धरानमा जनप्रतिनिधिहरुद्धारा पदभार ग्रहण, सुकुम्बासीको घर नम्बरीङ्ग र धनीपुर्जा दिलाउने निर्णय

धरान,साउन २ । दुई दशकपछि जननिर्वाचित मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी सुवेदीसहित वडाअध्यक्षहरुले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरिसकेपछि बसेको नगर कार्यपालिकाको पहिलो बैठकले मतदाता, अनुगमनकर्ता तथा मानवअधिकारकर्मीहरुलाई धन्यवादसहितको विभिन्न ५ बुँदे निर्णय गरेको छ ।
मेयर सुब्बाको कार्यकक्षमा भएको वैठकले अव्यवस्थित बस्ती(सुकुम्बासी)हरुलाई व्यवस्थित गर्न घर नम्बरीङ्ग गर्न र जग्गा धनीपुर्जा प्राप्तीको लागि आवश्यक कानुनी प्रकृया अगाडि बढाउने महत्वपुर्ण निर्णय गरेको छ । यसको लागि एक महिनाभित्र समिति गठन गरेर काम अघि बढाउने वैठकबाट निर्णय भएको छ । धरानको समस्याहरुमध्ये ऐलनी पर्ति जग्गा र खोला किनारमा बसोबास रहेको अव्यवस्थित(सुकुम्बासी) बस्तीको व्यावस्थापन स्थानीय तह निर्वाचनको बेला दलहरुको प्रमुख एजेण्डा बनेको थियो । मेयरका उम्मेदवारहरुले सुकुम्बासी मतदाताहरुसँग लालपुर्जा वितरणको प्रतिवद्धता जनाएका थिए । सोही चुनावी प्रतिवद्धतालाई मुर्तरुप दिन मेयर सुब्बाको अध्यक्षतामा बसेको पहिलो बैठकले घर नम्बरीङ्ग गर्न र धनीपुर्जा वितरणको कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘सुकुम्बासीहरुको समस्यालाई सम्बोधन गर्नकोलागि नै घर नम्बरीङ्ग र लालपुर्जा दिलाउन कानुनी प्रक्रिया अघि बढाउने महत्वपुर्ण निर्णय भएको छ,’ मेयर सुब्बाले भने,‘सुकुम्बासी समस्यालाई सहीरुपमा व्यवस्थापन गर्न हामी गम्भीर छौं ।’
सोही वैठकले धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा विकास आयोजनाअन्र्तगत उपमहानगरलाई प्राप्त हुने जग्गामा नयाँ बसपार्क निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । साथै, असन्तुष्ट पक्षको गुनासाहरुको यथोचित र न्यायोचितरुपमा सम्बोधन गर्ने पनि वैठकले निर्णय गरेको छ । त्यहाँ विगत डेढ दशकदेखि जग्गा विकास कार्यक्रमसँगै बसपार्क निर्माणको योजना भएपनि केही असन्तुष्ट स्थानीय जग्गाधनीको विरोधको कारण आयोजना अवरुद्ध छ । उपमहानगरमा निर्वाचित जनप्रतिनिधि आएकाले उक्त आयोजनासँगै बसपार्क निर्माणको कार्यले गति लिनेमा स्थानीयहरु आशावादी छन् ।
यस्तै, धरानको पर्यटन विकास गुरुयोजना पुनरावलोकन गरी पर्यटन विकासको कार्य अघि बढाउने पनि पहिलो वैठकले निर्णय गरेको छ । धरानलाई प्रदेश नं १ कै पर्यटन हब बनाउन यसअघिको गुरुयोजनालाई पुनरावलोकन गर्ने र थप विकासका योजनाहरु अघि बढाउने वैठकले निर्णय गरेको प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । सोही वैठकले उपमहानगरको मर्मत कोषमा १ करोड राख्ने र सडक, कल्भर्टलगायत जीर्ण पुर्वाधारहरुको प्राथमिकताको आधारमा मर्मत गर्दै जाने निर्णय पनि गरेको छ । ‘बीपी प्रतिष्ठानअघिको सडकमा जहीत्यही खाल्डाखुल्डी छन्, त्यहाँ तुरुन्त मर्मत गरिन्छ,’ मेयर सुब्बाले भने,‘बीपी प्रतिष्ठान जाने मुख्य धनकुटे रोडमा भत्केको पुल निर्माण ढिलाई भएकोछ, त्यहाँको ठेकेदारलाई तत्काल बोलाएर किन ढिलाई भयो भनेर बुझछु ।’

 







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे