विचार र आस्थाकै आधारमा भोट


धरान,असार १७ । २०४९ र २०५४ सालको दुवै स्थानीय चुनावमा धरानको साविक वडा १ र ४ मा नेपाली कांग्रेसले जितेको थियो । अहिले दुवै वडा भागिएर एउटै वडा नं १ बनेको छ । कांग्रेसको मतदाताको पडक भएको यो वडामा स्थानीय तह निर्वाचनमा कांग्रेसले जित्ने आँकलन गरिएको थियो । यस्तै, साविक वडा २ र ६ गाँभिएर बनेको वडा नं २ मा पनि कांग्रेसको पडक भएकोले उसैले जित्ने अनुमान थियो ।
शुक्रबार मध्यरातमा मतगणना सकिएको यी दुवै वडा(१ र २) मा नेपाली कांग्रेसको प्यानलले नै जित हात पार्यो । यसअघिको निर्वाचनमा साविक २ मा कांग्रेस र राप्रपाको गठबन्धनले जितेको थियो भने साविक वडा ६ मा एमालेले झिनो मतान्तर(१० भन्दा कम)ले जितेको थियो । दुई दशकपछि असार १४ मा भएको स्थानीय तह निर्वाचनमा जनचासोका र पपुलिष्ट नारा दिएर प्रमुख दल कांग्रेस, एमाले र माओवादी  केन्द्रसहित चुनावमा होमिएको थियो । अझ माओवादीले त १० युनिट बिजुली र १० हजार लिटर पानी निःशुल्क वितरण गर्ने घोषणा नै गरेको थियो । तर, पुर्णमत परिणाम आइसकेको वडा १ र २ मा अन्य कुनै पनि दलले कांग्रेसलाई पछार्न सकेन । स्थानीय निर्वाचनमा उम्मेदवारको व्यक्तिगत सम्बन्ध र प्रभावले पनि जित हारमा भर पर्छ, भनिन्छ । तर, धरान उपमहानगरपालिकाको शुरुवाती मतपरिणाम हेर्दा न विकासे पपुलिष्ट नाराले मतदातालाई आकर्षित गरेको छ, न व्यक्तिगत नाता, सम्बन्धले नै । यहाँका मतदाताहरुले राजनैतिक विचार र आस्थाको आधारमा परम्परागत शैलीमा नै मत खसालेको देखिन्छ । ‘वडा १ र २ कांग्रेसको पकड क्षेत्र नै हो, त्यसैले जित पाउनु स्वभाविक नै थियो,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीतिक शास्त्रका प्रध्यापक अमृत शाक्यले भने, ‘व्यक्तिगत सम्बन्ध र उम्मेदवारको आधारमा पनि मत खसेको देखियो, तर त्यस्तो मत ज्यादै न्युन छ । मतदाताहरुले पार्टी र विचारको आधारमा नै मतदान गर्ने परिपाटी छ ।’
धरानमा जातीय आधारमा पनि मत खस्ने र त्यसको फाइदा नेपाली कांग्रेसका मेयर उम्मेदवार तिलक राईलाई फाइदा पुग्ने कांग्रेसको विश्वास छ । धरानमा धेरै जनसंख्यामा राईहरुको बसोबास छ । उम्मेदवार राई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष पनि हुन् । राईहरुको बाहुल्य भएको वडाको मतगणना गर्न बाँकी नै छ । वडा १ र २ को मतपरिणामले जातीय मत पनि आउने केही संकेत गरेपनि निरन्तरता नपाउने दलका नेताहरु बताउँछन् । वडा १ मा कांग्रेसको मेयर, उपमेर र वडाअध्यक्षले क्रमशः १०२६, १०३४ र १०१९ मत पाउदा एक छाप चिह्नका सदस्यले ७०८ र दुई छाप चिह्नका सदस्य उम्मेदवारले ७३४ मात्र पाए । स्वतन्त्र उम्मेदवार टायर चिह्नका मनोज साह हल्वाईले २ सय ३ र बेल्चा चिह्नका सुमन श्रेष्ठले ३९६ मत पाए । दलका प्रतिनिधिहरुका अनुसार अन्य उम्मेदवारमा नदेखिए पनि सदस्य पदमा भने भोट क्रस भएको थियो । ‘कसैले आफनो समुदाय, कसैले व्यक्ति छानेर पनि मत हालेको भएर नै होला, क्रस मत पनि छ । प्यानलमा एउटालाई मत हाल्ने, अर्कोलाई नहाल्ने गरेको पनि भेटियो,’ कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले भने, ‘तर त्यस्तो मतदाता ज्यादै न्युन संख्यामा छ, अरुले पार्टी हेरेर नै भोट हालेका छन् ।’
चुनाव अघिसम्म दल फेर्ने अथवा व्यक्ति हेर्ने चाहना बोकेका मतदाताहरु पनि राजनैतिक दलहरु चुनावी प्रचारमा होमिएपछि मतदाताहरु पुरानै मनस्थितिमा रहने गरेको नेताहरुको अनुभव छ । ‘क्रस भोट ज्यादै न्युन मात्र देखियो । धेरै मत परम्परागत मान्यताको आधारमा गएको देखिन्छ,’ माओवादी केन्द्रका मेयर पदका उम्मेदवार अबइन्द्र बिक्रम बेघाले भने, ‘विकासनिर्माणको एजेण्डा, नेतृत्वको गुण हेरेर मत दिएको देखिएन । चुनाव भनेको पार्टीलाई भोट हाल्न आउने जस्तो मात्र देखियो, सचेत भोट हाल्नेहरु ज्यादै न्युन ।’ एमाले जिल्ला सचिवालय सदस्य मुरारी सुवेदी पनि धरानमा राजनैतिक विचारको आधारमा नै मतदाताहरुले भोट हाल्ने गरेको बताए । उम्मेदवारको व्यक्तिगत प्रभाव थोरै मात्रामा परेपनि प्रतिवद्ध मतदाताहरुले मनलाई डाइभर्ट गर्न नचाहेको धरानको प्रारम्भिक मतपरिणामबाट देखिएको उनले धारणा छ । ‘खसेको मत हेर्दा प्यानलमा एउटै अनुपातमा छ । बजार क्षेत्रमा कांग्रेस, एमालेलाई असर पुग्ने गरि माओवादीको मत आउछ कि भन्ने थियो, तर त्यस्तो भएन,’ नेता सुवेदीले भने, ‘विगतको मत खस्ने पारामा नै यसपटक पनि देखियो ।’











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे