चर्को आलोचनापछि कांग्रेसको बन्द स्थगित


धरान । तरुण दल सुनसरीको कार्यबाहक सभापति सिजन गुरुङलाई रिहाईको माग गर्दै आयोजित चक्काजामको चर्काे अचोलना हुन थालेपछि नेपाली कांग्रेस सुनसरीले बन्द कार्यक्रम स्थगित गरेको छ । संविधानसभा चुनावअघिको घोषणापत्रमा नेपाल बन्द वा कुनै स्थान बिशेष बन्द नगर्ने प्रतिवद्धता जनाएको भएपनि सुनसरी कांग्रेसले त्यसविपरीत शनिबारदेखि सुनसरीमा एक घण्टे चक्काजाम गर्दै आएको थियो । कांग्रेस जिल्ला समितिले बैंठक बसेर जिल्लामा एक घण्टा चक्काजाम गर्ने निर्णय गरेपनि धरानबाहेक अन्य स्थानमा भने बन्द गर्न सकेको थिएन । 
कांग्रेस नेता एवं कार्यकर्ताहरुले दिउँसो एकदेखि दुई बजेसम्म चक्काजाम गरेर मोटरसाइकल तथा ठुला सवारीसाधानलाई गुड्न नदिएर जनतालाई दुःख दिएको भन्दै आलोचना भइरहेको थियो । जनताबाट अलोचना हुन थालेपछि कांग्रेस पछि हटेको हो । कांग्रेस सुनसरी १ नम्बर क्षेत्रीय समितिका सचिव सुजेन्द्र तामाङले रिहाईको लागि नेताहरुबाट सकरात्मक पहल भइरहेको खबर आएकोले तत्कालको लागि बन्द कार्यक्रम रोकिएको बताए । ‘नेताहरुले रिहाईको लागि सकरात्मक पहल भइरहेको छ, तत्काल बन्द नगरौं भन्ने कुरा आयो, त्यसैले बन्द कार्यक्रम रोकेका हौं’–तामाङले भने । 
तरुण दलका सुनसरी कार्यबाहक सभापति गुरुङ अन्य चार जना सहयोगीसहित गत असार २१ गते धनकुटाको भेडेटारबाट पक्राउ परेका थिए । मादक पदार्थ सेवन गरेका उनले चेकिङको क्रममा प्रहरीमाथि नै हातपात गरेको आरोप छ । उनीहरुलाई तत्काल धनकुटा सदरमुकाम पठाइएर सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा चलाइएको छ । उनको रिहाईको माग गर्दै नेपाली कांग्रेसको सुनसरी जिल्ला समितिले शनिबारदेखि जिल्लामा चक्का जाम गर्ने निर्णय गरेको थियो । गत मंसिर ४ गते सम्पन्न संविधानसभाको दोस्रो चुनावअघि नेपाली कांग्रेसले आम जनतामाझ बन्द,हडताललाई बन्द गर्ने नीति अबलम्बन गर्ने भनेर आफ्नो घोषणापत्रमार्फत प्रतिवद्धता गरेको थियो । घोषणापत्रमा कुनै पनि अवस्थामा नेपाल बन्द वा कुनै स्थान बिशेष बन्द कार्यक्रम नगर्ने र प्रोत्साहन नगर्ने उल्लेख छ । तर, चुनावअघि जनतासामु पार्टीले गरेको घोषणा एवं प्रतिवद्धताविपरीत नेपाली कांग्रेस सुनसरीले चक्काजाम गरेपछि सर्वसाधारण जनतामा असन्तुष्टी बढ्दै गएको थियो ।
सुनसरीको हाँसपोशा गाविस घर भएका गुरुङले गुण्डागर्दी, ठेक्कापट्टाबाट सम्पत्ति जोड्दै राजनीतिमा छिरेका हुन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पनि प्रहरीमा उजुरी छ । केही महिनाअघि तरहरा बजारमा एक युवालाई दिउसै तरबारले काटेको अभियोग लागेपछि उनी फरार भएका थिए । गत चैत महिनामा उनी धरानमा तास–जुवा खेलिरहेको अवस्थामा पनि समातिएका थिए । उनी पार्टीको संरक्षण र आडमा कानुनी कारबाही हुनबाट भने जोगिर्दै आएका छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे