वडाअध्यक्षमा भूपू लाहुरेको तेस्रो इनिङ


परिवारले राजनीति छोडेर घरव्यावहारमा सिमित हुन दबाब दिइरहेका थिए । तर, लाहुरमा बिताएको समयबाहेकको जीवनलाई समाजको सेवामा समर्पित गरेका ६९ बषीय रुद्रबहादुर लिम्बूको मन कहाँ थामिन्थ्यो र ? परिवारको दबाबलाई पन्छाउदै उनले धरान उपमहानगरको वडा ८ मा अध्यक्ष पदमा उठ्ने चाहना राखे । पार्टीले पनि हरदम जनता र समाजको सेवामा हिड्ने उनीजस्तो प्रतिवद्ध व्यक्तिलाई पन्छाउने कुरै भएन । असार १४ गतेको स्थानीय तह निर्वाचनमा लिम्बूले नेकपा एमालेबाट वडा अध्यक्षको टिकट मात्र पाएनन्, तेस्रो पटक वडा अध्यक्षमा ‘ह्याट्रिक’ जित दर्ता गराए ।
२०४६ पछि स्थानीय निर्वाचनमा निरन्तर तेस्रो पटक वडा अध्यक्षमा जित पाउने उनी धरानको पहिलो जनप्रनिनिधि हुन् । गएको सोमबार बिहान घोषणा भएको वडा ८ को मतपरिणाम अनुसार १ हजार ४ सय ३५ मत ल्याएर कांग्रेसका निकटतम प्रतिद्धन्दी नन्दराज राईलाई २ सय १६ मतअन्तरले पराजित गरे । यो वडामा लिम्बूको प्यानल नै विजयी भयो । अवकाशपछि राजनीतिमा निरन्तर लाग्ने ब्रिटिश लाहुरेहरु कमै छन् । त्यसमाथि निर्वाचनबाट चुनिएर जनप्रतिनिधि हुने मौका कमैले पाएका छन् ।
‘म चुनावमा फेरी उठ्छु भन्दा परिवार, छोराछोरी खुशी थिएनन् । पाको हुनुभयो, अब राजनीति नगर्नु भन्थे,’ भूपू लाहुरे तथा वडा अध्यक्ष लिम्बूले भने, ‘सधै जनताको काम गरिरहेको मान्छे परे, केही नगरी त्यसै बस्न मेरो मनले मानेन । पार्टीलाई चाहना राखे, मेरो कामको मुल्यांकन गरेर नै होला तेस्रो पटक टिकट दिए, जनताले पनि मलाई विश्वास गरे, ज्यादै खुशी लागेको छ ।’ धरानमा उनीसहित ३ जना पुर्वलाहुरेहरुले वडाअध्यक्षमा टिकट पाएका थिए । माओवादी केन्द्रबाट टिकट पाएका दुई मध्ये वडा ३ मा सर्वजित राई र वडा १८ मा मानबहादुर राई पराजित भए भने लिम्बूकै वडामा माओवादीबाट टिकट पाएर उठेका झमक मगर तेस्रो स्थानमा समेटिए ।
तेस्रो पटक वडाअध्यक्ष भएका लिम्बू एमालेबाटै २०४९ र २०५४ सालको निर्वाचनमा पनि वडा ८ मा अध्यक्षमा विजयी भएका थिए । उनी पहिलो पटक अध्यक्ष हुँदा वडा समितिको कार्यालय पनि थिएन । लेटर प्याड, स्टाम्प बनाउन लगाएर उनी झोलामा बोकेर हिड्थे । समितिको कार्यालय उनको आफ्नै घर बन्यो । दोस्रो पटक निर्वाचिन हुदा भने उनले वडा समितिको भवन बनाएर व्यवस्थित गरे । धरानमा एमालेको संगठन मजबुत हुनु र आफु सधै जनतासँग घुलमिल हुनु नै आफ्नो जितको आधार भएको उनको बुझाई छ । हुन पनि यसपटक आफ्नै पार्टीको उपमहानगर कमिटि सदस्य तथा वडा सहइञ्चार्ज प्रमिला याङदेनले चुनावअघि राजीनामा दिएर वडाअध्यक्षमा उठेर तगारो हालेपनि उनको जित रोक्न सकिनन् । ‘मैले २०४९ सालमा नै टिकट पाउदा घरको सिन्का पनि भाँच्दिन, जे जति गर्छु जनताकै लागि काम गर्छु र हिड्छु भनेर मौखिक सम्झौता नै गरेको थिएँ,’ उनले भने ‘अध्यक्ष पद नहुदा पनि जनतासँगै रहे, मरौ परौंमा हिडे । दुःख विमार हुदा के छ भनेर हिडे । जनताले पनि मलाई माया गरेकैले होला यसपटक पनि जिते ।’
पुख्यौली घर तेह्रथुमको सिमले(हाल फेदाप गाउपालिका) भएका लिम्बू २०२४ सालमा ब्रिटिश सेनामा भर्ती भएर २०३८ सालमा अवकाश पाएका थिए । त्यसयता उनले निरन्तर राजनीतिको सहारामा समाजसेवा गरिरहेका छन् । उनी ७(सेभेन) गोर्खा राइफल पल्टनबाट कर्पोरलमा अवकाश पाएका थिए । उनी इमान्दार र सोझा हुनुका साथै लगनशील भएर काम गरिरहने भएकोले मुल्यांकन गरेर टिकट दिएको एमाले जिल्ला कमिटि सचिवालय सदस्य मुरारी सुवेदीले बताए ।

.....................................................................

                                        राजनीतिसँगको सम्बन्ध

पुर्वलाहुरे भएपनि उनको राजनीतिसँगको निकटता भने धेरै पुरानो रहेछ । उनका बाजे २०१५ सालमा गोर्खा परिषदबाट सांसदमा उठ्दा उनलाई स्पीकर बोकाएर भोट माग्न हिडाएको उनी स्मरण गर्छन् । कम्युनिष्ट पार्टीको सदस्य पनि ब्रिटिश आर्मीमा भर्ती भएको ४ बर्षपछि नै २०२८ सालमा भएका रहेछन् । विदामा घर आएको बेला गाउँले भाइले उनलाई कम्युनिष्ट सदस्य बनाएर धरानको फुस्रेस्थित मगर टोलमा सम्पर्क गरेर काम गर्न पठाएका थिए । त्यसबेला उनको पल्टन भारतको कलकत्तामा थियो । पार्टीलाई उनलाई बन्दुकको नाल ल्याउने जिम्मा दियो । उनले २ पटक गरी ७ वटा नाल धोक्रोमा बोकेर पनि ल्याएको स्मरण गरे ।
लाहुरमा हुदा हङकङ र फोक्लयाण्डमा युद्ध भए पनि उनले युद्ध लड्नु भने परेन । तालिम सकिएलगत्तै हङकङमा युद्ध लड्न लगिएपनि पुगेको अघिल्लो दिनमा नै युद्ध सकिएको थियो । फोक्लयाण्डको युद्ध शुरु हुनु १४ दिन अघि नै उनी विदामा घर आएको कारण युद्ध जान नपरेको उनले सुनाए । पेन्सन पकाएर घर फिरेपछि पार्टी र समाजको सेवामा सक्रिय बने । ०४६ साल यता छैटौं पटक नगर कमिटिमा रहेर वडा इञ्चार्ज छन् । ‘म लाहुरे मान्छे, स्वदेश आएपछि देश र समाजको सेवा गर्ने मौका पाएको छुँ । आफ्नो सबै शक्ति लगाएर काम गरे, अझै गर्छु,’ उनले भने ।

                             राम्रो काम गर्नुपरोः श्रीमति

श्रीमान् फेरी अध्यक्षमा उठ्छु भन्दा ६४ बर्षीय पत्नी दिलमाया लिम्बूलाई चित्त बुझेको थिएन । भर्खर घर बनाउदा धेरै खटिनु परेको र पाको पनि भएकोले ज्यानलाई आराम चाहिन्छ भन्ने उनको भनाई थियो । तर, पति रुद्रबहादुरले मानेनन् । आफुले भनेको नमाने पनि श्रीमानले तेस्रो पटक जितेकोमा उनी खुशी छिन् । ‘अब जिउले सक्दैन है, नगर्नुस् भनेको मान्नुभएन । जित्नु भयो, खुशी नै छुँ । अब राम्रो काम गर्नुस्, वडाको विकास गर्नुस्, बाटो, पुल, पानी दिनुस्, वडालाई सफा सुग्घर राख्नुस् भन्छु,’ पतिलाई सुझाव दिदै भनिन्,‘उहाँ नराम्रो काम कहिल्यै गर्नुहुन्न, मलाई मात्र होइन जनतलाई पनि विश्वास छ ।’

                                          उनको भावी योजना

श्रमितिले शुभकामना दिइरहदा छेवैमा बसेका अध्यक्ष लिम्बूले पनि पार्टीसँग र जनतासँग आफुले गरेको प्रतिवद्धताअनुसार छलफल गरेर काम गर्ने बताए । वडालाई सफासुग्घर बनाउन फोहोरको व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्था गर्ने, बेरोजगार युवालाई सिप सिकाउने, गरिब तथा असहायलाई औषधी उपचार र जीवन यापनमा सहयोग गर्नेलगायत आफ्नो प्राथमिकतामा रहने बताए । साथै, आफ्नो वडामा निर्माण भइरहेको बसपार्कलाई पुर्णता दिलाउने, सभागृहलाई व्यवस्थित गर्ने र जनताको आवश्यकता बुझेर पार्टीको घोषणापत्रअनुसार काम गर्ने योजना सुनाए ।
स्रोत: शुक्रबार साप्ताहिक / रोहित राई






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे