एच.ए.को लापरवाहीले सुत्केरीको ज्यान गयो,जाहेरी दर्ता नगरी प्रहरीद्धारा पीडकको बचाउ

तिनै ठाकुरले पाठेघरभित्र हात लगाएर जर्बजस्ती साल निकाल्दा सुत्केरी माझीको मृत्यु भएको हो । पीडितले कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि घटनाको २ दिन बित्दासमेत प्रहरीले जाहेरी दर्ता नगरी पीडक ठाकुरको बचाउ गरिरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय चक्रघटीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि मृतकका पति भीमलाल माझी र आफन्तजन बिहिबार सदरमुकाम इनरुवास्थित जिल्ला प्रहरी कार्यालय गएका थिए । तर, त्यहाँ पनि जाहेरी लिन नमानेपछि पीडित परिवार निराश भई घर फर्किएका छन् ।

नवजात शिशुको अवस्था सामान्य छ । तर, आमाको मृत्यु भएपछि नवजात शिशुको स्याहारमा समस्या भएको पीडित परिवारजनले बताएका छन् । मृतकको ७ बर्षीय छोरा पनि छन् । मृतकको शव बुधबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम भएपछि परिवारजनले राती नै कोशीमा अन्त्येष्टी गरिसकेका छन् । मृतकको क्रियापुत्री(कोरामा) उनका ससुरा कन्तलाल माझी बसेका छन् । अब उनीहरु अकालमा ज्यान लिने ठाकुरलाई कारबाही भएको हेर्न चाहन्छन् । तर, विपन्न र साधारण जनताले न्याय पाउन कठिन भएको भन्दै पीडित परिवार निराश छन् । ‘ज्यान मारेर ढुक्कले घरमा बसिरहेको छ, त्यो मान्छेलाई कारबाही होस्, मलाई क्षतिपुर्ति पनि चाहिएन,’ नवजात शिशु च्यापेका भिमलालले भने,‘तर, गरिब निमुखालाई न्याय पाउन गाह्रो रहेछ ।’
चक्रघटीका प्रहरी निरीक्षक गंगा पौडेलले पीडक एवं मेडिकल सञ्चालक ठाकुरको बचाउ गर्दै २०५९ सालमा नै नेपाल हेल्थ प्रोफेस्नल काउन्सिलमा दर्ता भएकोले कारबाही गर्ने आधार नभेटिएको बताए । ‘काउन्सिलमा दर्ता भएको एचए रहेछन्, कुन कानुनअनुसार कारबाही गर्ने भन्ने नै भएन,’ प्रहरी निरीक्षक पौडेलले भने,‘उसले त हस्पीटल लैजाउ भनेको थिए भन्छ, घरपरिवारले सिरियस भएपछि मलाई फसाउन यस्तो गरेको भन्छ ।’ कुटपिट हुनसक्ने भएकोले ठाकुरलाई सुरक्षाको लागि ल्याएर पछि छोडिएको पनि उनले बताए । शंकाको भरमा किटानी जाहेरी दर्ता नगरेको प्रष्टीकरण दिदै पौडेलले विज्ञहरुले गल्ती गरेको प्रमाणित भए कतव्य मुद्दा चलाउने पनि बताए । ‘किटानी जोहरी दर्ता गर्न मानेनौं, शंकाको भरमा कसैलाई फसाउन सक्दैनौं । अनुसन्धान गरिपाउ भन्ने अर्को निवेदन परेको छ, पछि एक्स्पर्टहरुबाट गल्ती हो भन्ने आयो भने कर्तव्य ज्यान मुद्दा चल्छ,’ प्रहरी निरीक्षक पौडेलले भने ।
Comments
Post a Comment