श्री सुब्बाको लघुकथा संग्रहको विमोचन
धरान । कविता लेखनबाट करिब पाँच दशकअघिदेखि नेपाली साहित्यमा कलम चलाउन थालेका श्री सुब्बाको पहिलो कृतिको रुपमा भने लघुकथा प्रकाशन भएको छ । डिपोटियन स्पोर्टस क्लबले प्रकाशन गरिदिएको लघुकथा कृति ‘रुख र मानिसहरु’को बुधबार एक समारोहबीच विमोचन भएको छ ।
उनको कृतिको साहित्यकारहरु प्रा.डा.गोपाल भण्डारी, डा.खेम दाहाल, शरणकुमार राई, अविराम क्रान्ति(गोपाल देवान)सँगै डिपोट उच्चमाविका प्राचार्य राजकुमार राई, व्यवस्थापन समितिका अध्यक्ष पूर्व गोर्खा मेजर श्रवणकुमार लिम्बू, प्रकाशक क्लबका अध्यक्ष प्रविण राईले संयुक्तरुपमा विमोचन गरेका थिए । विमोचनपछि आयोजित अन्र्तक्रियामा डा. खेम दाहालले दुई दशकअघिको नेपाललाई चिनाउने कथाहरु पनि समेटिएको टिप्पणी गरे । संग्रहका लघु कथाले कर्मचारी तन्त्र, घुस खोर, कामचोरलगायतका प्रवृत्तिलाई चोटिलोरुपमा ब्यङ्ग्य गरेको दाहालले बताए । ‘लघुकथा पढ्दै जादा रहस्यमय हुन्छ र अन्त्यमा मात्रै रहस्यको पर्दाफास हुन्छ । यो संग्रहमा पनि यस्तै रोचकशैलीका कथाहरु छन्, जसले अन्त्यमा मात्रै खुल्दुली मेट्छ’–दाहालले भने–‘हाम्रो समाजका घटनाहरुलाई रोचक र समसामयिकरुपमा प्रस्तुत गरिएका छन् ।’
अर्का साहित्यकार शरणकुमार राईले संग्रहका आधा कथाहरु लघु कथनकोरुपमा रहेको टिप्पणी गरे । उनका अनुसार कथामा लेखकले पात्रमार्फत आफ्ना कुराहरु अभिव्यक्त गर्छन् भने कथनमा लेखक आफै म पात्र भएर आफ्नो धारणा, भनाईहरु अभिव्यक्त गर्छन् । कृतिमा लघुकथन पनि भएकोले यो लघुकथनको पहिलो कृति र लघु कथाको दोस्रो कृति भएको उनले दाबी गरे । राईका अनुसार यसअघि लघुकथा संग्रहकोरुपमा जगदीश नेपालीको प्रकाशन भइसकेको छ । ‘आधा लघुकथा र लघुकथन भएपनि रचनाहरुले मानिसको आक्रोश, पीडालाई व्यक्त गर्न सफल भएको छ’–राईले भने ।


Comments
Post a Comment