बिकराल बन्दै हेपटाइटिस सि,उपचार र रोकथाममा ध्यान दिन सरकारसँग माग

धरान,साउन १३ । विश्व स्वास्थ्य संगठनले ‘भाइरल टाइम बम’को संज्ञा दिएको हेपटाइसिस सिको संक्रमण भएपनि यसको उपचार र रोकथाममा सरकारले ध्यान नदिएको भन्दै चिकित्सक तथा सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले विपन्न संक्रमित हेपटाइटिस सिको उपचार निःशुल्क उपलब्ध गराउन माग पनि माग गरेका छन् ।
विश्व हेपटाइटिस दिवसको अवसरमा नगर एचआइभि तथा एड्स समन्वय समिति र बीपी प्रतिष्ठानस्थित मेडिसिन विभागअन्र्तगतको डिभिजन अफ ग्याष्ट्रोइन्टेरोलोजीले शुक्रबार आयोजित कार्यक्रममा सरोकारवालाहरुबाट यस्तो चिन्ता व्यक्त भएको हो । उनीहरुले बीपी प्रतिष्ठानमा हेपटाइटिस सिको उपचारको क्रममा आवश्यक भाइरल लोड तथा जेनोटाइपको जाँच गर्ने मेशिन उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । एचआइभि एड्स समन्वय समिति, रिकभरिङ धरान, संजिवनी पुर्नजीवन केन्द्र, धरान पोजेटिभ समुह, कियाचु पुर्नजीवन केन्द्रलगायत संस्थाले यस्तो माग गरेको हो । ‘विश्वव्यापीरुपमा ८० प्रतिशतभन्दा बढी सुईद्धारा लागुऔषध प्रयोग गर्नेहरुमा हेपाटाइसिस सिको संक्रमण छ । नेपाल र धरानमा पनि यही दरमा संक्रमितहरुको संख्या छ, र अवस्था भायवह बन्दैछ । तर यसको उपचार, रोकथामलाई सरकारले प्राथमिकता दिएको छैन,’ समन्वय समितिका उपाध्यक्ष सुमित डाँगीले भने,‘भाइरल लोड तथा जेनोटाइप जाँच गर्ने मेशिन अति आवश्यक छ । एबिसिटि कुन विरामी हो भनेर थाह पाउन पनि अहिले सिलगुडी कि काठमाण्डौं जानुपर्ने अवस्था छ ।’
विश्वमा हाल २० करोड हेपटाइटिस सिका संक्रमितहरु रहेको तथ्यांक छ भने प्रत्येक बर्ष ३० देखि ४० लाख मानिसहरु हेपटाइटिस सिद्धारा संक्रमित हुने गरेको तथ्यांक छ । विश्वका १० मृत्युका कारणहरु मध्ये एउटा हेपटाइटिस पनि भएको चिकित्सकहरु बताउँछन् । विश्वबाट एचआइभिको संक्रमण दर घट्दो भएपनि हेटपाइटिसको संक्रमण बढ्दो रहेको र यसले चाडै विकराल रुप लिनसक्ने बीपी प्रतिष्ठानका डिभिजन अफ ग्याष्ट्रोइन्टेरोलोजी प्रमुख डा.बिक्रम प्रधानले बताए । उनका अनुसार हेपटाइटिस कलेजको संक्रमण हो । हेपटाइटिस ए र इ दुषित पानी र खानाबाट हुने भएपनि यी दुवै धेरै दिनसम्म संक्रमण नहुने उनको भनाई छ । ‘तर, बि र सि दीर्घकालीन भाइरस हो, यो पसेपछि कलेजोलाई घर नै ठान्छ, र क्रोनिक इन्फेक्सन हुन्छ,’हेपटाइसि बि र सिमा विज्ञता हासिल गरेका डा.प्रधानले भने,‘एचआइभिभन्दा १० गुण बढी हेपटाइटिसको संक्रमण छ,तर सरकारले प्राथमिकता दिएको छैन ।’
एचआइभि, टिबि, कालाज्वरलगायत रोगको जाँच र उपचार नेपालमा पनि निःशुल्क छ । तर, हेपटाइटिसप्रति भने सरकारले ध्यान नपुर्याउनु दुःखको कुरा भएको डा.प्रधानले बताए । उनका अनुसार एचआइभिको मृत्युको कारण पनि पछिल्लो समय हेपटाइटिस हुन थालेको छ । हेपटाइटिस बि र सि का विरामीलाई त आफु संक्रमित भएको पनि थाहै हुन्न । ‘सिको कुनै लक्षण नै हुदैन, त्यसैले किन जाँच गर्ने भन्ने हुन्छ । उपचार नगरेपछि क्रोनिक हेपटाइटिस हुन्छ । १५ बर्षपछि सिरोसिस हुन्छ र लिभरले काम गर्न छोड्छ । क्यान्सर पनि हुन्छ,’ डा. प्रधानले भने,‘त्यसैले सिरोसिस हुनुभन्दा अघि नै जाँच गराएर उपचार गराए निको हुन्छ ।’ एचआइभि संक्रमितलाई हेपटाइटिस सि भएमा १० बर्षमा नै सिरोसिस हुने पनि उनले बताए ।
चिकित्सकहरुका अनुसार हेपटाइटिस बि का सय विरामीमध्ये ५ जनालाई मात्र हेपटाइटिस भएको थाह हुन्छ भने ९ जनाले मात्र जाँच गरेका हुन्छन् । यस्तै, हेपटाइटिस सि का २० जनाले मात्र जाँच गरेका हुन्छन् । सन् २०१५ को यो तथ्यांक अनुसार थाह भएका विरामीहरुमध्ये पनि ७ प्रतिशतले मात्र उपचार गरेका छन् । ‘त्यही भएर हेपटाइटिस सिको भयावह अवस्था छ, सि को उपचार नभएको १०, १५ बर्ष पुग्न लाग्यो, अब त्यसको विकराल रुप देखिन्छ,’ डा. प्रधान भन्छन्,‘राष्ट्रियस्तरबाट नै प्राथमिकतामा राखेर यसलाई नीति बनाउनुपर्छ ।’

धरान हेपटाइसिस सिको उच्च जोखिममा

नेपालमा पछिल्लो २ दशकमा हेपटाइटिस सि को संक्रमण तीन गुण बढेको छ । हेपटाइटिस बि संक्रमणको संख्या ३ लाख १५ हजार रहेको छ भने २ लाख ४० हजारको संख्यामा सिको संक्रमितहरु रहेको तथ्यांक छ । धरानका युवाहरु हेपटाइटिस सिको उच्च जोखिममा रहेको चिकित्सक एवं सरोकारवालाहरु बताउँछन् । लागुऔषध दुव्र्यसनमा फसेका युवाहरुले सुई प्रयोग गर्ने गरेको र उनीहरुमध्ये ८० प्रतिशतमा हेपटाइटिस संक्रमण रहेको छ ।
सरोकारवालाहरुका अनुसार धरानमा अनुमानित ५ हजार लागुऔषध प्रयोगकर्ताहरु छन् । ती मध्ये अधिकांश सुईद्धारा लागुऔषध प्रयोग गर्नेहरु हुन् । उपचार गरी सुधाररत रहेका पुर्व लागुऔषध प्रयोगकर्ताहरुको संख्या ५ सयको हाराहारीमा रहेको छ । ‘हाल प्रयोग गरिरहेका तथा सुधाररत रहेका करिब ८० प्रतिशत लागुऔषध प्रयोगकर्ताहरुमा हेपटाइटिस सिको संक्रमण छ,’ समन्वय समितिका उपाध्यक्ष डाँगीले भने,‘उनीहरुमा सचेतनाको कमी, उपचार सुलभ नभएको कारण अकालमा मृत्यु हुन्छ ।’ उपचार महंगो, हेपटाइटिसको जाँच तथा उपचारको लागि आवश्यक औषधी स्थानीयस्तरमा उपलब्ध नभएको कारणले संक्रमितहरु सास्ती खेप्नु परेको उनको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे