मेयरलाई बिशिष्ट कक्ष र उपमेयरलाई इजलाशसहित कार्यकक्ष बनिदै

धरान,असार २९ । निर्माणाधिन तीन तले भवनको पहिलो तलाको दुई कोठाबाट कामदारहरु बाहिर भित्र गरिरहेका छन् । दुवै कोठाभित्र थप पार्टेसन गरेर ३ हल बनाइएको छ । नयाँ आकर्षक सोफा सजिएका छन् । झ्यालका पर्दाहरु लगाउन बाँकी नै छ । काम नसकिएकोले कोठा, टेबलमा धुलो त छदै छ ।
बिहिबार दिउँसो धरान उपमहानगरपालिकाको निर्माणाधिन भवन ‘ब्लक बि’मा पुग्दाको दृष्य हो यो । भवनको भुईतलामा कार्यकारी अधिकृत, प्रशासकीय अधिकृत, आन्तरिक लेखा परीक्षकको कार्यकक्ष छ भने माथिल्लो तलामा नवनिर्वाचित धरानका मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी सुवेदीको कार्यकक्ष धमाधम तयार भइरहेको छ । सम्भवत ः आइतबारबाट कार्यभार सम्हाल्न सक्ने सुचना आएकोले उपमहानगरपालिका र कामदारहरु शनिबार साँझसम्म सम्पुर्ण काम सक्ने गरी तयारीमा जुटेका छन् । ‘मेयर, उपमेयरको कार्यकक्ष तयारी अन्तिम चरणमा पुगेको छ । फर्निसिङ सबै भइसक्यो, पिएको कुर्सी टेवल पनि प्रबन्ध भइसकेको छ, शनिबार साँझसम्म सबै काम सकिन्छ,’ योजना अधिकृत किरण भजेलले भने ।
पुर्वबाट पश्चिम फर्किएको ‘ब्लक बि’को भर्याङ चढेर पहिलो तला पुग्दा शुरुमा उपमेयरको कार्यकक्ष भेटिन्छ । उपमेयरसँगै उत्तरपटि छ, मेयरको कार्यकक्ष । त्यहाँ कोठाबाहिर मेयरको नेमप्लेट राखिसकिएको छ । यो कोठालाई बीचमा पार्टेसन गरेर ३ वटा कोठा निकालिएको छ । सबैभन्दा उत्तरमा मेयरको पि.ए.(स्वकीय सचिव) को कार्यकक्ष रहनेछ भने बीचको कोठा मेयरको कार्यकक्ष हुनेछ । मेयरलाई भेटन आउनेहरु पिएको कोठा हुदै भित्र प्रवेश गर्नुपर्ने हुन्छ । मेयर बस्ने कोठाको ढोका भने मेयर प्रवेश गर्दा र बाहिरिदा मात्र खोल्ने योजना हो । तर, मेयरले कार्यभार सम्हालेपछि योजना फेरिन पनि सक्छ । दक्षिणमा गोप्य बिशिष्ट कक्ष बनाइएको छ । स्थानीय सरकारका प्रमुख(मेयर)लाई भेट्न आएका अतिविशिष्ट(भिआइपी) पाहुनासँग मेयरले यहाँ बसेर भेटवार्ता वा छलफल गर्नेछन् । ‘चाडै सिसिटिभी राख्छांै, र यहीबाट सबै शाखाहरुको अनुगमन गर्ने प्रबन्ध पनि गछौं,’ कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले भने,‘टिभि र एसिको पनि प्रबन्ध गछौं ।’
मेयरको कार्यकक्ष झै उपमेयरको कोठालाई पनि पार्टेसन गरेर ३ वटा कोठा बनाइएको छ । मेयरको झै उत्तरपटि पि.ए. रहनेछ भने बीचमा उपमेयरको कार्यकक्ष र दक्षिणमा इजलास हुनेछ । उपमेयर भेट्न आउनेहरु पिएमार्फत भित्र प्रवेश पाउनेछन् । नेपालको संविधानले उपमेयरलाई न्यायिक अधिकार दिएको छ । न्याय समितिको संयोजक रहने उपमेयरले इजलास राखेर विभिन्न मुद्दा मामिलाको छिनोफानो गर्नुपर्ने हुन्छ । ‘इजलासको लागि कोठा अलिक साँघुरो भयो कि भन्ने गुनासो पनि आएको छ, तत्काललाई यही रहन्छ,’ योजना अधिकृत भुजेलले भने,‘इजलासको अभ्यास हेछौं, र साँघुरो नै महसुस भएमा नयाँ भवन बन्दैछ, पछि त्यता थप व्यवस्थापन गरिन्छ ।’
उपमहानगरको निर्माणाधिन भवन कुल १४ करोड योजनाको हो । हाल निर्माण भइरहेको ब्लक बि भने ३ करोड लागतको हो । पुर्ण निर्माण भइसक्दा सि आकारको भवन हुनेछ । संविधानले स्थानीय तहलाई स्थानीय सरकारकोरुपमा अधिकार दिएकोले अब उपमहानगरपालिकामा मतहतमा अधिकांश सरकारी कार्यालयहरु आउनेछन् । कार्यकारी अधिकृत कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय, कोलेनिका, जिल्ला प्रहरी, जिल्ला अदालतजस्ता थोरै संख्याको कार्यालय छोडेर बाँकी सबै नगर कार्यपालिका मातहतमा आउनेछन् । ‘अब यही नै स्थानीय सरकार हो । शिक्षा, स्वास्थ्य, वन, सडक, कृर्षिलगायत कार्यालयहरु सबै यही आउनेछ,’ उनले भने,‘कर्मचारीहरु आउन थालिसकेका छन्, अब यहीबाट तलब सेवा सुविधा दिइन्छ ।’ जनस्वास्थ्य कार्यालयबाट एक जना कर्मचारी धरान आइसकेको उनले जानकारी दिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे