एन्फा अध्यक्ष थापालाई निलम्बन गर्न माग


धरान । अखिल नेपाल फुटबल संघ(एन्फा)का द्धितिय केन्द्रीय उपाध्यक्ष किसोर राई र सुनसरी एन्फाले अध्यक्ष गणेश थापालाई तत्काल निलम्बन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
अध्यक्ष थापाविरुद्ध संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायबाट अनुसन्धान शुरु भएको र उनी पदमा बसिरहदा आफुविरुद्धको प्रमाण नष्ट गर्नसक्ने भएकोले अध्यक्षबाट तत्काल निलम्बन गर्न माग गरेका हुन् । एन्फा उपाध्यक्ष राई र जिल्ला फुटबल संघले बिहिबार संयुक्तरुपमा धरानमा पत्रकार सम्मेलन गर्दै धरानस्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको नयाँ समिति अवैधानिकरुपमा गठन गरेकोले निर्णय वदर गराउन कानुनी उपचारको बाटो अवलम्बन गर्ने पनि घोषणा गरेको छ । उपाध्यक्ष राईका अनुसार सेन्टरसँगै अध्यक्ष थापाको विविध गैरकानुनी गतिविधि रोक्नको लागि उत्प्रेषणको आदेशका लागि सर्वोच्च अदालतमा रिट दायार गर्ने तयारी भइरहेको छ ।
‘अध्यक्ष थापा पदमा रहीरहदा विभिन्न हतकण्डाहरु अपनाई आफुविरुद्धको प्रमाण नष्ट गर्ने र भ्रष्टचारविरुद्ध आन्दोलनरत पक्षलाई विभिन्न षडयन्त्रमार्फत संघबाट हटाउने प्रयासहरु भइरहेको छ, त्यसैले अध्यक्ष थापालाई अध्यक्ष पदबाट तत्काल निलम्बन गर्न नेपाल सरकारको सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु’–उपाध्यक्ष राईले भने–‘भ्रष्टचारविरुद्धको हाम्रो आन्दोलन तुहाउनकै लागि केन्द्रीय समितिको वैठक नराखी म संयोजक रहेको समिति र जिल्ला फुटबल संघ सुनसरीलाई पनि जानकारी नगराई अध्यक्ष थापाले नयाँ समिति गठन गरेका छन्, यस्तो गैरकानुनी निर्णय वदर गराउन अदालत जाने तयारीमा छौं ।’
उपाध्यक्ष राईसहित केन्द्रका केही पदाधिकारीहरु अध्यक्ष थापाविरुद्ध उत्रिएपछि एन्फा सुनसरीले पनि उक्त आन्दोलनमा समर्थन जनाएको थियो । एन्फा सुनसरीले होम एण्ड अवे अवधारणाको राष्ट्रिय लिगमा तत्काल सहभागी नहुने निर्णयसमेत गरेको थियो । यही आन्दोलन तुहाउनकै लागि साविकको समिति र जिल्ला समितिलाई जानकारी नगराई दुई बर्षदेखि बन्द टेक्निकल सेन्टरको नयाँ समिति गठन गरिएको भन्दै उपाध्यक्ष राई र जिल्ला समितिले विरोध जनाइरहेको छ । एन्फा क्षेत्रीय समितिका अध्यक्ष सन्तोष बाँनियाको संयोजकत्वमा गठित नयाँ समितिलाई उनीहरुले बहिष्कार गर्ने र केन्द्रीय उपाध्यक्ष राई संयोजक रहेको समिति नै विद्यमान रहेको दाबी गर्दै आइरहेका छन् । नयाँ समितिले जिल्ला जिल्लाबाट छनौट गरेर उमेर समुहको एकेडेमी सञ्चालन गर्ने घोषणासमेत गरिसकेको छ ।
एन्फा जिल्ला उपाध्यक्ष नविन राईले एन्फा र नेपाली फुटबलको सुधार एवं विकासको लागि जारी आन्दोलनलाई तुहाउनकै लागि टेक्निकल सेन्टरमा फुटबलसँग असम्बन्धित व्यक्तिलाई समावेश गरेर नयाँ समिति बनाएको दाबी गरे । नयाँ समितिलाई स्वीकार नगर्ने भन्दै उनले शैक्षिक सत्र शुरु भइसकेकोले अहिले एडेमेमी सञ्चालन गर्ने योजना सफल नहुने पनि ठोकुवा गरे । किसोर राई संयोजक रहेको टेक्निकल सेन्टरका कोषाध्यक्ष दिपक राईले अध्यक्ष थापाले दुई बर्षअघि सेन्टर बन्द गर्ने निर्णय र अहिले सल्लाहविना हठात नयाँ समिति बनाएर शुरु गर्न खोज्नुको औचित्य पुष्टि गर्न नसकेको बताए । ‘विद्यामान समितिसँग सेन्टर सुचारु गर्न अध्यक्ष थापाले किन सल्लाह नगरेको ?’–उनले थपे ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे