बितेका कुरा...लाई वान्समोर

धरान,साउन १५ । सुगम संगीतका चर्चित गायक दिप श्रेष्ठको गृहनगर हो धरान । त्यसैले धरानमा उनको फ्यानहरु हुनु नौलो होइन । तर, पप र रक पुस्ताका धराने युवाहरु पनि उनका सदावहार गीत भनेपछि हुरुक्कै हुन्छन् ।
शुक्रबार साँझ धरान १५ स्थित होटल इजी राइडरमा हस्तरानी मेमोरिय सेवा समाजले अक्षय कोष स्थापनाको लागि दिप श्रेष्ठ एकल साँझ आयोजना गरेको थियो । प्रायः फेशन शो हुने र पप गीतहरु गुञ्जिरहने होटलमा शुक्रबार रातमा भने श्रेष्ठका कालजयी गीतहरु गुञ्जिरह्यो । उनका हरेक गीतमा अघिल्लो पुस्ता मात्र होइन, युवा पुस्ताहरु पनि मन्त्रमुग्ध भए । कतिसम्म भने गायक श्रेष्ठले अन्तिम प्रस्तुती भनेर गाएको चर्चित बितेका कुराले...बोलको गीत उनले नदोहोर्याई धरै पाएनन् ।
गायक श्रेष्ठले करिब ८ बजेतिर २०२५ सालमा तत्कालीन राजा महेन्द्रको अघि गाएको चर्चित गीत म पत्थरको देवता होइन..बाट प्रस्तुती शुरु गरेका थिए । विजय श्रेष्ठले रचना गरेको यही गीतले श्रेष्ठलाई गायककोरुपमा चिनारी दिलाएको थियो । बीसको दशकको अन्त्यतिरका गीतहरु कहाँबाट ल्याउ म सपनाको देश.., तिमी आकाशको जुन भयौं.., सुनिदेउ सानो छदाको कथा..लगायतबाट गायक श्रेष्ठले प्रस्तुतीलाई अघि बढाए । उनले म एउटा यात्री रुमल्लि हिड्ने.., कति कमजोर रहेछ भाग्य.., हर रात सपनीमा ऐठन हुन्छ.., मेरो आँखामा हरदम.., भन्थी उनी मेरी.., म त पहिरो भित्र छुँ.., एउटा फुल देखे मैले..बोलको कालजयी गीत गाउदा उनका स्रोताहरु घरी भावुक हुन्थे, घरी खुशीले उफ्रन्थे, ताली पड्काउदै सिठि पनि फुक्थे । गायक श्रेष्ठले चर्चित गीत म त दुर देखी आए... गाइसकेर अन्तिम प्रस्तुती भन्दै बितेका कुराले..गाए । तर, हलमा उपस्थित उनका फ्यानहरुले वान्स मोर वान्स मोर भन्दै चिच्याएपछि उनले गाउन करै लाग्यो, र गाइदिए..मेरी मायालु भन्दै । उनका फ्यानहरु पनि के कम, स्टेज नजिक पुगेर कम्मर मर्काउदै नाचि दिए ।
गायक श्रेष्ठले गृहनगरमा गाउन पाउदा जहिल्यै पनि खुशी लाग्ने तर यसपटक परोपकारी कामको लागि गाउन पाउदा अति खुशी महसुस भएको बताए । गायक श्रेष्ठले भनेजस्तै आयोजक हस्तरानी मेमोरियल सेवा समाजले विपन्न तथा गरिब बालबालिकाको शिक्षा र स्वास्थ्योपचारमा सहयोग पुर्याउनको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा खर्च कटाएर बचेको रकममा त्यतिनै रकम थप गरेर अक्षय कोष स्थापना गर्ने र ५ बर्षमा १ करोड बनाउने लक्ष्य राखिएको समाजका अध्यक्ष एवं इजि राइडर बिजेश ग्रुप प्रालिका अध्यक्ष लोक खापुङले बताए ।
संस्था उनको स्वर्गीय आमा हस्तरानीको स्मृतिमा २०५९ मा स्थापना गरिएको हो । हस्तरानीको क्यान्सरबाट २०६७ सालमा मृत्यु भएको थियो । ‘पैसा अभावले कोही पनि शिक्षा र उपचारबाट बञ्चित हुन नपरोस् भनेर संस्था स्थापना गरेका हौं । यो कार्यक्रमबाट जति पैसा बच्छ त्यसमा त्यति नै थप गरेर कोष बनाउछौं र ५ बर्षमा १ करोड पुर्याउछौं,’ अध्यक्ष खापुङले भने । कोषमा प्रालिअन्र्तगतका विभिन्न डेढ दर्जन कम्पनीहरुको सामाजिक उत्तरदायित्वअन्र्तगतको बजेटबाट बर्षेनी ५० प्रतिशत रकम कोषमा राखिने इजी राइडर्सका निर्देशकमध्ये एक दोर्पध्वज राईले बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे