक प्रर्दशनीले आमजनताको ध्यान साहित्य, कलामा आर्कषित भएको र चासो बढाएको छ । साहित्य महोत्सवअवधि भर भानुचौकमा पुस्तक प्रर्दशनी गरिएको थियो भने अग्रज एवं नवोदित श्रष्टा, लेखकहरुलाई सम्मान र पुरस्कार पनि गरिएको थियो । साहित्यिक विमर्शसँगै सांगीतिक कार्यक्रम पनि आयोजना भएको थियो । महोत्सवमा पूर्वका विभिन्न जिल्लासँगै राजधानी र भारतबाट पनि साहित्यकारहरु सहभागी भएका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे