भदौमा नेपाल च्याम्पियन,विजेतालाई १ लाख नगद

धरान,साउन २ । शारीरिक सुगठन खेलमा धरानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रथम नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । धरान १५ स्थित एलाइनेट जिमले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ २७ र २८ गते भानुचोकमा राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागेको जानकारी  दिएको हो ।
नेपालमा शारीरिक सुगठन खेलमा धर्मश्री पछि मोफसलमा हुने ठुलो पुरस्कार राशीको प्रतियोगिता हुने आयोजकको दाबी छ । पछिल्लो समय धर्मश्रीमा नगद राशी ५ लाख रहेको थियो । नेपाल च्याम्पियनको विजेताले नगद १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथोले ३० हजार र पाँचौ हुनेले २५ हजार पुरस्कार पाउने एलाइनेटका अध्यक्ष एवं मुल आयोजक कमिटिका संयोजक बिक्रम लिम्बूले बताए । ‘नेपालमा धर्मश्रीमा अहिलेसम्म ठुलो नगद पुरस्कार छ, त्यसपछि प्रायः एक लाखको मात्र प्रतियोगिता छ,’अध्यक्ष लिम्बूले भने,‘मोफसलमा पनि राष्ट्रियस्तरको प्रतियोगिता हुन्छ भनेर चिनाउन आयोजना गर्दैछौं ।’ यसअघि एलाइनेटले २०६३ मा राष्ट्रियस्तरको प्रतियोगिता मिस्टर बुढासुब्बा आयोजना गरिसके पनि निरन्तरता दिन भने सकेन ।
आयोजकले जनाएअनुसार भदौ २७ गते प्रिजजिङ राउण्ड हुनेछ । जसमा एक वजन समुहबाट ६ जना खेलाडी मात्र फाइनल प्रतियोगिताको लागि छनौट हुनेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी ५ वजन समुहमा खेलाडीहरु प्रतिस्पर्धा गर्न सक्नेछन् । भदौ २८ गते फाइनलमा प्रत्येक वजन समुहमा प्रतिस्पर्धा हुनेछ र प्रथम हुने खेलाडीले मात्र उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गर्ने मौका पाउनेछन् । ‘प्रतियोगितामा नेपालभरबाट सहभागी हुन पाउछन्, तर कुनै न कुनै क्लबको प्रतिनिधित्व हुनुपर्छ,’ संयोजक लिम्बूले भने,‘विभागीय क्लबबाट पनि खेलाडी आउन पाउछन् ।’ एउटा क्लबबाट एक वजन समुहमा २ जना खेलाडीले मात्र सहभागी हुन पाउने उनले खुलाए ।
आफ्नो वजनमा प्रथम भएपछि ओभरअल राउण्डमा उपाधिको लागि ५ जना मात्र भिड्नेछन् भने निर्णायकको निर्णयको आधारमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं खेलाडी घोषित हुनेछन् । विगतमा शारीरिक सुगठनका हरेक प्रतियोगिताहरु धरान ८ स्थित सभागृहमा सञ्चालन हुदै आएकोमा नेपाल च्याम्पियन भने भानुचौकमा गरिने आयोजकले जनाएको छ । ‘प्रतियोगिता इन्डोर हुदा भनेजति प्रर्वद्धन हुन सकेन कि भनेर यसपाली भानुचोकमा खुलारुपमा गर्न लागेका छौं, टिकट खरीद गरेकाहरुलाई कुर्सीको व्यवस्था गछौं,’ सचिव हिमाल श्रेष्ठले भने । यो खेलमा युवतीहरुलाई पनि आकर्षण गर्न लेडिज बडिबिल्डर जुनु बज्रचार्यलाई ल्याएर डेमोस्ट्रेशन गराउन पहल भइरहेको उनले बताए ।
प्रतियोगितामा इन्डिभिज्युल पुरस्कारतर्फ पनि बेस्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभको पुरस्कार दिइनेछ । पुरस्कार विजेताले जनही नगद ५ हजार पाउनेछन् । प्रतियोगितामा कुल ८ लाख ७० हजार खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद, धरान उपमहानगर, प्रायोजक, टिकट तथा सहयोग रसिदलगायतबाट आर्थिक स्रोत जुट्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ । २०५७ सालमा स्थापना भएको एलाइनेटले विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । जसअन्र्तगत यो नेपाल च्याम्पियन एलाइनेटको १५ औं प्रस्तुती हो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे