पदभार ग्रहण नगरी मेयरको डेलिगेशन

धरान, साउन १ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने ब्यस्त सडक धनकुटे रोडको भत्किएको पुल आर्थिक बर्ष सकिदा पनि पुरा भएन । धरानको बरगाछीदेखि भोटेपुलसम्मको कोशी राजमार्ग जताततै खाल्डाखुल्डी छ भने पुरानो घोपा क्याम्प जाने तीनकुनेदेखि पुर्वको सडक जीर्ण अवस्था छ ।
धरानको सडकमा हिड्दै गर्दा प्रत्यक्ष भोगिने र देखिने यो दुरावस्थाबाट नवनिर्वाचित धरानका मेयर तारा सुब्बा निक्कै चिन्तित रहेछन् । त्यसैले पदभार ग्रहण नगरेपनि उनी चुप लागेर बस्न सकेनन् । वडा १५ मा धन्यवाद तथा बधाई कार्यक्रमको घरदैलोलगत्तै आइतबार दिउँसो उनी यी समस्याको हल खोज्न विराटनगरस्थित सडक डिभिजन कार्यालयतर्फ हान्निए । सुनसरी क्षेत्र नं १ का सांसद कृष्णकुमार राई र धरानका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठको साथमा सडक डिभिजन पुगेका मेयर सुब्बाले प्रमुख जितेन्द्रकुमार चौधरीलाई सोध, ‘असार मसान्त सकियो, तर धनकुटे रोडको बीपी प्रतिष्ठान जाने सडकमा पुल किन बनेन ? ठेकेदारबाट ढिलाई हो भने कारबाही गर्नुपर्यो, कि अर्को ठेकेदारलाई दिएर भएपनि चाडो बनाउन लगाउनुस् ।’
धनकुटे रोडको पुल निर्माणमा ढिलाई हुदा बीपीमा उपचार गर्न आउने विरामीलाई धेरै सास्ती भइरहेको भन्दै मेयर सुब्बाले चाडो पुल तयार गर्न डिई चौधरीको गम्भीर ध्यानाकर्षण गराए । उनले समयमा काम नगर्ने र ढिला सुस्ती गर्नेलाई तत्काल कारबाही गर्न वा ठेक्क रद्द गर्न पनि आग्रह गरे । धरानको सडकसँग सम्बन्धित समस्याहरुलाई बुँदागतरुपमा डिभिजन प्रमुख चौधरीलाई जानकारी गराएको र चाडो हल गर्न आग्रह पनि गरेको वरिष्ठ इञ्जिनियर श्रेष्ठले जानकारी दिए । ‘माननीय सासद र मेयरसँग सडक डिभिजन र शहरी विकास तथा भवन निर्माण विभागमा पुग्यांै, बीपी जाने पुल निर्माणमा भएको ढिलाई, तीनकुनेदेखि भोटेपुलसम्मको जीर्ण सडक, निसाने डाँडामा धस्सिएको कोशी राजमार्ग, बाइपास सेउती कोरिडोरलगायतको बारेमा मेयरबाट जानकारी माग भयो,’ श्रेष्ठले भने, ‘सडकका डिइले पुल निर्माणमा ढिलाई भएकोमा फअलोअप गर्छु भने । निसाने डाँडामा तल खोलादेखि काम शुरु भएको, तीनकुनेदेखि भोटेपुलसम्मको सडक मर्मतको ठेक्का लागिसकेको जानकारी गराए ।’
इञ्जिनियर श्रेष्ठका अनुसार बाइपास सेउती करिडोरमा बिनियोजन भएको ५० लाखबाट विभागको काठमाण्डौंस्थित योजना शाखाले डिपिआर तयार गरिसकेको जानकारी गराएका थिए । सांसद र मेयर दुवैले उक्त डिपिआर उपलब्ध गराउन पनि आग्रह गरेका थिए । सांसद राईले पनि बजेट बिनियोजन भएका योजनाहरुलाई पुरा गर्न ढिलासुस्ती नगरी तीब्र गतिमा अघि बढाउन निर्देशन दिएको उनले जानकारी दिए । सडक डिभिजनपछि भवन तथा शहरी विकास विभागका डिई श्यामकिसोर सिंहसँग उक्त टोलीले भेटवार्ता गरेको थियो । ‘विभागको बजेटबाट पुरानो बजारको बाटो विस्तार भइरहेको छ, त्यसलाई निरन्तर बढाउदै भानुचोकसम्म लैजाने, नयाँ बजार र पुरानो बजारबीच सहायक सम्पर्क सडकलाई पनि आगामी बर्षमा निर्माण गर्नेलगायत बिषयमा सकरात्मक कुराकानी भयो,’ श्रेष्ठले जानकारी दिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे