वडाबासीद्धारा जनसरोकार मञ्चको कार्यालयमा तालाबन्दी

घरजग्गा रोक्का खुलाउन तत्काल पहलको माग गर्दै नगरपालिकामा धर्ना दिदै वडाबासी महिलाहरु ।
धरान । अन्तरिम आदेश जारी भएको मुद्दाको पेशी एकपक्षीयरुपमा सारेर दुःख दिएको भन्दै धरान वडा नम्बर १३ का बासिन्दारुले जनसरोकार मञ्च नामक संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् । सर्दु जलाधार क्षेत्रको वन जंगल फडानी र कित्ताकाटमा रोक लगाउने पुनरावेदन अदालत विराटनगरको अन्तरिम आदेशले धरान १३ को घरजग्गा पनि रोक्का भएको थियो । सोही मुद्दाको पेशी सोमबार भएकोले सयौंको संख्यामा वडाबासीहरु पुनरावेदन अदालत विराटनगर पुगेका थिए । तर, मुद्दाको निवेदक पक्षले पेशी सारेर मुद्दा लम्ब्याएर जनतालाई दुःख दिएको भन्दै आक्रोशित वडाबासीहरुले धरान फर्किएपछि छाताचोकस्थित मञ्चको कार्यालयमा तालाबन्दी गरेको हो । आक्रोशित वडाबासीहरुले मञ्चको कार्यालयको बोर्ड पनि च्यातिदिएका छन् । तालाबन्दी पछि वडाबासीहरुले जनताको समस्या तत्काल समाधान गर्न माग गर्दै नगरपालिकामा नाराबाजी र धर्ना पनि दिएका थिए ।

‘अनाहकमा घरजग्गा रोक्का भएर दुःख पाएका छौंं, आज पेशी भएकोले अदालत गयौं, तर मञ्चका व्यक्तिहरुले एक पक्षीयरुपमा पेशी सार्न लगाएर हामीलाई झनै दुःख दिएकोले सहने सिमा नै रहेन’–वडा १३ का बासिन्दा एवं बाँझगरा ९ ‘क’ सचेतना समितिका संयोजक चन्द्रमणि मगरले भने–‘दुःख पाएकोले वडाबासीले कार्यालयको बोर्ड च्यातेका हुन्, जनतालाई नै दुःख दिने संस्था चाहिन्दैन भनेर ताला पनि लगाएको हो ।’ दुई दिनअघि भएको जनतालाई राहत दिने गरी घरजग्गा फुक्का गराउनको लागि मञ्चले पहल गर्ने सहमति विपरीत पेशी सारेर दुःख दिएकोले मञ्चविरुद्ध संघर्ष नै गर्नुपरेको बताए । 
तालाबन्दी पछि वडाबासीहरुले नगरपालिकामा धर्ना दिए पनि कार्यकारी अधिकृतले अदालतमा पुगेको मुद्दाको समाधान यहाँबाट हुन नसक्ने भनेपछि वडाबासीहरुले इलाका प्रशासन कार्यालयमा वार्ताको लागि मध्यस्थता गरिदिन आग्रह गर्दै निवेदन पेश गरे । वडाबासीहरुले मञ्चको कार्यालयमा लगाएको ताला इलाका प्रहरी कार्यालयमा बुझाइदिएका छन् । जनसरोकार मञ्च स्थापनाकालदेखि नै धरानमा विवादित छ । यसअघि, एकीकृत सम्पत्ति कर वृद्धिको विरोध र एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा शुरु खानेपानी आयोजनाको विरोध गरेपछि यसको चर्को आलोचना भएको थियो ।

जनसरोकार मञ्चका संयोजक कृष्णनारायण पलिखेले भने अदालतमा गाडीमा मान्छेहरु गएको र मुठभेड हुनसक्ने भएकोले आफुहरु नगइ पेशी सार्न लगाएको बताए । ‘उहाँहरु गाडीका गाडी गए, मुठभेड होला जस्तो लागेर हामी गएनौं र पेशी पनि सार्न लगायौं’–उनले भने । वडाबासीलाई दुःःख दिन नचाहेको जिकिर गर्दै उनले जलाधार क्षेत्र बचाउने उद्देश्यले मात्रै रिट हालेको दाबी गरे । आफुहरुले शान्तिसुरक्षाको माग गर्दै निवेदन दिइसकेकोले कार्यालय र मञ्चका प्रतिनिधिको सुरक्षाको जिम्मा प्रहरीको भएको उनले बताए ।
जलाधार क्षेत्रको सिमांकन नगरी एवं कित्ता नम्बर पहिचान नगरीकनै मञ्चका प्रतिनिधि ज्ञानबहादुर राईले जेठ पहिलो साता सर्दु जलाधार क्षेत्रमा पनि पर्ने पाँचकन्या गाविस ९ र साविक घोपा गाविस हाल विष्णुपादुका ७ स्थित जग्गामा वन जंगल फडानी गर्न र कित्ताकाटमा रोक लगाउन माग गर्दै पुनरावेदन अदालतमा रिट हालेका थिए । सो निवेदनमा सुनुवाई गर्दै पुनरावेदनले जेठ १ गते र जेठ ६ गते अन्तरिम आदेशमार्फत रोक लगाएको थियो भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिएको पत्र जेठ २७ गते पुनरावेदनले विपक्षीलाई पठाएको छ । पुनरावेदनले रोक लगाएको पाँचकन्या गाविस ९ लाई स्रेस्तामा हाल सुनसरी बाँझगरा ९क भनेर उल्लेख गरिन्छ । जहाँ धरानको वडा नम्बर १३ को ठुलो भुभाग पनि पर्छ । अन्तरिम आदेशले धरान १३ जिरोप्वाइन्ट उत्तर क्षेत्रको अमर हाट, शिवधारा, स्वास्तिक मार्ग, वेल्फेयर, फुस्रेलगायत क्षेत्रको घरजग्गा रोक्का भएको छ । यी सबै क्षेत्र हाल स्रेस्तामा बाँझगरा ९ ‘क’मा पर्छ, जुन निवेदकले रिट हाल्दा दाबी गरेको पाँचकन्या गाविस ९ हो । यो क्षेत्रमा एक हजार भन्दा बढी घरधुरीको रोक्का भएको स्थानीयको दाबी छ । 
धरानको खानेपानीको प्रमुख स्रोत रहेको सर्दु जलाधार क्षेत्र चार दशकअघि घोषणा गरिएको थियो । त्यहाँका बासिन्दालाई सट्टाभर्ना दिइसकेता पनि सरकारी निकायले सिमांकन र लागतक्टटा नगर्दा पुरानै बासिन्दाको आडमा जग्गा व्यापारीहरु सक्रिय भएका थिए । शुरुदेखि नै विवादित यो जलाधार क्षेत्रको स्वामित्वबारे नगरपालिका, मालपोत, जिविस र जग्गाधनीबीच पटक पटक मुद्दा परेको थियो । पछि, सर्वोच्च अदालतले जग्गाधनीको पक्षमा फैसला गरेपछि पुनरावलोकन गर्न माग गरेपनि सर्वोच्चले अस्वीकार गरेको थियो । मुद्दामा सर्वोच्च अदालतबाट जग्गाधानीहरुको पक्षमा फैसला भइसकेकोले विवाद टुंगिएको थियो । तर, पुनः जनसरोकार मञ्चले पुनरावेदन अदालतमा रिट हालेपछि विवाद बल्झिएर वडाबासीहरुसम्मै आइपुगेको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे