विपन्न पढ्ने स्कुललाई कम्प्युटर र प्रिन्टर सहयोग

धरान,असार २६ । पिछडिएको सुकुम्बासी एवं विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने धरान १७, उदयटोलस्थित सम्यक शिक्षा आधारभुत विद्यालय प्रअ सरोज श्रेष्ठको सपना थियो, मिदास एप शिक्षण विधिबाट पठाउने । त्यसको लागि विद्यालयलाई सहयोग गर्ने आश्वासन नपाएको पनि होइन,त र सपना साकार भने हुन सकेको थिएन ।
बर्षे विदाको कारण विद्यालय बन्द भएपनि सोमबार बिहान भने विद्यार्थी, अभिभावकको साथमा उनी निक्कै प्रफुल्लित मुद्रामा भेटिए । यसको कारण थियो, साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा कार्यरत डा.आनन्द राईमार्फत जर्मनीबाट ६ वटा कम्प्युटर र एउटा प्रिन्टर(फोर इन वा) प्राप्त भएको थियो । ‘म आज अत्यन्तै धेरै खुशी छुँ, विद्यार्थीहरुलाई मिदास एपबाट पढाउने सपना थियो । अब पुरा हुने भयो,’ कम्प्युटर र प्रिन्टर पाएपछि प्रअ श्रेष्ठले भने, ‘यहाँ विपन्न, गरिब र पिछडिएको बालबालिकाहरु पढ्छन्, अब उनीहरुले पनि गुणस्तरीय शिक्षा पाउन सक्ने भए ।’
धरान ११ घर भएका डा. राईमार्फत प्राप्त सहयोग जर्मनीस्थित चर्चित बिकेबि हस्पिटलअन्र्तगतको बिकेबि च्यारिटीबाट आएको हो । सय बर्ष पुरानो यो अस्पताल जर्मनीको सबैभन्दा ठुलो बाल अस्पताल र अत्याधुनिक सुविधा सम्पन्न अस्पताल हो । त्यही अस्पतालले चलाएको गैरनाफामुखी बिकेबि च्यारिटीले नेपालजस्तो विपन्न मुलुकका पिछडिएको बालबालिकाहरुलाई आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । खानीमा काम गर्ने मजदुरहरुको युनियनले स्थापना गरेको अस्पताल भएकोले पनि विपन्न, पिछडिएको वर्गलाई प्राथमिकतामा राखेर च्यारिटीले सहयोग गर्ने गर्छ । ‘यहाँका बालबालिकाहरुले धेरै फाइदा लिन सकोस्, अझै धेरै लाभान्वित होस्, म अझै सहयोग गर्ने पहल गर्छु,’ विद्यालय र विद्यार्थीहरुको अवस्था बुझिसकेपछि डा.राईले भने ।
च्यारिटीका नेपाल सदस्यसमेत रहेका डा. राईका अनुसार ओपेरा गायकगायिका, डाक्टर, उद्योगीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरु च्यारिटीमा सदस्य छन् । तिनै सदस्यहरुको सहयोगमा च्यारिटीले विभिन्न मुलुकका विपन्न समुदायका विद्यार्थीहरुलाई सहयोग गरिरहेको छ । सोमबार सम्यक शिक्षा विद्यालयलाई २ लाख ६७ हजार बराबरको सहयोग गरिएको सहयोगी मनोज राईले जानकारी दिए । उनका अनुसार ६ वटा कम्प्युटर सेट र फ्याक्स, फोटोकपी, स्क्यानिङ र प्रिन्टर भएको फोर इन वान प्रिन्टर सहयोग गरिएको हो । च्यारिटी सदस्य डा. राईले ती सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ र प्रअ श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । यो विद्यालय सम्यक शिक्षा समुहको पहलमा २०५५ सालमा स्थापना भएको थियो । यहाँ अध्ययन गर्ने विद्यार्थीहरु विपन्न र गरिब परिवारका छन् । हाल यहाँ १ सय २५ बालबालिकाहरु अध्ययनरत छन् । यहाँ बालविकास केन्द्रदेखि कक्षा ७ सम्म पढाई हुन्छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे