‘आर्थिक अनुशासन र पारदर्शिता हुन्छ’

असार १४ गतेको दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट धरान उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट तारा सुब्बा निर्वाचित भएका छन् । मेयर सुब्बा र उपमेयर मञ्जु भण्डारी सुवेदीले आज(सोमबार) पदभार ग्रहण गर्दैछन् । मेयर सुब्बासँग पुर्वको सुन्दर शहर धरानको विकास निर्माण र भावी योजनाबारे रोहित राईले गरेको कुराकानी प्रस्तुत गरिएको छः


प्रश्न: धरान उपमहानगरको मेयर बन्नुभएको छ, कस्तो अनूभव भइरहेको छ ?
उत्तर:- मलाई खुशीको अनुभूति भइरहेको छ । बीस बर्षपछि जनप्रतिनिधि हुने मौका पाएका छौं, जनताले पनि आफ्नो प्रतिनिधि पाएका छन् । त्यसैले खुशीसँगै जिम्मेवारी बढेको अनुभव भइरहेको छ । जिम्मेवारी पुरा गर्ने चुनातीहरु पनि छ, त्यसलाई कसरी पार गर्ने भन्ने पनि छ ।
प्रश्न: तपाईले के कस्ता चुनौतीहरु देख्नु भएको छ ?
उत्तर:- चुनाव नभएर स्थानीय निकाय(तह) जनप्रतिनिधिविहिन भएको २ दशकजति भइसक्यो । यो समय स्थानीय संरचना एकलरुपमा कर्मचारीहरुले चलाउदै आए । कर्मचारीहरुले कर्मचारीको जिम्मेवारीसँगै जनप्रतिनिधिको भुमिका पनि निभाए । यसले गर्दा कर्मचारीहरुमा जनप्रतिनिधि वा नेता जस्तै आनीबानी बसेको छ, त्यसको सही व्यवस्थापन गर्नु पहिलो चुनौती देख्छु । दोस्रोमा ऐन कानुनको परिधिभित्र रहेर काम गर्नुपर्ने चुनौती छन् । स्थानीय तहलाई धेरै अधिकार छ, आफै कानुन बनाउनु पर्ने पनि छ । यस्तो संरचनाको पहिलो अनुभव पनि भएकोले कानुनी पक्षलाई ख्याल गर्दै व्यवस्थापन गर्नु पनि मैले चुनौती देखेको छु ।
प्रश्न: सपथ ग्रहण गर्नुभएको ३ दिन भइसक्यो, पदभार लिन चै किन ढिला गर्नुभएको ?
उत्तर:- तत्काल नभ्याएर नै हो । अमुल्य मत दिएर जिताउनु हुने जनताको बीचमा धन्यवाद दिन पुगिरहेको छुँ, जनताले पनि बधाई दिन, खुशी बाँड्न घरघरमा बोलाईरहनु भएकोले अहिले पनि घरदैलोमा ब्यस्त छुँ तर सोमबार पदभार ग्रहण गर्दैछुँ ।
प्रश्न: धरानको विकास कसरी गर्ने सोच छ ? 
उत्तर:- चुनावअघि जनताको बीचमा धेरै कुराहरु सार्वजनिक गरेका छौं, ती सबै एकैपटक गर्न त सकिन्न तर मुख्य मुख्य कामहरु सम्पन्न गछौं । सुकुम्बासी समस्या समाधानको प्रक्रिया पदभार लिएकै दिन(असार २)मा बोर्डबाट निर्णय गरेर शुरु गछौं । यस्तै धरानलाई पर्यटनको केन्द्र बनाउने, शैक्षिक, स्वास्थ्य केन्द्र र साँस्कृतिक शहर बनाउछौं । त्यसको लागि सोमबार नै निर्णय गछौं । भानुचोकको अव्यवस्थित बसपार्कको विकल्प तीनकुने सुन्दर बस्ती विकास कार्यक्रमलाई निर्णय गरेर पुरा गछौं । पहिलो बैठकबाटै खानेपानी आयोजना पुरा गर्ने निर्णय हुन्छ । बहुजातीय संग्रहालय पुरा गर्ने, अव्यवस्थित सभागृह(सिटि हल)लाई यही आर्थिक बर्षबाट काम शुरु गरेर व्यवस्थित गछौं ।

प्रश्न: सुकुम्बासी समाधान गर्छु त भन्नुभयो, तर सहज समाधन होला ?सुकुम्बासीले त धनीपुर्जाको माग गरेका छन् नि ?
उत्तर:- चुनावको बेला हामीलाई जिताउनुस्, तपाईहरुको समस्या समाधानको प्रक्रिया थाल्छौं भन्यौ । हामीलाई विश्वास गरेर जिताउनुभयो, अब काम गछौं । धरानमा ३ प्रकारका अव्यवस्थित बसोबास गर्ने सुकुम्बासी छन् । पहिलो ऐलनी पर्ती जमिनमा बस्ने, दोस्रो खोला खोल्सीजस्तो जोखिमपुर्ण ठाउँमा बस्ने । तेस्रोमा निजी जमिन र कोशी प्रोजेक्टको जग्गामा बस्ने सुकुम्बासी छन् । हामी ती कुरालाई क्याटोगराइज(वर्गीकरण) गछांै । ऐलनी पर्तीमा बसेकालाई क्रमिकरुपमा धनीपुर्जा दिन प्रक्रिया बढाउछौं । जोखिमपुर्ण ठाउँमा बसेकाहरुलाई उठिबास लगाउने होइन, व्यवस्थित र सुरक्षित बसोबासको प्रबन्ध गराउछौं । कोशी प्रोजेक्टको जग्गामा भएकाहरुलाई चै तत्काल धनीपुर्जा दिन सम्भव देख्दिन । त्यो जग्गा भारत सरकारलाई दिइएकोले नेपाललाई हस्तान्तरण नभएसम्म केही गर्न सकिदैन । तर,स्थानीय तहबाट पाउने सेवा सुविधा र आवश्यकताहरु पुरा गछौं ।
प्रश्न: तपाईले प्राथमिकतामा राख्नुभएको खानेपानी आयोजनाले किरात दरबारको रुख काटेको भनेर टंकी निर्माणको काम रोकिएको छ, चार किरात संस्थाले ठाउँको विकल्प खोज्नु पर्छ भनिरहेको छ, समाधान कसरी होला ?
उत्तर:- हो, विजयपुरमा आयोजनाको टंकी बनाउने काम रोकिएको छ । त्यसलाई समाधान गर्न सरोकारवाला पक्षहरुसँग छलफल गछौं । खासगरी चार किरातजन्य संस्थाहरुसँग बसेर कुरा गर्छु । उहाँहरुको के निर्णय हुन्छ, त्यसको आधारमा अघि बढ्छु । खानेपानी जस्तो संवेदनशील बिषयमा पक्कै पनि चार किरात संस्था सकरात्मक हुन्छ भन्ने आशा छ । छलफलबाट आवश्यकताले के भन्छ ? वस्तुगतरुपमा हेरेर व्यवस्थापन गछांै ।
प्रश्न: बसपार्कको योजनामा पनि त समस्या छ, केही दाता जग्गाधनीहरुले अन्याय भयो भनेर काम अघि बढाउनै दिएको छैन नि ?
उत्तर:- बसपार्कसहितको योजनामा कुनै समस्या छैन । स्थानीयले जग्गा दिएकै हो । कति जग्गाधनीले धनीपुर्जा लिइसकेका छन्, केहीको मात्र बाँकी होला । जग्गाधनी, स्थानीयबासीहरुमा चाडो बसपार्क बनिदिए हुन्थ्यो भन्ने छ । सुन्दर बस्ती विकास कार्यक्रमको मुल उद्देश्य पनि बसपार्क निर्माण गर्नुनै हो, त्यसैले अब त्यहाँको कामले गति लिन्छ । तपाईले भनेजस्तै केही जग्गाधनीको गुनासो छ भन्ने सुनेको छुँ । कस्तो गुनासो हो ? म डिटेलमा हेर्छु, बुझ्छँु । अन्याय परेको छ भने व्यवस्थापन पनि गर्नुपर्छ ।
प्रश्न: चुनावी एजेण्डा बनेको प्रस्तावित एयरपोर्टको लागि त ९३ बिघा जमिन आवश्यक भएको सम्भाव्यता अध्ययनको रिपोर्ट आएको छ, के यो सम्भव छ ?
उत्तर:- त्यत्रो जमिन उपलब्ध गराउन त निक्कै कठिन छ । तेह्र बिघा जमिन उपलब्ध गराउन त गाह्रो थियो भने त्यत्रो जमिन धरान उपमहानगरले सक्दैसक्दैन । यो प्रोजक्टलाई राष्ट्रिय योजनामा पि वान(पहिलो प्राथमिकता) पार्न सक्यौं भने मात्र सम्भव होला । नत्र स्थानीय तहको स्रोत साधनबाट उपलब्ध गराउन त सक्दैनौं । त्यसैले, राष्ट्रिय योजनामा पार्नको लागि समन्वय गरेर प्रक्रिया अघि बढाउने काम गछौं । जनताको चाहना एयरपोर्ट चाहिन्छ भन्ने छ, मेरो चाहना पनि त्यही हो । यसलाई सरकारको प्रोजेक्ट बनाउनुपर्छ । अर्को कुरा, ठुलो बनाउने कि सानो भन्ने बहस पनि छ । पहिला अलि सानो एयरपोर्टको सर्वे भएको थियो, त्यसमा अघि बढ्दा चै हामीबाट सम्भव देख्छु ।
 प्रश्न: धरान उपमहानगरपालिका र कर्मचारीप्रति जनताको अविश्वास बढेको हो कि भन्ने देखिन्छ, अब कसरी सुमधुर बनाउनुहुन्छ ?
उत्तर:- जनप्रतिनिधि आएपछि स्वभाविकरुपमा परिवर्तन हुन्छ नै । कर्मचारीले तोकिएको काम र जिम्मेवारीलाई उत्तरदायी भएर पुरा गर्नुपर्छ । कर्मचारी स्थायी सरकार भएकोले ठुलो जिम्मेवारी छ । हामी सफल वा असफल हुनुमा पनि । निष्ठापुर्वक काम गर्ने र सोच वदलेमा सबै ठिक हुन्छ ।

प्रश्न: अहिले पनि विकासनिर्माणमा कमिशन, भ्रष्टचार छ भन्ने जनगुनासो छ, चुनावमा उम्मेदवारहरुको लाखौं खर्च भएकोले भ्रष्टचार झनै बढ्छ भन्ने जनतामा परेको छ नि ?
उत्तर:- अब विकास निर्माणको काममा स्वाभाविकरुपमा नियन्त्रण, निगारानी हुन्छ, र गतल गर्नेलाई कारबाही पनि हुन्छ । चुनावको सन्दर्भमा खर्च हुदो रहेछ । पटक पटक चुनाव सरेकोले पनि खर्च बढ्यो । तर, अब सत्ता सम्हालेपछि यहीबाट असुल गर्छु भन्ने सोच कसैले पनि नराखे हुन्छ । जनप्रतिनिधि, कर्मचारी सबैले आर्थिक पारदर्शिता, आर्थिक अनुशासनमा बसेर काम गर्नुपर्छ, र हामी त्यसरी नै काम गछौं ।
प्रश्न: धरानको आन्तरिक आय न्युन छ, स्रोत कसरी बढाउनुहुन्छ ?
उत्तर:- यो गम्भीर बिषय हो । जनताबाट कर लिने हो तर त्यसलाई वैज्ञानिकढंगले लिनुपर्छ । हुन त अब स्रोत बढ्छ पनि । उद्योगी व्यावसायी, आर्थिक विज्ञ, समाजका अगूवाहरुसँग सल्लाह लिएर स्रोत बढाउने उपाय खोज्छु । मेरो विचारमा करको वृद्धि होइन, दायरा बढाएर छुटेका व्यापारी, व्यावसायीहरुलाई पनि कर तिर्ने वातावरण बनाउन सके आयस्रोत बढ्छ । राजश्व उठाउन छुटेको क्षेत्रहरुलाई समेट्नुपर्छ ।
प्रश्न: तपाईको कार्यकालमा धरानको पहिचान के बन्छ ?
उत्तर:- धरानलाई हामीले साँस्कृतिक शहर भनिरहेका छौं, त्यो झल्कने, अनुभूति दिलाउने गरी संरचनाहरु बनाउछौं । दोस्रो धरान खेलकुदको केन्द्र हो । यसको विकास गर्न विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोडदिन्छौं । विद्यालयहरुसँग समन्वय गरेर आवश्यक प्रशिक्षकको व्यवस्था गछौं । अन्तरविद्यालय र वार्डस्तरीय विभिन्न प्रतियोगिताहरु गराउछौं । क्लबहरुको गतिविधिलाई प्रर्वद्धन गछौं । तेस्रो पहिचान भनेको धरान पर्यटकीय हब बनाउछौं । पर्यटन विकासको गुरुयोजना बनाएर कार्यान्वयन पनि गछौं ।
प्रश्न: भनेपछि तपाईको कार्यकालमा धरान विकास र समृद्धिको बाटोमा हिड्छ त ?
उत्तरः:- मेरो कार्यकाल स्वर्णिम हुनेछ । मैले घोषणा गरेको धेरै योजना ५ बर्षभित्र सम्पन्न गछौं, यसको शुरुवात पदभार लिनेवित्तिकैदेखि हुन्छ र केही समयपछि नै प्रतिफल देखिन्छ । धरानलाई समृद्ध नगरकोरुपमा स्थापित गर्ने मुख्य आधार भनेको पर्यटन र शैक्षिक केन्द्रकोरुपमा विकास गर्दा नै हुन्छ । यहाँ शिक्षाको पुर्वाधार छ, अब गुणस्तर वृद्धिमा जोडिदिन्छौं । जसले गर्दा विद्यार्थीहरु अन्यत्र पढ्न जान नपरोस् । गुरुयोजना बनाएर पर्यटन विकासमा लाग्छौं र आन्तरिक, बाह्य पर्यटक भित्राएर धरानलाई आर्थिक समृद्धिको बाटोमा हिडाउछौं ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे