धरानको मतगणनास्थल बाहिर नाराबाजी

धरान, असार २० । मतगणनामा लापरवाही भएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले मतगणनास्थल धरान सभागृहमा नाराबाजी गरिरहेका छन् । एउटा उम्मेदवारको मत अर्को पार्टीको उम्मेदवारलाई जोडेको सार्वजनिक भएपछि माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले विरोध गरेका हुन् । उनीहरुले पुनः मतगणना गरिनुपर्ने, लापरवाही गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने र निर्वाचन अधिकृत हटाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।
सोमबार राती धरान वडा नं ९ को मतगणना सकेर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा संघीय समाजवादी फोरमका उपमेयर उम्मेदवारको मत मालेको उम्मेदवारलाई जोडेको सार्वजनिक भएको थियो । उक्त घटना सार्वजनिक भएलगत्तै माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध गर्दै मतगणना कार्य स्थगित गरेका थिए । धरानमा माओवादी केन्द्र र समाजवादी फोरमसहित ९ दलीय गठबन्धनले चुनाव लडेको थियो । मतगणना सुचारु गर्नेबारे मंगलबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भनिएपनि ३ घण्टापछि १० बजे तिरबाट मात्र बैठक बसेको छ । गणनास्थलमा सर्वदलीय बैठकमा अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।
बैठकमा समाजवादी फोरमले वडा नं १ बाटै पुनः मतगणना शुरु गर्नुपर्ने माग अघि सारेपछि सहमति हुन नसकेको एक सहभागी प्रतिनिधिले बताए । सभागृह भित्र नेताहरुको सर्वदलीय बैठक बसिरहदा बाहिर कार्यकर्ताहरु नाराबाजीमा छन् । धरानमा वडा ९ र १० को मतगणना सकिएपनि नतिजा सार्वजनिक गर्नुअघि सोमबार राती ११ बजेदेखि मतगणना रोकिएको छ । त्यसबेला वडा ११ को मतगणना जारी थियो । मतगणना स्थगित भएपछि गणना कार्य भइरहेको वडा नं ११ को मतपत्रलाई सिलबन्दी गरेर सुरक्षित राखिएको छ ।
निर्वाचन अधिकृत जयप्रसाद महतले वडा ९ र १० को गणनामा गल्ती नभई परिणाम घोषणा गर्न मत ट्रान्सफर गर्नेक्रममा गल्ती भएको उनले बताए । त्यस्तो गल्ती रुजु गरेर पत्ता लाग्ने र सच्याउने गरिएपनि मध्यराती सच्याउनु अघि नै दलका नेताहरुसम्म कुरा पुगेपछि विवाद भएको उनले बताए । पहिलो पटक बढी मत जोड्ने कर्मचारीलाई तत्काल निष्काशन गरिएको पनि उनले खुलाए ।
राजनीतिक दलका नेताहरुले भने निर्वाचन कार्यालय र गणनामा खटिएका गणक कर्मचारीहरुले ज्यादै लापरवाही गरेको आरोप लगाएका छन् । साथै, गणक कर्मचारीहरु पनि एउटै राजनैतिक विचारका एमाले निकट गणकहरु खटाइएको भन्दै कांग्रेस, माओवादी केन्द्रलगायत दलहरु असन्तुष्ट छ । यसअघि, सोमबार बिहान पनि मतगणना कार्य अव्यवस्थित भएको भन्दै कांग्रेस प्रतिनिधिहरु सहभागी नभएपछि गणना कार्य ४ घण्टा स्थगित भएको थियो । वडा ८ को मतगणना सकेर परिणाम सावर्जनिक गरेपछि गणना कार्य रोकियो । धेरै स्थानमा मतगणना गर्दा अव्यवस्थित भएको र निर्वाचन कार्यालयले दिने सुचनामा पनि एकरुपता नभएको भन्दै कांग्रेसले गणना कार्य रोकेको थियो । सर्वदलीय वैठकले गणना टोली घटाएर ५ समुहमा मात्र गणना गर्ने सहमति भएपछि ४ घण्टापछि बिहान साढे ११ बजेदेखि गणना कार्य सुचारु भएको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे