बहराइनमा ‘अनिमेष पाइलाहरु’को विमोचन
धरान, साउन १ । वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक बहराइन पुगेका नेपालीहरुको संस्था नेपाली साहित्य समाज, बहराइनले पहिलो साहित्यिक कोसेली ‘अनिमेष पाइलाहरु’ प्रकाशन गरेको छ । समाजको पहिलो साहित्यिक कोसेलीको हालै एक कार्याक्रमबीचमा विमोचन गरिएको बहराइनमा रहेका कवि तथा साहित्यकार चन्द्र गुरुङले नागरिकलाई जानकारी दिए ।उनका अनुसार उक्त पुस्तकमा बराहराइनमा रहेका ३५ जना सर्जकहरुको रचनालाई समाविष्ट गरिएको छ । शुक्रबार(जुलाई १४) बहराइनको राजधानी मानमास्थित फुड सिटि रेष्टुरेष्टमा आयोजित एक समारोहबीच नेपालका कार्यबाहक राजदुत खगराज पाण्डेले उक्त कृर्तिको विमोचन गरेका थिए । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले महत्वपुर्ण साहित्यिक कार्यक्रम भएकोमा प्रसंसा गर्दै भविष्यमा पनि साहित्यिक गतिविधि तथा लेखन कार्यले निरन्तरता पाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली क्लबका उपाध्यक्ष दिपक गुरुङ, समाजसेवी गमबहादुर गुरुङलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको कवि चन्द्र गुरुङले जानकारी गराए । पुस्तक अनिमेष पाइलाहरुमाथि युवा कवि सुन्दर गुरुङले समिक्षा गरेका थिए । सोही कार्यक्रममा कवि सुन्दर गुरुङको हालै प्रकाशित कृर्षि ‘आफुले खोजेको स्वर्ग’बारे कवि चन्द्र गुरुङले समिक्षा गरेका थिए । यस्तै, गजलकार तथा चित्रकार भीम रसाइली र कवि सुन्दर गुरुङलाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान पनि गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु सुरेश रखाल, पदम बिक, विशाल थापा, डोलिन चिन्तित, भीम रसाइली, रेशम श्रीस, चन्द्र गुरुङ, सुन्दर गुरुङ, रेशम बोहरा, विष्णु दंगाल, असिम महतलगायत श्रेष्टाहरुले रचना वाचन गरेका थिए । कवि रेशम बोहरा र गजलकार विशाल थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा गजलकार पदम बिक राजले स्वागत गरेका थिए ।



Comments
Post a Comment