धरानको वडा १२ मा एमालेको प्यानल विजयी

धरान,असार २३ । मतगणना जारी रहेको धरान उपमहानगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । शुक्रबार मध्याह्न(साढे १२ बजे) निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार वडा १२ मा एमालेका टंकबहादुर राईले ७ सय ९३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका भोजकुमार न्यौपानेले ५ सय ३ मत मात्र पाए ।
विजयी राईको प्यानलबाट महिला सदस्यमा चुन्नु थापा(८०६ मत), दलित महिला सदस्यमा शान्तीकुमारी त्रिखत्री(७४८ मत) र सदस्यद्धयमा बिनिता बज्रचार्य(७१७ मत) र ब्रहमज्ञ भटराई(७१३ मत) विजयी भएका छन् । धरानको २० वटा वडाहरुमध्ये हालसम्म ९ वटा वडाको मात्र मतगणनाको नतिजा सार्वजनिक भएको छ । ती वडामध्ये ६ वटामा एमाले र ३ वटामा कांग्रेसको प्यानल विजयी भएको छ भने नेकपा माओवादी केन्द्रले एउटा पनि वडामा जित पाउन सकेको छैन । एमालेले वडा ३, ४, ६, ७, ८ र १२ मा प्यानल जितेको छ भने कांग्रेसले वडा १, २ र ५ मा प्यानल जितेको छ ।
धरानमा वडा नं १ देखि ८ सम्मको मतगणना भइसकेको छ । वडा ९ र १० को पनि गणना कार्य सकिएपनि परिणाम घोषणा अघि विवाद भएपछि परिणाम सार्वजनिक गरिएको छैन । वडा ८ सम्मको परिणामअनुसार वडा १, २ र ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने वडा ३, ४, ६, ७ र ८ मा एमालेको प्यानल विजयी भएको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् भने दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार छ ।

मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

मतगणना सकिएको ९ वडा र हाल गणना जारी रहेको वडा ११, १३ र १४को प्रारम्भिक नतिजासमेत जोड्दा एमालेको मेयर र उपमेयर पदमा अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवार तारा सुब्बाले ८ हजार ७ सय ७२ र उपमेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ३ सय ४५ मत पाएकी छिन् भने कांग्रेसका मेयर पदका उम्मेदवार तिलक राईले ७ हजार ४ सय ९४ र उपमेयरकी उम्मेदवार श्यामा रेग्मीले ७ हजार २ सय ६६ मत पाएकी छिन् । यस्तै, माओवादी केन्द्र गठबन्धनका मेयर पदका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ४ हजार २ सय ३६ र उपमेयर उम्मेदवार पारस राईले १ हजार ६ सय ६१ मात्र मत पाएका छन् ।

  वडा ९ र १० को अन्यौल

गएको सोमबार राती नै मतगणना सकिएपनि धरानको वडा नं ९ र १० को नतिजा अझैसम्म सार्वजनिक हुन सकेको छै । मतगणना पछि अनुसुची १ बाट अनुसुची २ को फारममा उम्मेदवारको मत इन्ट्री गर्नेक्रममा कर्मचारीबाट त्रुटी भएको भन्दै विवाद भएपछि वडा ९ र १० को नतिजालाई निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न नसकेको हो । सोमबार राती मतगणना सकिदासम्म वडा ९ मा एक सदस्यबाहेक वडाअध्यक्षसहित एमालेको जित भएको थियो भने वडा १० मा एमालेको प्यानल विजयी भएको थियो ।
यही बिषयमा विवाद हुदा सोमबार रातीदेखि मतगणना कार्य २ दिनसम्म रोकिएको थियो । बुधबार राती सर्वदलीय बैठकले दुवै वडाको पुर्नयोग गर्ने र त्रुटी भेटिए पुनः सर्वदलीय वैठक बसेर निर्णय गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहिबार राती पुर्नयोग गर्दा साना दलहरुको मत इन्ट्री नभएको देखिएको भन्दै कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिएको छ । एमालेले भने साना दलको मत इन्ट्रीमा मात्र छुटेको तर नतिजामा फरक नपर्ने भएकोले घोषणा गर्नुपर्ने माग गर्दै आएको छ । निर्वाचन अधिकृत कमलबहादुर थापाले सर्वदलीय बैठक बसेपछि दुवै वडाको बिषयमा निर्णय गरिने बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे