धरानमा मेयर, उपमेयरमा एमालेलाई फराकिलो जित,वडामा पनि वर्चश्व(फोटोफिचर)
धरान,असार २६ । स्थानीय तह निर्वाचनअन्र्तगत प्रदेश नं १ को धरान उपमहानगरपालिकामा मेयर र उपमेयरसहित अधिकतर वडामा नेकपा एमाले विजयी भएको छ ।
सोमबार राती सम्पन्न मतगणना अनुसार मेयरमा एमालेका उम्मेदवार तारा सुब्बाले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार ८ सय ७३ मतअन्तरले हराउदै विजयी भए भने उपमेयरमा मञ्जु भण्डारी सुवेदीले कांग्रेसकी उम्मेदवार श्यामा रेग्मीलाई ६ हजार ३ सय ३९ मतअन्तरले परातिज गर्दै विजयी भइन् । मेयर पदमा विजेता सुब्बाले कुल २० हजार ९ सय ७५ मत पाए भने कांग्रेसका पराजित उम्मेदवार राईले १६ हजार १ सय २ मत पाए । यसैगरि, उपमेयरमा विजयी भण्डारीले २१ ह्जार २ सय ५६ मत पाइन् भने पराजित कांग्रेसकी रेग्मीले १४ हजार ९ सय १७ पाइन् । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० र माओवादी समाजवादी गठबन्धनका उम्मेदवार पारस राईले ५ हजार १ सय ८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघिको २०४९ र २०५४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जित पाएको एमालेको लागि यो चुनाव प्रतिष्ठाको बिषय थियो । मतगणनाको अन्तिम नतिजा आउदा एमालेले धरानको २० वडा मध्ये १४ वडासहित मेयर र उपमेयरमा जितेर विरासत जोगाउन सफल भयो । एमालेले धरानको ३, ४, ६, ७, ८, १०, ११, १२, १३, १५, १६, १९ र २० वडामा प्यानलै जित्यो भने वडा ९ मा एक जना सदस्य मात्र एक भोटले हार्यो । त्यहाँ एक जना कांग्रेस सदस्य विजयी भए । यस्तै, कांग्रेसले १, २, ५ र १४ मा प्यानल जितेको छ भने वडा १८ मा एक जना सदस्यबाहेक सबै पदमा जित्यो । त्यहाँ एमालेले एक जना सदस्य जितेको छ । माओवादी केन्द्रले भने वडा १७ मा मात्र जित हासिल गर्न सक्यो । त्यहाँ वडाअध्यक्षसहित माओवादीको प्यानल विजयी भयो ।
पहिलो संविधानसभा निर्वाचनबाहेक प्रजातन्त्रपछिको सबै चुनावमा एमालेले जित्दै आएको क्षेत्र हो, धरान । त्यसैले धरानलाई एमालेको गढ पनि भनिन्छ । २०४८ सालको आम निर्वाचनमा एमालेबाट मनमोहन अधिकारी, २०५१ को निर्वाचनमा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्मा विजयी भएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका किरण राईले जिते पनि २०७० को दोस्रो संविधानसभा चुनावमा भने एमालेका कृष्णकुमार राईले विजयी झण्डा फहराए ।

.................................................................
‘मेयरको सपना थिएन’
‘मेयर हुन्छु भन्ने थिएन, जनताको लागि काम गर्छु भनेर पार्टीमा लागेको थिएँ,’ जित सुनिश्चित भइसकेपछि सोमबार दिउँसो सुब्बाले नागरिकसँग भने,‘पार्टी, संगठनमा काम गर्दै जादा परिस्थिति आइपर्यो, र उम्मेदवार बने ।’ पार्टी र जनतामाझ सरल, प्रतिवद्ध र स्वाभिमानी नेताकारुपमा परिचित छन्, मेयरका विजेता सुब्बा । सोमबार मेयरमा जित सुनिश्चित भइसक्दा पनि उनले त्यही सरल स्वभाव प्रर्दशन गरे । ‘जनताले विश्वास गरेर विजयी गराए, यो मेरो र पार्टीको मात्र होइ सम्पुर्ण धराने जनताको जित हो,’ सुब्बाले थपे,‘एमालेप्रति जनताको विश्वास थियो, छ र भविष्यमा पनि रहीरहने छ । पाँच बर्षे अवधि स्वर्णिम काल बनाउने गरी काम गर्छु ।’५१ बर्षअघि तेह्रथुममा जन्मिएका सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । तेह्र बर्षको उमेरमा झापाको गोलधापमा अध्ययन गर्न झरेको बेला नै उनी पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन लागेका थिए । २०३७ सालमा धरान आएका सुब्बा यहीको स्थायी बासिन्दा मात्र भएनन्, कम्युनिष्ट राजनीतिमा सक्रिय हुदै अहिले स्थानीय तह सरकारको प्रमुख हुन सफल भए ।
सुब्बा २०४६ मा प्रजातन्त्र प्राप्तीको लागि र २०६२/२०६३ को जनआन्दोलनमा पनि नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । २०४० सालमै अनेरास्वयवियु नगर कमिटि सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गरे । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघ भनिन्थ्यो । संघको नगर कमिटि पछि जिल्ला कमिटि संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बने । २०४८ सालदेखि एमालेको धरान नगर कमिटि सदस्य बनेका उनी त्यसयता निरन्तर नगर कमिटिमा बिशेष पदीय जिम्मेवारीमा थिए ।
२०६२÷०६३ को जनआन्दोलनपछि उहाँले सचिवको कार्यकारी पद सम्हालेका सुब्बा पार्टीमा नगर सदस्य हुदै उपसचिव, कार्यवाहक सचिव, सचिव हुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि अहिले तेस्रो पटक अध्यक्ष बने । २०५१ सालमा नेकपा एमालेले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाउदा सुब्बाले खेलकुद विकास समिति सुनसरीमा कार्यकारी पद सचिवमा नियुक्ती पाएका थिए भने २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्य जितेर जिविस सुनसरीमा इलाका नम्ब २ बाट सदस्य पनि चुनिए । आफुले केही पाउन लागि आफुले राजनीति नगरेको उनी बताउछन् । ‘मैले केही पाउन होइन, देश र जनतको पक्षमा काम गर्न गरेको हुँ, त्यसैले मलाई कुनै लोभलालच छैन,’ उनले भने ।
..................................
विद्यार्थी राजनीतिबाट उपमेयरसम्म
मावि पढ्दै गर्दा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा छिरेकी ३५ बर्षीय मञ्जु भण्डारी सुवेदी युवा उमेरमै धरान उपमहागनरपालिकाको उपमेयर पदमा पुगेकी छिन् । राजनीतिसँगै उनी महिला अधिकारको क्षेत्रमा पनि जिल्लामा परिचित नाम हो । ‘जनताले विश्वास गरेर जिम्मेवारीपुर्ण स्थानमा पुर्याएको छ, जनताको चाहना प्रतिनिधित्व हुने गरी काम गर्नेछु,’ जितपछि उपमेयर भण्डारीले भनिन्,‘जनताको मत भाँचिने छैन, धरानको समृद्धिको लागि प्रतिवद्ध हुन्छौं ।’उपमेयर भण्डारी अखिलको मावि कमिटिबाट क्षेत्रीय कमिटि, जिल्ला कमिटि कोषाध्यक्ष, सचिव हुदै कोशी अञ्चल कमिटि अध्यक्ष पनि भइन् । उनी २ कार्यकाल अखिलको केन्द्रीय सदस्य पनि भइन् । दुई कार्यकाल एमाले सुनसरी जिल्ला कमिटि सदस्य रहेकी भण्डारी अनेम संघको जिल्ला कार्यालय सचिव तथ प्रचार विभाग प्रमुख पनि हुन् । उनी महिला सञ्जाल धरानकी सहसचिव पनि हुन् ।
Comments
Post a Comment