मेयर, उपमेयरमा एमालेको फराकिलो अन्तर, वडा २० मा प्यानलै विजयी

धरान, असार २५ । धरान उपमहानगरको जारी मतगणनामा मेयर र उपमेयरमा एमाले उम्मेदवारको मतान्तर बढ्दै गएको छ । आइतबार साँझसम्मको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार तारा सुब्बाले कांग्रेसका उम्मेदवार तिलक राई भन्दा ३ हजार १ सय मतले अग्रता लिएका छन् ।
गणना सम्पन्न भइसकेको १२ वटा वडा र मतगणना जारी रहेको ८ वटा वडाको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार सुब्बाले १४ हजार ७ सय २० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार राईले ११ हजार ६ सय २० मत छ । यस्तै, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ६ हजार ८ सय ९४ मत पाएका छन् ।
उपमेयरमा पनि एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले कांग्रेसकी उम्मेदवार श्यामा रेग्मी भन्दा ४ हजार २ सय ५ मतले अग्रता लिएकी छिन् । एमालेकी भण्डारीले १४ हजार ९सय ६४ मत पाउदा कांग्रेसकी रेग्मीले १० हजार ७ सय ५३ मत पाएकी छिन् । यस्तै, माओवादी समाजवादी गठबन्धनका उपमेयर उम्मेदवार पारस राईले ३ हजार ८ मत मात्र पाएका छन् ।


पुर्वगाविस अध्यक्ष वडामा विजयी 

२०५४ सालको स्थानीय निर्वाचनमा साविक विष्णुपादुका गाविसको अध्यक्षमा निर्वार्चित भएका ६५ बर्षीय मणिराम राई स्थानीय तह निर्वाचनमा भने वडाको अध्यक्षमा विजयी भएका छन् । साविक गाविस धरानमा गाभिएर उपमहानगर बनेको थियो । पछि राज्य पुर्नसंरचना हुँदा साविक गाविसको ९ वडामध्ये ८ वटा मिलेर वडा २० बनेको थियो । एउटा वडा मात्र छुटेको भौगोलिकरुपमा साविक गाविस झै रहेको वडा २० मा दुई दशकपछि राई पुनः नेतृत्वमा आएका हुन् ।
‘गाविसको ९ वडामध्ये ८ वटा मिलेर २० नं वडा बनेको छ, त्यसैले भुगोल साविक गाविसकै छ,’ अध्यक्षमा चुनिएका राईले भने,‘पहिला जित्दा कसरी काम गर्ने होला भन्ने द्धिविधा थियो, अहिले त अनुभव छ । जनताको काम गर्नलाई समस्या छैन ।’ नवनिवार्चित अध्यक्ष राई इमान्दार, कर्मठ राजनीतिज्ञ एवं समाजसेवीकोरुपमा परिचित छन् । उनी एमाले सुनसरी जिल्ला कमिटि सदस्य पनि हुन् । आफ्नो वडामा एमालेले अघि बढाएको भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य, बाटो, खानोपानीलगायत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उनले खुलाए ।
अध्यक्ष राईले ८ सय मत पाएर विजेता बन्दा उनका निकटतम प्रतिद्धन्दी पदमबहादुर लिम्बूले ६ सय १४ मत पाए । विजेता राईको प्यानलबाट महिला सदस्यमा फुलमाया तामाङ, दलित महिला सदस्यमा यशोदा घिमिरे(विश्वकर्मा) र खुला सदस्यद्धयमा कर्णबहादुर तामाङ, महासेर राई विजयी भए ।

धरानको मतगणना सक्न अझै ३ दिन लाग्ने

प्रदेश नं १ अन्र्तगत धरान उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन अझै ३ दिन लाग्ने अनुमान छ । वडा नं ९ र १० को नतिजा घोषणाअघि विवाद उत्पन्न भएर २ दिनसम्म गणना कार्य रोकिएको कारण धरानबासीहरुले नयाँ मेयर र उपमेयर पाउन ढिलाई भएको हो । निर्वाचन अधिकृतको कार्यालयले अनुभवी गणक कर्मचारीहरु थपेर मतगणना कार्यलाई तीब्रता दिए पनि गणनाको अन्तिम नतिजा आउन ३ दिन लाग्नसक्ने जनाएको छ ।
निर्वाचन कार्यालयले विवादित दुई वडाको पुनःमतगणना गर्ने निर्णय गरेपछि दलहरुको सहमतिमा सोमबार रातीदेखि गणनाले तीब्रता पाएको हो । अहिले वडा ९ र १० को पुनःमतगणनासँगै वडा ११, १५, १६, १७, १८ र १९ को पनि गणना भइरहेको छ । ‘अहिले दलहरु, प्रहरी प्रशासन सबैबाट पनि सहयोग पाइराखेका छौं, गणनामा कुनै विवाद छैन,’ निर्वाचन अधिकृत कमलबहादुर थापाले भने,‘गणकहरु थप गरेर गणनालाई तीब्रता दिइरहेका छौं ।’ कार्यालयका अनुसार आइतबार दिउँसोसम्म धरानको ११ वटा वडाको गणना सम्पन्न भइसकेको थियो भने ९ वटाको गणना जारी थियो । त्यसबेलासम्म खसेको मतमध्ये करिब ३८ हजारको हाराहारीमा मतगणना भएको अधिकृत थापाको भनाई छ ।
असार १४ गतेको निर्वाचनमा धरानमा ५३ हजार ८ सय १२ मत खसेको थियो । निर्वाचन कार्यालयका अनुसार गणकहरु थपेर ९ वटा समुह बनाएर मतगणनालाई तीब्रता दिइएको छ । ‘पर्सि मंगलबार मध्याह्नसम्म मतगणनाको अन्तिम नतिजा आइसक्छ भन्ने अनुमान छ, त्यसको लागि ५४ गणक कर्मचारी ल्याएर ९ वटा टिममा गणना गरिरहेका छौं,’ अधिकृत थापाले भने । आइतबार साँझसम्मको मतपरिणाम अनुसार कांग्रेसले ४ वडा र एमालेले ८ वडामा प्यानल जित पाएको छ । कांग्रेसले १, २, ५ र १४ मा प्यानल जित्दा एमालेले ३, ४, ६, ७, ८, १२, १३ र २० वडामा प्यानल जित पाएको छ । माओवादी केन्द्र, संघीय समाजवादी फोरम गठबन्धनले भने कुनै पनि वडामा जित्न सकेको छैन । गणना भइरहेको ९ वटा वडामध्ये १८ मात्र कांग्रेसको प्यानल र १७ मा वडाअध्यक्षमा माओवादीको बाहेक अन्य वडामा पनि एमाले उम्मेदवारकै अग्रता छ ।
...................................................................




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे