धरानलाई भरतपुर बनाउने षडयन्त्र:एमाले

धरान,असारा २० । नेकपा एमालेले मतगणना भइसकेको धरान उपमहानगरपष्लिक वार्ड नं ९ र १० को मतपरिणाम अबिलम्ब सार्वजनिक गर्न र अन्य वार्डको मतगणनालाई सुचारु गर्न माग गरेको छ । माओवादी केन्द्र र संघीय समाजवादी फोरमको विरोधले मतगणना कार्य स्थगित भएपछि एमालेले मंगलबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले धरानलाई अर्को भरतपुर बनाउन खोजेको आरोप पनि लगाएको छ ।
माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालको विरोध पछि धरानमा सोमबार मध्यरातीदेखि मतगणना कार्य स्थगित छ । मंगलबार दिनभर गणना कार्य सुचारु गराउन पहल भएपनि दलहरुबीच सहमति जुट्न सकेको छैन । एमालेका जिल्ला नेता एवं गणनास्थलमा प्रतिनिधि समन्वय गरिरहेका मुरारी सुवेदीले वडा नं ९ र १० को मतगणनामा कुनै समस्या नभएको जिकिर गर्दै वडा १० को दोस्रो अनुसुची फारम भर्ने क्रममा मात्र कर्मचारीबाट गल्ती भएकोले त्यसलाई पुर्नयोग गरेर नतिजा सार्वजनिक गर्न माग गरे । ‘गणनामा गल्ती छैन, मात्र दोस्रो फारममा इन्ट्री गर्नेक्रममा मानवीय हो वा प्राविधिक, सामान्य त्रुटी भएको देखिन्छ, त्यसलाई नयाँ इन्ट्री गरेर वा पुर्नयोग गरेर परिणाम सार्वजनिक गरिनुपर्छ,’ नेता सुवेदीले भने,‘अन्य पार्टीहरु यो वा त्यो वहानामा धरानलाई अर्को भरतपुर बनाउने षडयन्त्र भइरहेको छ । बिशेष गरी माओवादी पार्टी निर्वाचनको अहिलेसम्मको प्रक्रिया रोक्ने र सबै असफल बनाउन खोजिरहेको छ, एमालेलाई यो कुरा मान्य छैन ।’
नेता सुवेदीले छानबिन समिति बनाउने वा मतपरिणाम सार्वजनिक भइसकेको वडाहरुको पनि पुनः गणना गर्ने माग स्वीकार नहुने प्रष्ट पारे । सुचनाको हकअन्र्तगत मतपरिणाम वा पुर्नयोग हेर्न भने सकिने उनले बताए । गणक कर्मचारीको व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै उनले सर्वदलीय वैठकमा गल्ती गर्नेलाई तत्काल कारबाही गर्ने सहमति पनि भइसकेको खुलाए । सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा ५० मत एमालेको उम्मेदवारलाई जोडेको भन्ने भ्रम फैलिएको भन्दै उनले एउटा कर्मचारीले चाहदैमा कुनै दलले चुनाव जित्न नसक्ने पनि बताए । ‘खासमा मतको समस्या समाजवादी फोरम पार्टीको थियो, तर यसलाई राजनैतिक इस्यु भने माओवादीले बनायो । वार्ड १ देखि ८ सम्म आफ्नो पक्षमा परिणाम नआएपछि ती दलको हतास मानसिकता हो यो,’ उनले थपे ।
एमालेकी उपमेयर उम्मेदवार मञ्जु भण्डारी सुवेदीले पनि एक कर्मचारीले ५० मत एमालेलाई जोडिदिएको भनेर अफवाह फैलाएर पार्टीको वदनाम गर्न खोजेको बताइन् । वडा नं ९ को मतगणनाको समस्या नभई अनुसुची फारम भर्ने क्रममा भएको त्रुटीलाई अन्य दलले हारको मानसिकता बोकेर अनावश्यक झमेला झिकेको उनको भनाई थियो । गणनास्थलमा पार्टीको प्रतिनिधिहरु पनि हुने भएकोले धाँधली नभएको जिकिर गर्दै उनले जनताको अभिमतलाई जस्ताको तस्तै सार्वजनिक गर्न पनि माग गरिन् । एमाले जिल्ला कमिटि सदस्य एवं नगर इञ्चार्ज प्रदिप भण्डारीले राष्ट्रसेवक कर्मचारीप्रति अर्नगल प्रचार र आक्षेप लगाएको भन्दै जनताको अभिमत स्वीकार गर्न अन्य दललाई आग्रह गरे ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे