पिण्डेश्वरमा महाआरती गरिने

धरान,साउन ६ । साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर बाबाधामको कति महत्व छ भनेर कसैले भनिरहनै पर्दैन । हिन्दु आराध्य देव शिवको प्रिय महिना साउन र बार हरेक सोमबार भक्तजनहरुको यहाँ घुइचो लाग्छ । यो सोमबारदेखि भने यहाँ अर्को आकर्षण थपिदैछ, महाआरतीको ।
बाबाधाम समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउनको हरेक आइतबार साँझ र सोमबार बिहान,साँझमा महाआरतीको प्रचलन शुरु गर्न लागेको जानकारी दिएको छ । यो महाआरतीको प्रचलनले पिण्डेश्वरको महिमा अझै बढ्ने र धार्मिक पर्यटनको विकासमा पनि टेवा पुग्ने समितिले जनाएको छ । समितिका अध्यक्ष गौरीशंकर अग्रवालका अनुसार भारतको वाराणसीमा गंगा आरती गर्दै महाआरतीको प्रचलन शुरु भएको थियो । त्यो चलन अहिले नेपालमा पशुपतिनाथ र कौशिकी नदीमा पनि हुन थालेको छ । ‘सोही प्रकृतिको महाआरती पिण्डेश्वरमा पनि गर्न लागेका छौं, बनारसबाट आएका नेपाली पण्डितहरुबाट महाआरती हुन्छ,’ अध्यक्ष अग्रवालले भने ।
समितिका अनुसार पिण्डेश्वरमा रहेको सरस्वती सरोवर(पोखरी)मा आरतीको प्रतिच्छाया देखि गरी आरतीको प्रबन्ध गरिनेछ । त्यसको लागि सरोवरमा स्टेज निर्माण भइरहेको सचिव जयन्त गौतमले जानकारी दिए । ‘यसपटक सफल भयौ भने अर्को पटकदेखि झनै भव्यरुपमा गछौं । हुन त खर्च बढी नै छ, तर राम्रो काम भएकोले महाआरती गर्ने निर्णय गर्यांै,’ गौतमले भने ।
समितिका अनुसार वनारसमा महाआरती गर्दै आइरहेका पण्डितहरु आफै आएर महाआरतीको अनुरोध गरेका थिए । महाआरतीमा ७ जना पण्डितहरु संलग्न हुनेछन् । यसले पिण्डेश्वर महिमा र प्रचारप्रसारमा झनै टेवा पुग्ने बाबाधाम समितिको अपेक्षा छ । समितिले महाआरतीमा संकल्प गर्नेलाई १ हजार १ सय शुल्कमा बिशेष व्यवस्था पनि गरेको जनाएको छ । हिन्दु धर्ममा आरतीको महत्वपुर्ण स्थान छ ।
धरानको पिण्डेश्वर महादेवको मन्दिर धार्मिकरुपमा मात्र नभई पर्यटकीयरुपमा पनि महत्वपुर्ण रहेको छ । यहाँ बर्षेनी देश, विदेशबाट लाखौं धार्मिक पर्यटकहरु दर्शन गर्न आइपुग्छन् । तीमध्ये साउन महिनामा मात्र अत्यधिक भक्तजनहरु पिण्डेश्वरमा ओइरिन्छन् । ‘हरेक बर्ष आकर्षण थप्न विविधिकरण गर्दैछौं, यसले पिण्डेश्वरको धार्मिक महत्व मात्र बढाउदैन, धरानलाई पर्यटकीय हब बनाउन पनि मद्दत पुग्छ,’ समितिका सदस्य एवं पर्यटनकर्मी वासुदेव वरालले भने । हरेक बर्ष साउनमा लाखौं श्रद्धालु भक्तजनहरु सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउने गर्छन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे