धरानमा अझै शुरु भएन (विवाद हुनुको कारणसहित)


धरान, असार २१ । सोमबार मध्यरातीदेखि रोकिएको धरान उपमहानगरपालिकाको मतगणना अझै शुरु हुन सकेको छैन । नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम गठबन्धनको दबाबको कारण रोकिएको मतगणना सुचारु गर्नेबारेमा दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।
दिनभर सहमतिको प्रयास विफल भएपछि निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ मात्र सुचना टाँस गरी गणना स्थगित गर्न दबाब परेकोले अर्को सुचना नआएसम्मलाई मतगणना स्थगित गरेको जनाएको छ । सुनसरीको मुख्य जिल्ला निर्वाचन कार्यालयले मतगणनालाई सुचारु गर्न निर्देशन दिइसके पनि धरानस्थित निर्वाचन कार्यालयले भने दलहरुको सहमति चाहिरहेकोले सुचारु हुन सकेको छैन ।
सोमबार राती वडा ९ र १० को मतगणना सकेर नतिजा घोषणा गर्नुअघि वडा ९ को दोस्रो अनुसुची फारममा कर्मचारीले मत भर्ने क्रममा उपमेयरमा एउटा दलको भोट अर्के दलमा राखेको सार्वजनिक भएपछि विवाद शुरु भएको थियो । मतगणना र गणनास्थलको पहिलो अनुसुचीमा कुनै समस्या नभएपनि त्यही त्रुटीलाई लिएर माओवादी केन्द्र, समाजवादी फोरम गठबन्धनले मतगणनालाई स्थगित गराएको हो । मंगलबार दिनभर दलहरुबीच पटक पटक बैठक बसेपनि गणना सुचारु गर्नेबारे सहमति हुन सकेन । मुख्य निर्वाचन अधिकृत, सिडिओ र जिल्लाको एसपी आएर बैठक बसेपनि समस्याको निकास निस्केन । मंगलबार दिउँसो माओवादी केन्द्रका कार्यकर्ताहरुले मतगणनास्थल सभागृहको मुख्य गेटबाहिर नाराबाजी र प्रर्दशन गरेका थिए ।
माओवादी केन्द्र, समाजवादी फोरमलगयात गठबन्धनले गणना सकिएको वडा १ देखि ८ को पुनमतगणना गर्नुपर्ने, घोषणा हुन बाँकी ९ र १० को पनि पुनगणता र  गणना भइरहेको वडा ११ को पनि शुरुदेखि गणना गर्नुपर्ने माग गरेको छ । एमालेले भने मंगलबार राती पत्रकार सम्मेलन गर्दै गणना सकिएको वडा ९ र १० को घोषणा सार्वजनिक गरेर अन्य बाँकी वडाको गणना सुचारु गर्नुपर्ने धारणा अघि सारेको छ । एमाले नेता मुरारी सुवेदीले वडा नं ९ र १० को मतगणनामा कुनै समस्या नभएको तर वडा ९ को दोस्रो अनुसुची फारम भर्ने क्रममा मात्र कर्मचारीबाट गल्ती भएकोले त्यसलाई पुर्नयोग गरेर नतिजा सार्वजनिक गर्नुपर्ने बताए । ‘गणनामा गल्ती भएको छैन, मात्र दोस्रो फारममा इन्ट्री गर्नेक्रममा मानवीय हो वा प्राविधिक, सामान्य त्रुटी भएको देखिन्छ । त्यसलाई नयाँ इन्ट्री गरेर वा पुर्नयोग गरेर परिणाम सार्वजनिक गरिनुपर्छ,’ नेता सुवेदीले भने,‘अन्य पार्टी निर्वाचनको अहिलेसम्मको प्रक्रिया रोक्ने र सबै असफल बनाउन खोजिरहेको छ, एमालेलाई यो कुरा मान्य छैन ।’
कांग्रेसले भने एमाले र माओवादी गठबन्धनसँग छुट्टाछुट्टै बैठक बसेर सहमतिको प्रयास गरिरहेको छ । कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले एमाले र गठबन्धनसँग छुट्टा छुट्टै बैठक बसेको जानकारी दिए । गठबन्धनसँगको वैठकमा ९ को मतगणना पुनः गर्ने र वडा ११ को गणना शुरुदेखि गर्ने सहमति भएको उनले बताए । ‘१० को मतपरिणाम ट्याली गरेर घोषणा गर्ने, १ देखि ८ को नतिजाका रेडर्क अनौपचारिकरुपमा हेरेर त्रुटी भेटे अदालत जाने सहमति गठबन्धनसँग भएको छ,’– तामाङले भने । वडा ९ का पुनःमतगणना गर्ने बिषयमा भने एमाले सहमत नभएकोले लचिलो हुन आग्रह गरिएको उनले खुलाए ।

मतगणना विवादको मुख्य कारण 

सोमबार बिहानसम्म वडा ८ को मतगणना सम्पन्न भएर दिनभर वडा ९, १० र ११ को मतगणना भइरहेको थियो । साँझ वडा १० र ११ को मतगणना भइरहेको दुई ठाउँको गणक समुहबाट विवादको बिजारोपण भयो । गणनाको क्रममा रेजा(धर्का)लगाएको मतलाई रुजु गर्ने क्रममा वडा १० र वडा ११ को दुई गणक कर्मचारीको मत र दलका प्रतिनिधिबीचको मतमा अन्तर देखियो । माओवादी केन्द्रको आपत्तिपछि तत्काल दुवै गणक कर्मचारीलाई हटाइए पछि विवाद साम्य भयो र गणना पुनः सुचारु भयो । तर, शुरुवाती २ दिनसम्म मेयर, उपमेयरमा लिड गरिरहेको कांग्रेस तेस्रो दिनदेखि एमालेसँग पछि परेको बेलामा यो घटनाले तुष जन्मायो । निर्वाचनअघि पहिलो हुने दाबी गरेको माओवादी केन्द्र शुरुवातदेखि नै तेस्रो स्थानमा खुम्चिएको थियो । यो घटनाले माओवादीको आक्रोश झनै बढायो ।
राती करिब ९ बजेतिर वडा ९ को गणकको अनुसुची १ फारमबाट उम्मेदवारको चुनाव चिह्न मात्र भएको अनुसुची २ को फारममा मत इन्ट्री गर्दा कर्मचारीबाट त्रुटी भयो । मसाल(संघीय समाजवादी फोरम) को मत अर्को कोठामा हालिएको कुरा चुहिए पछि माओवादी केन्द्र र समाजवादी फोरम आक्रोशित बन्यो । सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार अनुसुची २ को फारम भर्ने कर्मचारीले उम्मेदवार नै नभएको माओवादी केन्द्रलाई आएको मतलाई नेकपा मालेको हसिया र तारा चिह्नमा हथौडा र गोलाकार पनि थपेर इन्ट्री गरिदिएका थिए भने चुनाव चिह्न मसालको मतलाई अर्को कोठामा राखेका थिए । तर, त्यो अनुसुचीको फारम अन्तिम थिएन । गणनामा पनि कुनै गल्ती थिएन । ‘गणकको अनुसुचि फारममा मतको गल्ती भएको होइन, अनुसुचि २ को फारममा इन्ट्री गर्नेले मात्र गल्ती गरेको थियो । त्यो नै अन्तिम नतिजा होइन । मैले थाह पाइसकेको थिए, र त्यसलाई सच्याउन सकिन्थ्यो, तर मौका नै पाइएन,’ उनले भने ।
माओवादी, समाजवादी फोरम र कांग्रेसका नेताहरुले भने एउटा दल(एमाले)प्रति झुकाव भएको गणक कर्मचारीहरु धेरै राखिएकोले समस्या निम्तिएको आरोप छ । ‘एउटा दलप्रति झुकाव भएको गणक धेरै छन्, त्यसले समस्या भएको हो । गणकलाई पनि कसरी गणना गर्ने भन्नेबारे अभिमुखीकरण नै नगरी राखेकोले पनि यस्तो भएको हो,’ समाजवादी फोरमका जिल्ला सदस्य ताजुब लिम्बूले भने । त्यसो त सोमबार बिहानै पनि मतगणना कार्यप्रति असन्तुष्टी जनाउदै कांग्रेसले प्रतिनिधि नपठाएपछि झण्डै ४ घण्टाभन्दा धेरै समय मतगणना कार्य रोकिएको थियो । छिटो मतगणना सक्ने भन्दै आयोगले धेरै स्थानमा गणक समुह बनाएर गणना कार्यलाई अव्यवस्थित बनाएको कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले आरोप लगाए ।
एमालेले भने आफुले चाहेजस्तो परिणाम नआएकोले भरतपुरमा भैm निर्वाचन प्रक्रियालाई नै विथोल्न षडयन्त्र भएको जनाएको छ । एमाले नेता सुवेदीले सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा ५० मत एमालेको उम्मेदवारलाई जोडेको भन्ने भ्रम फैलिएको भन्दै उनले एउटा कर्मचारीले चाहदैमा कुनै दलले चुनाव जित्न नसक्ने पनि बताए । ‘खासमा मतको समस्या समाजवादी फोरम पार्टीको थियो, तर यसलाई राजनैतिक इस्यु भने माओवादीले बनायो । वार्ड १ देखि ८ सम्म आफ्नो पक्षमा परिणाम नआएपछि ती दलको हतास मानसिकता हो यो,’ उनले थपे ।
धरानमा वडा नं १ देखि ८ सम्मको मतगणना भइसकेको छ । वडा ९ र १० को पनि गणना कार्य सकिएपनि परिणाम घोषणा अघि विवाद भएपछि परिणाम सार्वजनिक गरिएको छैन । वडा ८ सम्मको परिणामअनुसार वडा १, २ र ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने वडा ३, ४, ६, ७ र ८ मा एमालेको प्यानल विजयी भएको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् भने दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे