आरम्भको आधारभुत नाट्य प्रशिक्षण शुरु

धरान,असार ३० । रंगमञ्चको क्षेत्रमा नयाँ कलाकारहरु जन्माउने र रंगकर्मलाई निरन्तरता दिलाउने उद्देश्यले धरानमा एकहप्ता लामो आधारभुत नाट्य प्रशिक्षण शुरु भएको छ । आरम्भ नाट्य डबलीको आयोजनामा नाट्य क्षेत्रमा रुचि राखेका बालबालिकाहरुलाई लक्षित गरेर आरम्भ अभिनय कार्यशाला गोष्ठी शुक्रबारदेखि शुरु भएको हो ।
धरान १२ स्थित आरम्भको आफ्नै कार्यालयमा शुरु भएको अभिनय गोष्ठी एवं नाट्य प्रशिक्षणमा विभिन्न स्कुलका १५ जना बालबालिकाहरु सहभागी छन् । २०७३ बैशाखबाट पुनरागमन भएको घोषणा गरेको आरभले त्यसयता धरानको रंगमञ्चलाई जगाउन विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । ‘धरानको सुतेको रंगमञ्चलाई जगाउनको लागि नयाँ कलाकारहरु आवश्यक छ, त्यसैको लागि कार्यशाला, अभिनय प्रशिक्षणहरु निरन्तर गरिरहेका छौं,’ आरम्भका अध्यक्ष एवं पत्रकार गोपाल देवानले भने, ‘यो नाट्य प्रशिक्षणमा पनि फ्रेस भाईबहिनीहरु सहभागी छन्, प्रशिक्षण लिएका मध्ये आधा मात्रै नाटकमा सक्रिय भयो भने ठुलो उपलब्धी हुन्छ ।’
साउन ७ गतेसम्म हुने नाट्य प्रशिक्षणमा ११ बर्षदेखि २२ बर्षसम्मका युवा तथा बाल विद्यार्थीहरु सहभागी छन् । उनीहरुलाई अभिनयको आधारभुत ज्ञानसँगै व्यावहारिकरुपमा अभिनय पनि सिकाइने आरम्भले जनाएको छ । प्रशिक्षणका सहभागी अधिकतर विद्यार्थीहरु सरकारी विद्यालयमा अध्ययनरत हुन् । आरम्भ पुनरागमन भएयता अभिनय कार्यशाला एवं नाट्य प्रशिक्षण गराएको यो तेस्रो पटक हो । यसअघिको अभियन प्रशिक्षणमा पनि विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत १५/१५ जना गरी ३० जना सहभागी थिए । तीमध्ये एक दर्जनजतिले नाटक तथा अभिनयमा जोडिएर निरन्तरता दिइरहेको आरम्भले जनाएको छ ।
नाट्य प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि एवं अग्रज पत्रकार गिरिराज आचार्यले साना बालबालिकाहरु पनि नाटकमा आकर्षित भएको देख्दा खुशी लागेको बताए । अभिनय प्रशिक्षणमा मेहनत गर्न सुझाव दिदै उनले धरानको रंगकर्मको भविष्य तयार भइरहेको भन्दै प्रसंसा पनि गरेका थिए । रंगभुमी एकेडेमीका अध्यक्ष एवं कलाकार विष्णु मोक्तानले धरानमा नाटकघर(थिएटर हल)को अभाव भएको उल्लेख गर्दै अभिनय प्रशिक्षणले नयाँ कलाकारहरु जन्मिएर रंगमञ्चलाई टेवा पुग्ने धारणा राखे । युवा रंगकर्मी दिपेन्द्रसिं दर्नालले आफ्नो नाट्य यात्राको अनुभव बाँड्दै वलियो इच्छाशक्ति भएमा नाटक गर्न गाह्रो नभएको बताए । आरम्भका संरक्षक एवं अग्रज पत्रकार राजकुमार कार्कीले धरानलाई रंगकर्मको शहर बनाउने सपना बिस्तारै साकार हुदै गएको उल्लेख गर्दै रंगमञ्चीय हल बनाउन सबै रंगकर्मी र स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । उद्घाटन समारोहमा युएन कलेजका निर्देशक डम्बर तुम्बापो र आरम्भका उपाध्यक्ष गंगा कालिकोटेले पनि आफ्नो धारणा राखेका थिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे