धरान ९ र १० मा पुनःमतगणना गर्ने आयोगको निर्णय

धरान,असार २४ । विवादको कारण नतिजा घोषणा स्थगित गरिएको धरान उपमहानगरपालिका वडा ९ र १० को पुनःमतगणना गर्ने निर्णय निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । निर्वाचन अधिकृत कमलबहादुर थापाले स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा १३८ वमोजिम वडा ९ र १० को दोहोर्याई मत गणना गरी नतिजा प्रकाशन गर्ने निर्णय गरेको जनाएका छन् ।
गत सोमबार राती नतिजा प्रकाशन गर्नुअघि विवाद भएपछि कांग्रेसका मेयर उम्मेदवार तिलक राईले वडा ९ को र वडाअध्यक्षका उम्मेदवार डम्बरसिंह लिम्बूले वडा १० को पुनःमतगणना गर्न माग गर्दै निवेदन दिएका थिए । निवेदन आएपछि निर्वाचन अधिकृतले निर्वाचन आयोगमा राय मागेको थियो । आयोगले शनिबार एक पत्र पठाएर निर्वाचन अधिकृतले निर्णय लिने भनि निर्देशन दिएपछि थापाले दोहोर्याएर मतगणना गर्ने निर्णय लिएको जनाएका छन् ।
यसअघि जयप्रसाद महत निर्वाचन अधिकृत भएको बेला नतिजा प्रकाशन गर्नुपुर्व वडा ९ र १० को विवाद भएको थियो । गणक कर्मचारीहरुले गणना भएको मतलाई अनुसुची २ को फारममा इन्ट्री गर्दा मसाल चुनाव चिह्नको अर्को चिह्नमा भरिदिएको सार्वजनिक भएपछि विवाद शुरु भएको थियो । सोही विवाद चर्किदै गएपछि अधिकृत महत, सहायक अधिकृत गणेशप्रसाद खतिवडासहित तत्कालीन गणकहरुलाई हटाएर मतगणना कार्य सुचारु गरिएको थियो । यसअघि गणना सकिदासम्म वडा ९ मा एक सदस्यबाहेक सबै पदमा एमालेको जित भएको थियो भने वडा १० मा प्यानलै एमालेको विजयी भएको थियो । नतिजा घोषणा पुर्व नै दुवै वडाका उम्मेदवार र एमाले कार्यकर्ताहरुले विजय जुलुस गरिसकेका थिए ।
निर्वाचन अधिकृतको निर्णयलाई कांग्रेस, माओवादी केन्द्रलगायत दलले स्वागत गरेपनि अर्को प्रमुख दल एमाले भने असन्तुष्ट बनेको छ । गणनामा कुनै समस्या नभएको र अनुसुची २ को फारममा इन्ट्री गर्ने क्रममा मात्र मत अन्तर भएकोले त्यसलाई सच्याएर नतिजा घोषणा गर्नुपर्ने एमालेको अडान थियो । असन्तुष्ट भएपछि एमालेले शनिबार साँझ निर्वाचन कार्यालयसँग वार्ता गरी वडा ९ र १० को पुनःमतगणनासँगै बाँकी रहेको वडा १८, १९ र २० को पनि एकैपटक गणना शुरु गर्ने सहमति गरेपछि विवाद अन्त्य भएको थियो ।
कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले आयोगको निर्णयले जनमतको कदर भएको प्रतिक्रिया दिदै जनताको अभिमत जस्ताको तस्तै सही तथ्यांकमा सार्वजनिक हुने बताए । ‘गणक कर्मचारीहरु पनि योग्य र अनुभवी आएका छन्, दलका प्रतिनिधिहरु पनि सचेत भएर जनताको अभिमत जस्ताको तस्तैरुपमा सार्वजनिक हुनेछ भन्ने आशा गरेका छौं,’ उनले भने । निर्वाचन अधिकृतको निर्णय लगत्तै वडा ९ र १० को पुनःमतगणा र वडा १८ को गणना शुरु गर्न दलका प्रतिनिधिहरु माग गरेपनि यो समाचार तयार गर्दासम्म गणना कार्य सुरु भएको छैन । आयोगको निर्णयप्रति असन्तुष्ट एमालेको आकस्मिक बैठक भएको र प्रतिनिधि नपठाए पछि ती वडाको गणना कार्य शुरु हुन सकेको थिएन । यद्यपी, वडा ११, १५, १६ र १७ को गणना भने जारी छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे