पिण्डेश्वरमा महाआरती(फोटोफिचर)

धरान,साउन १६ । हिन्दु धर्मवलम्बीहरु माझ धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको ठुलो महिमा र मह्त्व छ । साउन महिनामा पिण्डेश्वरमा भक्तजनहरुको घुइचो हुन्छ । साउन महिना हिन्दु आराध्य देव शिवको प्रिय महिना हो, र सोमबार प्रिय बार । त्यसैले हरेक सोमबार कोशीको पत्रिव जल बोकेर पिण्डेश्वर महादेवलाई चढाउन देश, विदेशबाट भक्तजनहरु यहाँ आउछन् ।
पछिल्लो दुई सोमबार(साता)देखि भने पिण्डेश्वरमा भक्तजनहरुमा महाआरतीको छुट्टै आकर्षण पनि बढेको छ । पिण्डेश्वर बाबाधाम समितिले साउनको आइतबार साँझ, सोमबार बिहान र पुनः साँझमा महाआरतीको शुरुवात गरेको छ । महाआरतीले पिण्डेश्वरको महिमा झनै बढाएको बाबाधाम समितिले जनाएको छ । साथै, धरानको धार्मिक पर्यटनलाई थप टेवा पनि पुगेको समितिको विश्वास छ ।
भारतको वाराणसीबाट आएका ५ जना नेपाली पण्डितहरुबाट पिण्डेश्वरस्थित सरस्वती सरोवरमा महाआरती हुने गरेको छ । यस्तो चलन वाराणसीस्थित गंगा र कौशीकी नदीमा हुदै आएको थियो । यो बर्षदेखि बाबाधाम समितिले सरोवरमा आरतीको प्रतिछाँया देखिने गरी आरतीको प्रबन्ध गरेको छ । महाआरतीमा १ हजार १ सय शुल्कमा संकल्प गर्ने व्यवस्था पनि छ । संकल्प गर्न भक्तजनहरुको आकर्षण पनि बढदै गएको बाबाधाम समितिले जनाएको छ । संकल्प महाआरती गर्न धरान बाहिरबाट पनि भक्तजनहरु आएका छन् । ‘यो पटक राम्रो भइरहेको छ, अर्को पटकदेखि झनै भव्यरुपमा गछौं,’बाबाधम समितिका सचिव जयन्त गौतमले भने ।
................

                               २० हजार बढीले जल चढाए

पिण्डेश्वर महादेवमा आइतबार चतरा गएर मध्यराती कोशीको जल बोकेर पैदल धरान आउने र सोमबार बिहान चढाउने परम्परा थियो । तर, अचेल यो परम्परा तोडेर भक्तजनहरु आइतबार राती नै जल बोकेर पिण्डेश्वर आउने गरेका छन् । यो साता पनि आइतबार साँझ नै भक्तजनहरु जल बाकेर पिण्डेश्वर मन्दिरमा आइपुगिसकेका थिए । ती भक्तजनहरु मन्दिरको मुलढोका नखोलेसम्म लाइनमा बसेका थिए ।
बाबाधाम समितिका अनुसार सोमबार एकै दिन २० हजार बढी तीर्थालु भक्तजनहरुले चतरास्थित कोशी नदीको जल ल्याएर पिण्डेश्वर चढाएका छन् । समितिका सचिव गौतमका अनुसार यो संख्या स्थानीय भक्तजनहरु बाहेकको हो । ‘जल चढाउने गेरुवस्त्रधारी भक्तजनहरुको संख्या नै २० हजार नाघ्यो,लोकल भक्तजनहरुको त हिसाबै छैन,’ सचिव गौतमले भने । स्कन्ध महापुराणको हिमाद्री खण्ड(हिमवत)को रुद्राक्षरण्य महात्म्यमा पिण्डेश्वर महादेवका वर्णन छ । देवहरुले पिएको अमृतको छोक्रा(तर)लाई पिण्डको आकारमा यहाँ स्थापना गरेको उल्लेख छ । पिण्डेश्वर रुद्राक्ष उत्पत्तिको थलो पनि भएकोले रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे