धरानका निर्वाचन अधिकृत हटाइए, मतगणना सुचारु गर्ने सहमति(सहमतिको माइन्युट कपिसहित)

धरान,असार २२ । मतगणनाको क्रममा उत्पन्न विवाद मिलाएर गणना कार्य सुचारु गर्न नसकेपछि निर्वाचन आयोगले धरानका निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त गरेको छ ।
दुई दिनसम्म मतगणनालाई सुचारु गर्न नसकेका निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर आयोगले बुधबार साँझ उनको स्थानमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापालाई पठाएको छ । विवादको कारण सोमबार मध्यरातीदेखि स्थगित मतणना सुचारु गर्न नसकेका महतले मंगलबार दबाबको कारण मतगणना कार्य सुचारु गर्न नसकेको भन्दै सुचना निकालेपछि राजनैतिक दल र निर्वाचन आयोग पनि उनीप्रति असन्तुष्ट थियो । ‘निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय आयोगबाट भएको हो, धरानमा नयाँ निर्वाचन अधिकृत आएर काम शुरु गरिसक्नुभएको छ,’ सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले भने ।
आयोगले अधिकृत परिर्वतन गर्ने निर्णय गरेपछि बुधबार साँझ सुनसरीका मुख्य निर्वाचन अधिकृत कोइराला धरान आएका थिए । उनले असन्तुुष्ट गठबन्धनसँग छुट्टै बैठक गरेपछि नयाँ निर्वाचन अधिकृत थापाले अघिल्लो सुचनालाई सच्याउदै ‘मतगणना स्थगित गर्न दबाब नभई गणनामा भएको प्राविधिक समस्याले स्थगित भएको’ व्यहोराको अर्को सुचना जारी गरेका थिए । त्यसपछि मात्र मतगणना बहिष्कार गरेको माओवादी केन्द्रसहितको गठबन्धन सर्वदलीय वार्तामा बसेको थियो । नेकपा एमालेले माओवादी केन्द्र गठबन्धनको दबाबले गणना रोकिएको आरोप लगाइरहदा हटाइएका अधिकृत महतले पनि दबाबको कारण स्थगित गरिएको सुचना निकालेपछि गठबन्धनका दलहरु झनै रुष्ट बनेको थियो ।

..........................................................................................

 मतगणना सुचारु गर्न ५ बुँदे सहमति

मुख्य निर्वाचन अधिकृत कोइरालाको उपस्थितिमा मंगलबार मध्यरातसम्म भएको सर्वदलीय वैठकले बिहिबार बिहानदेखि मतगणना कार्य सुचारु गर्नेलगायत ५ बुँदे सहमति गरेको छ । निर्वाचन अधिकृतको कार्यालय तथा मतगणनास्थल धरान सभागृहमा भएको वैठकको पहिलो बुँदामा मतगणना कार्यमा देखिएको कमी कमजोरी सच्याएर दोषी कर्मचारीहरुलाई कार्वाही गर्ने सहमति भएको छ ।
माओवादी केन्द्र गठबन्धनले निर्वाचन कार्यालयसमक्ष पेश गरेको मागपत्रमा उल्लेख भएको विभिन्न प्रकरणप्रति मुख्य निर्वाचन अधिकृतले छानबिन गरेर धारणा सार्वजनिक गर्ने र दोषी भेटिए कार्वाही गर्ने पनि सहमति भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । ‘दलहरुबीच बिहिबार बिहान ८ बजेदेखि मतगणना सुचारु गर्ने सहमति भएको छ, अब गणना कार्यमा कुनै समस्या आउदैन, ’ बैठकपछि कोइरालाले सञ्चारकर्मीहरुसँग भने,‘मतगणनाका के कस्तो कमीकमजोरी भए, त्यसको छानबिन गरेर दोषी देखिएको कर्मचारीलाई कडा कारबाही गरिन्छ ।’
वैठकले मतगणना भइसकेको वडा १ देखि ८ सम्मको नतिजा इच्छुक उम्मेदवारको प्रतिनिधिको समुहले रि चेक गर्ने तथा वडा ९ र १० को रि टोटलिङ गर्ने पनि सहमति भएको छ । माओवादी गठबन्धनले मतगणना स्थगित गराउनुअघि सोमबार राती वडा ९ र १० को गणना सकेर नतिजा घोषणा हुन मात्र बाँकी थियो भने वडा ११ को हजार भन्दा बढी मतपत्र गणना भइसकेको थियो । वडा ११ को हकमा भने पुनः शुरुदेखि नै गणना गर्ने पनि सहमति भएको छ । ‘वडा ९ र १० को रि टोटलिङ र रिचेकको क्रममा गल्ती कमजोरी देखिएमा पुनः वैठक बसेर निर्णय हुन्छ,’ मुख्य अधिकृत काइरालाले भने, ‘मतगणनालाई अब व्यवस्थित गछौं, कुन समुहमा को गणक छन्, भनेर लिष्ट नै सबैले देख्ने गरी राख्छांै । गणकलाई पनि ओरिन्टेसन गछौं र उनीहरुले पदीय दायित्व अनुसार काम नगरे कारबाही गछौं ।’ अधिकृत कोइरालाले गणकहरु सकेसम्म धरानबाहिरबाट ल्याउने, शिक्षक संघसंस्थाबाट समावेशिता(महिला र पुरुष)को आधारमा राखिने पनि प्रष्ट पारे ।
वैठकको सहमतिमा उल्लेख नभएपनि दलहरुबीच अबदेखि एउटा वार्डको एउटा मात्र समुहमा मतगणना गर्ने मौखिक सहमति बनेको वैठकमा सहभागी एक नेताले  बताए । उनका अनुसार थोरै मतदाता भएको वार्डको मतगणना सकेर मात्र ठुलो वार्ड १५, १६ र १७ को मतगणना गर्ने दलहरुबीच मौखिक सहमति छ । ठुलो वार्डमा भने २ समुहसम्म बनाएर गणना गरिने छ । धरानमा सोमबार मध्यरातीदेखि मतगणना कार्य स्थगित थियो । वडा नं ९ को मतगणना सकिएपछि अनुसुची फारम २ मा उम्मेदवारको मत इन्ट्री गर्ने क्रममा गणक कर्मचारीले संघीय समाजवादी फोरमका उपमेयर उम्मेदवारको मतलाई अर्कै चुनाव चिह्मा भरेपछि माओवादी केन्द्र, समाजवादी फोरम गठबन्धनले विरोध जनाउदै मतगणना कार्य स्थगित गरेका थिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे