जनप्रतिनिधिहरुको शपथ ग्रहण, धरानलाई ‘विकासको मोडल’बनाउने मेयरको प्रतिवद्धता

धरान,असार २९ । धरान उपमहानगरपालिकाका नवर्निवाचित मेयर तारा सुब्बाले आफ्नो ५ बर्षे कार्यकालमा धरानलाई अन्य नगरको लागि ‘विकासको मोडल’ बनाउने बताएका छन् । नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा बुधबार प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै मेयर सुब्बाले अबको ५ बर्षभित्र धरानलाई समृद्ध शहरकोरुपमा विकास गर्ने बताए ।
 जनताले विश्वास गरेर दिएको जिम्मेवारीलाई निष्ठापुर्वक पुरा गर्ने प्रतिवद्धता जनाउदै मेयर सुब्बाले वडाअध्यक्ष र सदस्यहरुलाई पनि कानुनको परिधिमा रही कुनै कसुर नछोडि जनताको काम गर्न आग्रह गरे । ‘चुनावको क्रममा पनि हामीले प्रतिवद्धता गरेका छौं, त्यसलाई बिर्सने छैनौं । जनताले सुम्पिएको जिम्मेवारीलाई पुरा गछौं,’ मेयर सुब्बाले भने,‘पाँच बर्षभित्र धरानलाई समृद्ध नगरमा विकास गछौं, र धरानको विकासको मोडल अरुले सिक्ने गरी बनाउछौं ।’
जनतालाई जनप्रतिनिधि भएको अनुभूति दिलाउन वडा अध्यक्ष र सदस्यहरुको महत्वपुर्ण जिम्मेवारी भएको उल्लेख गर्दै सुब्बाले जनताको समस्यालाई तत्काल समाधान गर्न कुनै पनि कसुर नछोड्न आग्रह गरे । ‘जनताको काम गर्न कुनै कसुर बाँकी छोड्नुहुने छैन, समस्यालाई उचित ढंगले कानुनको परिधिभित्र रहेर समाधान गर्नुहुनेछ,’ उनले भने,‘जनताप्रति उत्तरदायी हुन्छौं, जनभावना र विश्वास विपरीत काम गर्ने छैनौं भनेर कसम खाएका छौं । तपाई हामी सबैले यो कसमलाई आत्मसात गर्दै निष्ठापुर्वक पुरा गर्नुपर्छ ।’
धरान ८ स्थित सभागृहमा आयोजित समारोहमा धरानका निर्वाचन अधिकृत कमलबहादुर थापाले मेयर सुब्बा र उपमेयर मञ्जु भण्डारी सुवेदीसहित २० जना वडाअध्यक्षलाई सपथ खुवाएका थिए भने मेयर सुब्बाले वडाका सदस्यहरुलाई शपथ खुवाएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सुनसरी क्षेत्र नं १ का सांसद कृष्णकुमार राई, अतिथिहरु मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइराला, प्रजिअ गोपाल पराजुली, एसएसपी उत्तम कार्कीलगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
..............

मतदाता सम्झेर काम गर्नुसः उपमेयर भण्डारी

धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी सुवेदीले चुनावको दिनमा झरी, बर्खा केही नभनी भोट हाल्न आएका वृद्धवृद्धा, अपांग तथा असहाय मतदाताहरुलाई सधै सम्झिएर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरिन् । अनेक कष्ठ सहेर भोट दिन आएका मतदाताहरुको विश्वासलाई कायम गर्दै धरानलाई समृद्ध र विकसित बनाउने जिम्मेवारी आफुहरुले पाएको उनको भनाई थियो । ‘झरी, बर्खा केही पनि नभनि मतदान गर्न आउनुहुने ज्येष्ठ नागरिक, अपांग, असहायहरुको आशालाई त्यसै मर्न दिनुहुदैन, उहाँहरुलाई सम्झेर काम गर्नुपर्छ,’उपमेयर भण्डारीले भनिन्,‘धरानको धेरै सम्भावनाहरु छन्, त्यसको खोजी गरेर पर्यटकीय पुर्वाधारसँगै विकासलाई अघि बढाउनुपर्छ ।’
राजनीतिक पुर्वाग्रह नराखी सबै धरानबासी एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्दै उपमेयर भण्डारीले धरानको विकासको ढोका खोल्ने वातावरण बनाउन पनि सबैलाई आग्रह गरिन् । शपथ ग्रहण कार्यक्रम भइरहेको लथालिङ्ग सभागृह हलबारे टिप्पणी गर्दै उनले भनिन्,‘यो हलले गिज्याईरहेको अनूभुति भइरहेको छ, यसको पुर्ननिर्माणसँगै समग्र धरानको विकासलाई गतिशिलता दिनुपर्ने हाम्रो जिम्मेवारी छ ।’
...........................................

खबरदारी गछांै ः मेयरका निकटतम प्रत्यासी

स्थानीय तह निर्वाचनमा धरानको मेयरमा निकटतम प्रतिस्पर्धी उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति तिलक राईले जनमतको कदर गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्दै कांग्रेसले उपमहानगरको खबरदारी गर्ने बताए । राजनैतिक सहकार्यमा जोड दिदै उनले आफुले हारेको अनूभुति नगरेको खुलाउदै जनताले सम्मानजनक मत दिएकोले जनमतको कदर गर्दै जनप्रतिनिधिहरुको खबरदारी गर्ने बताए । ‘मैले हारेको अनुभूति गरेको छैन, सम्मानजनक मतपाएको छु र जनमतको सम्मान गर्न नै म यहाँ उपस्थित छुँ,’ राईले भने,‘जनमतको कदर हुनुपर्छ, जनप्रतिनिधिहरुको खबरदारी गर्ने जिम्मा जनताले कांग्रेसलाई दिएको छ, हामी गछौं ।’
साविक गाविस पाँचकन्या र विष्णुपादुका धरानमा गाभिएर उपमहानगर भएपनि ती दुर्गम पहाडी क्षेत्रका जनताले उपमहानगरबासी भएको महसुस गर्न नपाएको उल्लेख गर्दै उनले छिटोछरितो सेवासुविधा पुर्याउन जनप्रतिनिधिहरुलाई आग्रह गरे । चुनाव ताका सबै दलले सुकुम्बासी, खानेपानी, एयरपोर्ट, बसपार्क, जलाधार संरक्षण, व्यवस्थित बजारलगायत एजेण्डा उठाएकोले नगरको समग्र विकासको लागि सहकार्य हुने अपेक्षा पनि गरे ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे