फिस्टुलाबारे जनचेतना जगाउदै मनिषा(फोटोफिचर)

धरान,साउन १५ । चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला आइतबार संयुक्त राष्ट्र संघीय जनसंख्या कोष(युएनएपपिए)को सद्भावना दुत बनेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइन् ।
प्रतिष्ठानका पदाधिकारीसँगको भेटघाट पछि उनी प्रतिष्ठानको गाइनो वार्डस्थित प्रसव फिस्टुलाका उपचाररत महिलाहरुसँग भेट गर्न पुगिन् । सप्तरीकी ७० बर्षीय कौशिल्यादेवी साह, कपिलबस्तु, भैरहवाकी ३५ बर्षीय कौशिल्य गौडसहित ५ जना महिला उपचाररत छन् । उनीहरुसँग अभिनेत्री कोइरालाले भेटवार्ता गरिन् । दुवैको अप्रेशनमार्फत प्रसुती गराएपछि फिस्टुला भएको थियो ।
सप्तरीकी कौशिल्याले फिस्टुला भएको ३० बर्षपछि मात्र उपचार पाइन् भने अर्की कौशिल्याले युवा उमेरमा नै फिस्टुलाबाट पीडित हुन् पुगिन् । फिस्टुला पीडित महिलाहरुको व्यथा सुनेपछि अभिनेत्री कोइराला अवाक बनिन् । ‘मैले ७० बर्षकी महिलालाई पनि भेटे, जसले ३० औं बर्षसम्म रोग पालिन् । श्रीमान्का मृत्यु भएपछि आफ्नो छोरालाई पनि भन्न सकिनन्, र घरमा बुहारी आएपछि मात्र थाह दिएर उपचार गर्न आइन्,’ पीडितसँगको भेटपछि आयोजित पत्रकार अन्र्तक्रियामा अभिनेत्री कोइरालाले भनिन्,‘मसँग पनि त्यति बोल्न चाहेनन्, यो रोगबारे अझै गाउँघरमा लकाएर बसेका छन्, ती सबै महिलाहरुलाई उपचारमा ल्याउनुपर्छ ।’

योनीबाट निरन्तररुपमा पिसाब वा दिसा वा दुवै चुहिने समस्या अब्स्ट्रेटिक(प्रसव) फिस्टुला हो । लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मी वा प्रसुतीकर्मीबाट सही समयमा सही सेवा नपाउदा महिलाहरुमा प्रसव फिस्टुला हुने चिकित्सकहरु बताउँछन् । प्रजनन स्वास्थ्य समस्यासँग सम्बन्धित यो रोगबाट नेपालका ग्रामिण, सीमान्तकृत र गरिब महिलाहरु नरकीय जीवन बिताउन बाध्य छन् । फिस्टुलाको समस्या देखिएपछि गन्हाउने वा दुर्घन्ध फैलिने हुनाले घरपरिवार र समाजदेखि ती पीडित महिलाहरु तिरस्कृत हुन्छन् । उपचार पछि निको हुने रोग भएर पनि महिलाहरु लोकलाजको कारणले रोग लुकाएर बस्छन् । ‘फिस्टुला हुनु मेरो भाग्य नै यस्तो हो, पुर्वजन्मको फल हो भन्ने ठानेर पीडा, समस्या लुकाएर बस्छन्,’अभिनेत्री कोइरालाले भनिन्,‘यस्तो समस्या सबैभन्दा बढी सिमान्तकृत, पीछडिएको महिलाहरुमा छ, जसप्रति हामी कसैले ध्यानै दिएको हुदैनौं ।’
अमेरिकामा क्यान्सरजस्तो जटिल रोगको उपचार गराएर फर्किएकी अभिनेत्री कोइरालाले फिस्टुलाको पनि उपचार र रोकथाम सम्भव भएको उल्लेख गर्दै यसको लागि समाजका सबै क्षेत्रबाट अठोटको आवश्यकता रहेको औल्याइन् । ‘फिस्टुला रोकथाम गर्न र रोग निको पार्न सकिन्छ, यही पुस्ताभित्र फिस्टुलालाई अन्त्य गर्ने प्रमिस गरौं । उपचार हुन्छ, रोग नलुकाउ भन्ने सन्देश पैmलाउ,’ कोषकी सद्भावना दुत कोइरालाले भनिन् । उनले आफु ग्लामर फिल्मी दुनियाबाट आएको उल्लेख गर्दै अहिले मात्र समाजको वास्तविक पीडा, समस्या बुझने मौका पाइरहेको बताइन् । ‘म ग्लामर फिल्डबाट आएको मान्छे, समाजसँग जोडिएको हुन्न । अहिले सामाजिक काममा आएपछि मात्र समाजको वास्तविक पीडा बुझ्ने मौका पाए,’ उनले भनिन् । अभिनेत्री कोइरालाले नेपालमा २०७२ मा गएको महाभुकम्प पछि महिला तथा किसोरीको क्षेत्रमा काम गर्न चाहेकी थिइन् । त्यसै बेला युएनएफपिएले सद्भावना दुतको प्रस्ताव गरेपछि दुवैबीच सहकार्य सम्भव भयो भने अभिनेत्री कोइरालाले महिला तथा किसोरीहरुको पीडा, समस्यालाई नजिकबाट बुझ्ने मौका पाइन् ।
...................

                                   प्रजनन स्वास्थ्य केन्द्रबिन्दुमाः जुलिया

युनएनएफपिएकी नेपाल प्रतिनिधि जुलिया भलिसिले गरिबि, लैंगिक विभेद र असुरक्षित प्रसुतिलगायत विविध कारणले महिलाहरुमा प्रसव फिस्टुलाको समस्या हुने भन्दै यसलाई प्रजनन स्वास्थ्यको केन्द्रविन्दुमा राखेर काम गरिरहेको बताइन् । फिस्टुला रोग लुकाउने चलनले कति संख्यामा पीडित छन् भन्ने तथ्यांक यकिन नभएपनि एक जना पीडित भेटिनु पनि ठुलो संख्या भएको उनले बताइन् । ‘यो समस्या गरिबि, रितिरिवाजसँग जोडिएको सामाजिक समस्या पनि हो, त्यसैले यसलाई बहुक्षेत्रीयरुपमा हेरेर त्यसै किसिमले समाधान गर्नुपर्छ,’ जुलियाले भनिन्,‘प्रजनन स्वास्थ्य केन्द्रबिन्दुमा छ, र प्रसव फिस्टुला पनि केन्द्रबिन्दुमा राखेका छौं । हाम्रो पालमा नै फिस्टुलाको निवारण हुन्छ भन्ने आशा जन्मिएको छ, त्यसको लागि डा. मोहन, मनिषा कोइरालाको मात्र होइन, तपाई हामी सबैको पहल जरुरी छ ।’
.................

              सम्पुर्ण उपचार निःशुल्क, ८० प्रतिशत शल्यक्रिया सफल

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्रीरोग विभाग(गाइनो) प्रमुख तथा फिस्टुला बिशेषज्ञ डा. मोहनचन्द्र रेग्मीका अनुसार ८० प्रतिशत विरामीको शल्यक्रिया पहिलो पटकमा नै सफल भएको छ । केही विरामीको भने ४, ५ पटक शल्यक्रिया गर्नुपरेको उनले जानकारी दिए । डा. रेग्मीका अनुसार नेपाल सरकारले आवश्यक नीति बनाउनु अघि नै बीपीमा सन् १९९७ देखि नै फिस्टुलाको शल्यक्रिया गर्न थालेको थियो । सन् २००८ सम्म ५६ जनाको शल्यक्रिया भएको रेडर्क थियो । तर, सन् २०१० देखि युएनएफपिएसँग सहकार्य भएयता भने ४ सय फिस्टुला पीडितको शल्यक्रिया भइसकेको छ । ‘सन् २०१० अघि त नेपालमा यो समस्या नै छैन भन्ने सरकारको सोच थियो, तर पाटन र बीपीले उपचार गर्दै आएको थियो, निशुल्क भने थिएन,’ डा. रेग्मीले भने ।
अचेल हरेक बर्ष ५० जनाको हाराहरीमा बीपीमा निःशुल्क शल्यक्रिया मात्र हुदैन, घरबाट अस्पताल(बीपी)सम्म आउने विरामी र कुरुवाको खर्च, खाना खर्च, अप्रेशन, औषधी सबै निःशुल्क हुन्छ । सरकारले बीपी प्रतिष्ठानलाई फिस्टुलाको नेशनल सेन्टर बनाएको छ । नेपालमा अस्पतालमा ६० प्रतिशतको मात्र प्रसुती हुन्छ, बाँकी ४० को घरमा नै असुरक्षित किसिमले सुत्केरी हुन्छन् । तिनमा फिस्टुला हुने बढी सम्भावना भएको डा. रेग्मीले बताए । उनले भने,‘धेरै जसो तराईका महिलाहरु उपचारमा आएका छन्, यो स्वास्थ्य समस्या मात्र होइन, गरिबि, अशिक्षा, बालविवाह, जनचेतनाको कमीले पनि हो । जबसम्म प्रजनन अंग र प्रणालीबारे महिलाको अधिकार सुनिश्चित हुदैन,तबसम्म यो समस्या अन्त्य हुदैन ।’













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे