अदुवा निकासी फेरी रोकियो

धरान,असार २९ । मुख्य सिजनमा नै नेपाली अदुवा पुनः भारत निकासी ठप्प हुदा व्यापारीसँगै किसानहरु चिन्तित बनेका छन् । गएको बाह्र दिन(जुलाई १) देखि नेपाली अदुवालाई भारतीय भन्सारले निकासी हुन दिएको छैन । यति लामो समयसम्म अदुवा निकासी ठप्प हुदा पनि सरोकारवाला नेपालका सरकारी कार्यालय एवं अधिकारीहरु भने बेखबर भैm छन् ।
नेपालका अदुवा व्यापारीहरु स्वयम पनि के कारणले अदुवा निकासी रोकिएको हो भनेर अन्यौलमा छन् । कोशी पहाडी जिल्लामा उत्पादन भएका अदुवा ८० प्रतिशत अझै पनि किसानकै बारीमा छन् भने बजारमा आएको २० प्रतिशत अदुवा पनि निकासी रोकिएर टुसा पलाउन र कुहिन शूर गरिसकेको व्यापारीहरुको भनाई छ । निकासी रोकिएपछि धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा अहिले कोशी पहाडी जिल्लामा उत्पादन भएको अदुवा जाम भएर बसेको छ । ‘यहाँ १२ गाडी अदुवा जाम भएर बसेको छ । पानीले गर्दा बोरामै अदुवा कुहिन थालिसक्यो, छान्दै फल्नु परेको छ,’ अदुवा व्यापारी हरि कार्कीले भने, ‘मुख्य सिजनमा यस्तो हालत भयो, अब दुई हप्ताभित्र निकासी भएन भने सबै अदुवा खेर जान्छ ।’
व्यापारीहरुका अनुसार एक गाडीमा १५ टन अदुवा क्षमता हुन्छ । यो हिसाबले अहिले धरानको कृर्षि बजारमा मात्र १ सय ८० टन अदुवा थुप्रिएको छ । सुरक्षित ओत भएको ठाउँ नपुगेर व्यापारीहरुले खुला आकाश मुनि नै अदुवा थन्काएर राख्न बाध्य छन् । ती अदुवामा व्यापारीहरुको लाखौं रुपैया लगानी जोखिममा छ । बजारस्थलका अनुसार जेठदेखि असोज माउ अदुवाको पिक सिजन भएकोले औसतमा सय मेट्रिक टन अदुवा भारत निकासी हुनुपर्ने हो । तर, १२ दिनयता एक गाडी पनि अदुवा भारत जान सकेको छैन । नेपालमा उत्पादन भएको अदुवा नेपाली बजारमा १० प्रतिशत मात्र खपत हुने गर्छ भने ९० प्रतिशत अदुवाको बजार भारत हो । अदुवा भारत निर्यात नभए नेपाली अदुवा उत्पादक किसानहरु ठुलो नोक्सानमा पर्ने बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराई बताउँछन् । ‘भारत निकासी नहुदा व्यापारीले त किसानबाट खरीद गर्दिन भन्न पायो, तर किसानले बारीमा उब्जिएको अदुवा के गर्ने ? त्यो सबै अदुवा बारीमै कुहिएर जान्छ,’ व्यवस्थापक भटराईले भने ।
व्यावस्थापक भटराईका अनुसार भारतले १ जुलाईबाट नयाँ प्रणालीबाट बस्तु तथा सेवा कर(जि.एस.टि.) लागु गरेको भनेदेखि नै अदुवा निकासी रोकिएको हो । यसबिषयमा जानकारी गराउदै बजरस्थलले मंगलबार कृर्षि व्यावसाय प्रर्वद्धन तथा बजार विकास निर्देशनालय, हरिहर भवनमा अदुवाको हसज निर्यातको पहल गर्न आग्रह गर्दै पत्राचार गरिसकेको उनले जानकारी दिए । साथै, मन्त्रालयको सहसचिवसँग पनि समस्याबारे अवज्ञत गराए पनि समाधान हुन नसकेको उनले खुलाए । बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरीले भारत सरकारले लागु गरेको नयाँ प्रणालीअनुसार डि.जि.एफ.टि. लाइसेन्स नपाएको भन्दै भारती व्यापारीले नेपालबाट अदुवा लैजान नमानेको जानकारी आफुसम्म आइपुगेको बताए । ‘सरकारले लाइसेन्स दिएको छैन, तपाईहरुको अदुवा लिन सक्दैनौं भनेर भारतका व्यापारीहरुले भनिरेको रहेछ,’ गिरीले भने,‘वास्तविकता के भएको हो, सरकारले वा सम्बन्धित निकायले चाडो निकासको पहल गरिदिनुपर्छ ।’
भारतले बेला बेला अनेक बहानामा नेपाली कृर्षि जन्य उत्पादनलाई निकासीमा रोक लगाउने गरेको छ । केही समय अघि पनि भारतले नेपालको अदुवा गुणस्तरहिन भएको भन्दै रोक लगाउदा किसान ठुलो मारमा परेका थिए । विराटनगरस्थित क्षेत्रीय कृर्षि निर्देशनालयका प्रमुख हस्तबहादुर बिष्टले लिखित वा औपचारिकरुपमा जानकारी आएपछि कृर्षि र बाणिज्य मन्त्रालयसँग समन्वय गर्ने बताए । साथै, उनले कृर्षि मन्त्रालय र विभाग उत्पादन गर्ने क्षेत्रमा मात्र भएकोले निकासीको बिषय वाणिज्य मन्त्रालयले हेर्नुपर्ने पनि बताए । बजारस्थलका अनुसार आर्थिक बर्ष २०७२/२०७३ मा यो बजारबाट ८ हजार मेट्रिकटन अदुवाको कारोबार भएको थियो । त्यसमध्ये ९० प्रतिशत अदुवा भारततर्फ नै निकासी भएको हो । यो बर्ष १० हजार मेट्रिक टन कारोबार हुने बजारस्थलले लक्ष्य राखेकोमा अहिलेसम्म २० प्रतिशत मात्र अदुवा किसानको बारीबाट बजारमा आएको व्यवस्थापक भटराईले बताए । ‘अब चाडै नै भारतीय भन्सार खोलिएन, र निकासी सहज भएन भने बजारसम्म आएको अदुवा मात्र होइन, किसानको बारीमा भएको अदुवा सबै कुहिएर नष्ट हुन्छ, र ठुलो नोक्सानी व्यहोर्नुपर्छ,’ उनले थपे ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे