धरानको मतगणनामा विवादै विवाद, मध्यरातीदेखि स्थगित

धरान, असार २० । मतगणना सकिएर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा एउटाको मत अर्को पार्टीको उम्मेदवारलाई जोडिदिएको सुचना बाहिरिएपछि विवाद सृर्जना भएर सोमबार मध्यरातीबाट धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ ।
संघीय समाजवादी फोरम नेपालबाट उपमेयरका उम्मेदवारको मत अर्कै उम्मेदवारलाई जोडेको भन्दै नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका नेताहरुले चर्को विरोध गरेपछि राती ११ बजेपछि मतगणना कार्य स्थगित भएको हो । वडा नं ९, १० र ११ को मतगणना भइरहदा एमाले बढी मत जोडेको भन्दै शुरुमा विवाद भएको थियो । माओवादी, समाजवादी फोरम र कांग्रेसलगायत दलले विरोध गरेपछि ती गणक कर्मचारीलाई निष्काशन गरिएको केही घण्टालगत्तै वडा ९ को मतपरिणाम घोषणअघि अधिकृतको कार्यालयमा लगिएको चार्टलाई रुजु गर्ने क्रममा लापरवाही भेटिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उक्त गल्तीलाई सच्याएर घोषणा गर्नुअघि नै माओवादी केन्द्र र समाजवादी फोरमका नेताहरुले थाह पाएपछि विरोध गर्दै मतगणना कार्य तत्काल रोकेका थिए । यो प्रकरणले वडा ९ र १० को मतगणना सकिएपनि सार्वजनिक हुन पाएन ।
निर्वाचन अधिकृतको कार्यालयले विवादलाई तत्काल समाधानको प्रयास गरेपनि माओवादी केन्द्र र समाजवादी फोरम गठबन्धनले मतगणना कार्य सुचारु गर्न सहमत भएन । त्यसपछि मध्यराती सर्वदलीय वैठक बसेर मंगलबार बिहान ७ बजे बैठक बसेर थप निर्णय गरि अघि बढ्ने निर्णय गरेपछि आज ८ बजिसक्दा पनि वैठक शुरु भएको छैन । मतगणना स्थगित भएपछि गणना कार्य भइरहेको वडा नं ११ को मतपत्रलाई सिलबन्दी गरेर सुरक्षित राखिएको छ ।
‘बिहान ७ बजे वैठक बस्ने भनेर दलहरुले नै सहमति गरेको हो, अहिलेसम्म प्रतिनिधिहरु आउनुभएको छैन । फोन सम्पर्क गरिरहेका छौं,’ निर्वाचन अधिकृत जयप्रसाद महतले भने, ‘बैठक बसेर कर्मचारीको तर्फबाट भएको कमीकमजोरी र गल्तीलाई स्वीकार गर्दै त्यस्तो गर्नेलाई हटाउछौं, र अरुलाई पनि सजग गराउछौं ।’ वडा ९ र १० को गणनामा गल्ती नभई परिणाम घोषणा गर्न मत ट्रान्सफर गर्नेक्रममा गल्ती भएको उनले बताए । त्यस्तो गल्ती रुजु गरेर पत्ता लाग्ने र सच्याउने गरिएपनि मध्यराती सच्याउनु अघि नै दलका नेताहरुसम्म कुरा पुगेपछि विवाद भएको उनले बताए । पहिलो पटक बढी मत जोड्ने कर्मचारीलाई तत्काल निष्काशन गरिएको पनि उनले खुलाए ।
राजनीतिक दलका नेताहरुले भने निर्वाचन कार्यालय र गणनामा खटिएका गणक कर्मचारीहरुले ज्यादै लापरवाही गरेको आरोप लगाउछन् । ‘गणक कर्मचारीहरुले नियोजितरुपमा नै एउटाको मत अर्कोलाई जोडिदिएको पाइयो, मतगणनाजस्तो संवेदनशील कुरामा चरम लापरवाही भएकोले विरोध गरेका हौं,’ माओवादी केन्द्रका नेता अशोक राईले भने । कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले पनि निर्वाचन आयोगको फितलो व्यवस्थापनको कारण मतगणनामा समस्या देखिएको बताए । छिटो मतगणना सक्ने नाममा गणनास्थल थपेर जथाभावी कर्मचारी ल्याउने र गणनाको प्रक्रियाबारे ज्ञान नभएको कर्मचारीलाई साधारण ज्ञान पनि नदिई गणक बनाएको कारणले मतगणना र मतपरिणाम नै प्रभावित हुन पुगेको बताए । ‘व्यवस्थापन एकदमै फितलो देखियो । गणनास्थल थप्ने भन्दै तत्काल कर्मचारी ल्याएर सोझै जिम्मा दिइएको छ । ती कर्मचारीलाई गणनाको ज्ञान छ छैन भनेर जाँच नै गरिएको छैन । गणकहरुलाई एउटा क्यालकुलेटर पनि दिइएको छैन, हातैले मत जोडिरहेका छन्,’ उनले भने, ‘गणक कर्मचारीहरु पनि एकपक्षीय देखिएको छ । एउटै राजनैतिक विचारका गणकहरु खटाइएकोले गणनामा म्यानुपुलेट गर्ने उद्देश्य राखेको देखियो ।’
सोमबार बिहान पनि मतगणना कार्य अव्यवस्थित भएको भन्दै कांग्रेस प्रतिनिधिहरु सहभागी नभएपछि गणना कार्य ४ घण्टा स्थगित भएको थियो । वडा ८ को मतगणना सकेर परिणाम सावर्जनिक गरेपछि गणना कार्य रोकियो । धेरै स्थानमा मतगणना गर्दा अव्यवस्थित भएको र निर्वाचन कार्यालयले दिने सुचनामा पनि एकरुपता नभएको भन्दै कांग्रेसले गणना कार्य रोकेको थियो । सर्वदलीय वैठकले गणना टोली घटाएर ५ समुहमा मात्र गणना गर्ने सहमति भएपछि ४ घण्टापछि बिहान साढे ११ बजेदेखि गणना कार्य सुचारु भएको थियो । निर्वाचन अधिकृत महतले दलका प्रतिनिधिहरुकै बढी चहलपहलको कारण अव्यवस्थित भएको र अब दलहरुलाई विश्वासमा लिएर काम गर्ने बताए ।
धरानमा वडा नं १ देखि ८ सम्मको मतगणना भइसकेको छ । वडा ९ र १० को पनि गणना कार्य सकिएपनि परिणाम घोषणा अघि विवाद भएपछि परिणाम सार्वजनिक गरिएको छैन । वडा ८ सम्मको परिणामअनुसार वडा १, २ र ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने वडा ३, ४, ६, ७ र ८ मा एमालेको प्यानल विजयी भएको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् भने दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे