नगर कार्यपालिकामा एमालेको दुई तिहाई

धरान,साउन १० । स्थानीय तह निर्वाचनअन्र्तगत धरान उपमहानगरपालिकाको नगर कार्यकालिका(बोर्ड)को ८ सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरान ८ स्थित सभागृहमा मंगलबार सम्पन्न निर्वाचनमा ८ सदस्यमध्ये ५ जना महिलातर्फ र ३ जना दलित वा अल्पसंख्यक सदस्यको निर्वाचन भएको थियो ।
जितसँगै कार्यपालिका(बोर्ड) सदस्यमा एमालेको दुई तिहाई बहुमत पुगेको छ । कार्यपालिका सदस्यमा प्रमुख, उपप्रमुखसहित वडा अध्यक्षहरु सदस्य हुन्छन् । धरानमा प्रमुख, उपप्रमुख र २० वडामध्ये १४ वडाअध्यक्ष एमालेका छन् । अब कार्यपालिका सदस्यमा थप भएपछि ३० सदस्यमध्ये एमालेको प्रमुख र उपप्रमुखसहित २४ जना कार्यपालिका सदस्य पुगेका छन् । धरानको ५ वडामा जित पाएको कांग्रेसको कार्यपालिकामा ५ र एउटा वडामा जित पाएको माओवादी केन्द्रको एक जना मात्र सदस्य छन् । एमालेको नगरसभा सदस्यमा पनि दलित वा अल्पसंख्यक ३ जना थप भएर अब ७५ जना पुगेका छन् । कार्यपालिका सदस्य नगरसभा सदस्य पनि हुनेछन् ।
निर्वाचन कार्यालयका अनुसार धरानमा भएको निर्वाचनमा दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यतर्फ एमालेका किसोर परियार ७० मत, कैलाश अग्रवाल ७१ मत र सुवास राई ७० मत ल्याएर विजयी भए । पछिल्लो समय राई जातिका थरहरुलाई पनि अल्पसंख्यक जातिमा सुचिकृत गरिएपछि वान्तवा थरका सुवास राई अल्पसंख्यकबाट कार्यपालिका सदस्यमा चुनिन सफल भएका हुन् । यसअघि उनी २ पटक वडा नं १७ मा अध्यक्ष भएका थिए । यस्तै, महिलातर्फ एमालेकी कल्पना थापा ७१ मत, गीता पाख्रिन ७२ मत, लीला गुरुङ ७० मत, बिनिता बज्रचार्य ७० मत र हिरादेवी राई ७१ मत ल्याएर कार्यपालिका सदस्य पदमा विजयी भइन् ।
कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपनि नगरसभामा एमालेको बहुमत भएकोले गठबन्धनबाट एक जना पनि सदस्य चुनिन सकेनन् । कांग्रेस र एमाले गठबन्धनबाट दलित वा अल्पसंख्यक सदस्यमा युवराज शंकर(२९ मत), राजकुमार भुजेल(२८ मत) र घमानसिंह बिक(२६ मत) उम्मेदवार थिए । यस्तै, महिलातर्फ दिलकुमारी राई(२८ मत), रिता सुन्दास(२८ मत), सन्ध्या श्रेष्ठ(२८ मत), मिना लावती(२७ मत) र फुलमाया बिक(२६ मत) उम्मेदवार थिए । कार्यपालिका सदस्य निर्वाचनमा महिला सदस्य उम्मेदवार निर्वाचित वडा सदस्य हुनुपर्ने र दलित वा अल्पसंख्यक सदस्य भने बाहिरबाट उठाउन पाउने प्रावधान छ ।
नयाँ प्रावधानअनुसार उपहानगरपालिका र नगरपालिकालाई ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यको कोटाको व्यवस्था छ भने गाउँपालिकामा भने ४ जना महिला र २ जना दलित वा अल्पसंख्यक सदस्यको मात्र कोटाको व्यवस्थाप छ । उनीहरुलाई निर्वाचित नगर वा गाउँपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले भोट दिन पाउँछन् । धरानको २० वटा वडामध्ये १४ वडामा जित पाएको एमालेसँग प्रमुख र उप्रमुखसहित कुल १ सय २ मध्ये ७२ मत थियो भने कांग्रेससँग २५ र माओवादी केन्द्रसँग ५ जना मात्र भोट थियो । निर्वाचनमा कांग्रेसका २ र एमालेका एक जना भोटर अनुपस्थित थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे