भर्खर बनिसकेको सेमी कवर्ड हल भत्किन थाल्यो

धरान । करिब एक करोड लागतमा निर्माण भएको धरान रंगशालास्थित क्षेत्रीयस्तरको सेमी कवर्ड निर्माण र अनुगमनमा चरम लापरवाही भएको भेटिएको छ । गएको आर्थिक बर्षमा राष्ट्रिय खेलकुद परिषदले केन्द्रबाटै निर्माण गरेको कवर्ड हलको भुईको प्लष्टर उप्कन र भत्कन थालिसकेको छ । बटेज सक्ने नियतले मात्रै ठेकेदारले काम गरेको र अनुगमनको जिम्मेवारी बोकेको निकाय तथा प्राविधिककोसमेत मिलेमतो भएको यहाँका खेलकुदकर्मी तथा नागरिक समाजले आशंका गरेका छन् । यो कवर्ड हल खुला हो, त्यसैले बर्षतमा बछिटा भित्र छिर्छ । तर, प्राविधिक एवं निर्माणको क्रममा लापरवाही हुदा पानी निकास हुने ठाउँ नभएर आहाल बन्ने गरेको छ । निर्माण सम्पन्न भइसकेको भनिएको कवर्ड हलको भुई भत्कन थालेपछि दुई दिनयता पुनः मर्मतको काम थालिएको छ । करिब ६ महिनाअघि नै निर्माण सम्पन्न भएर पनि यो कवर्ड हलसम्म सञ्चालनमा आउन सकेको छैन । यो कवर्ड हल धरानका निर्माण व्यावसायी तथा ठेकेदार तिलबिक्रम लिम्बूले बनाएका हुन् ।
सेमी कवर्ड हलको भत्कन थालेपछि भुईको प्लष्टर
परिषदले आफ्नो तल्लो निकाय जिल्ला खेलकुद विकास समितिलाईसमेत बोधार्थ एवं जानकारी नदिई यो कवर्ड हल निर्माण गरेको हो । समितिको कार्यालय धरानमै रहे पनि यो कवर्ड हल के कति लागतमा बनेको भनेर यहाँको समिति अनभिज्ञ छ । निर्माण सम्पन्न भइसकेको भनिए पनि यो कवर्ड हलबारेमा केन्द्रबाट कुनै पनि निर्देशन एवं पत्र नआएकोले जिल्ला समितिले के गर्ने भनेर अन्यौलमा छ । यहाँका खेलाडीहरु पनि त्यही अन्यौलताले गर्दा अभ्यासमा गएका छैनन् । ‘यो कवर्ड हल केन्द्रले नै बनाएको हो, अनुगमनमा पनि प्राविधिक आइरहन्थे, तर सबै कागजीरुपमा मात्रै भएको हो’–जिल्ला खेलकुद विकास समितिका एक कर्मचारीले भने–‘साँच्चैको अनुगमन भइदिएको भए यस्तो गुणस्तरहिन, कमसल संरचना कसरी बन्यो ?’
सेमी कवर्ड हलको भत्कन थालेपछि भुईको प्लष्टर निरीक्षण गर्दै नागरिक सरोकार तथा अनुगमन मञ्चका संयोजक तिलक राई ।
यो खुल्ला कवर्ड आर्थिक बर्ष ०७०/०७१ मा ९६ लाखमा निर्माण भएको परिषदले जनाएको छ । यहाँ कराते, तेक्वान्दो, जुडो, ब्याडमिन्टनलगायत खेलको अभ्यास गर्न सकिने लक्ष्य लिइएको हो । हल पूर्वाञ्चलमा निर्माणाधिन खेलकुद संरचनाको अनुगमन गर्न आएको खेलकुद मन्त्रालयका उपसचिव केशवराज त्रिपाठी र शाखा अधिकृत गोविन्दप्रसाद पराजुलीले सोमबार स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उपसचिव त्रिपाठीले भने–‘गुणस्तरीय बनाउछु भनेर सुनिश्चित गरिसकेपछि बनाउनै पर्छ, तर यहाँ लापरवाही भएको देखियो ।’
निकास हुने ठाउँ नभएपछि सेमी कवर्ड हलमा जमेको पानी ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लवभक्त श्रेष्ठले परिषदले केन्द्रबाटै बनाएकोले आफुलाई कवर्ड हलको अवस्थाबारे धेरै जानकारी नभएको बताए । उनले पनि प्लष्टर ठिक नभएको भनाई थियो । स्थलगत निरीक्षण नागरिक सरोकार तथा अनुगमन मञ्चका संयोजक तिलक राईले कवर्ड हल निर्माणमा लापरवाही भएको दाबी गर्दै परिषदले स्थानीय निकाय र सरोकारवालासँग समन्वय नगर्दाको परिणाम भएको बताए । ‘राज्यले यत्रो लगानी गरेपछि अनुगमन गर्ने निकाय थियो होला, त्यसले किन हेरेन ?’–संयोजक राईले भने–‘परिषदले यहाँ के के बन्दैछ भनेर स्थानीय निकाय र सरोकारवालासँग समन्वय नगर्दा यस्तो भएको हो, एउटाले काम गरेपनि यहाँको निकायलाई अनुगमनको जिम्मा दिनुपथ्र्यो ।’


सेमी कवर्ड हलको अनुगमन गर्दै खेलकुद मन्त्रालयबाट आएको टोली तथा प्राविधिक ।

सेमी कवर्ड हलको भुईको भत्कन थालेपछि पुनमर्मतको काम हुदै ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे