धराप थापे जस्तै कोशी राजमार्ग(फोटोफिचर)
धरान,साउन ८ । जताततै खाल्डा खुल्डीले त्यसै पनि सडक धराप थापे जस्तै छ । सडक मर्मत गर्नुपर्ने निकाय सडक डिभिजन कार्यालय विराटनगरले भने त्यही सडकमा गिट्टी थुपारेर हराएको महिना बित्न लाग्यो । मोटरसाइकल, टेम्पो, सपारी होस वा बस र ट्रक । यो सडकखण्डमा होस गरेर सवारी नचलाए दुर्घटनाको शिकार भइहाल्नुपर्छ ।
विडम्बना कस्तो छ भने जति नै होस गरेर चलाउदा पनि दिनमा २, ३ वटा मोटरसाइकल लडि हाल्छ । सडकको यो दुरावस्था कोशी राजमार्गअन्र्तगत धरानको बरगाछीदेखि पुरानो ट्राफिक कार्यालयसम्मको हो । झण्डै एक किलोमिटर यो सडकखण्डमा सवारी चलाउन निक्कै हम्मे पर्छ । त्यसो त तीनकुनेदेखि भेडेटारसम्मको सडकखण्ड ठाउँ ठाउँमा भत्किएर जोखिम छ । ‘२, ३ वटा मोटरसाइकल नलडेको त दिनै छैन, बाइक आफ्नै रफ्तारमा गुडिरेको बेला अचानक खाल्डा, खुल्डी देखेपछि ब्रेक लगाउदा लडिहाल्छ,’ बरगाछीमा इटा,ढुंगा व्यावसायी एवं दुर्घटनाका प्रत्यक्षदर्शी घनश्याम श्रेष्ठले भने,‘यो सडकको अवस्था कहिल्यै सुध्रिएन ।’

धरानका टेम्पो चालक अमिर तामाङ बर्खाको समयमा पानी भरिएर खाल्डो नदेखिने हुदा धेरै दुर्घटना हुने बताउँछन् । ‘गाडीको चक्काले एक छेउमा थुपारेको गिट्टी पनि सडकभरि छ, त्यसले झनै दुर्घटनाको खतरा भयो,’ चालक तामाङ भन्छन्,‘खाल्डो कटाउदै चलाउदा अर्कोतिर साइड चेपिन्छ र अर्कै गाडीसँग ठोकिने डर पनि हुन्छ । यो सडकमा गाडी चलाउन एकदमै गाह्रो छ ।’ धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ डिभिजन कार्यालयले ठेक्का लगाइसकेको कारण उपमहानगरले त्यहाँ काम गर्न नमिल्ने बताए । ठेक्का रद्द गरेपछि मात्र उपमहानगरले लगानी गर्नसक्ने उनको भनाइ थियो ।

वडाअध्यक्षहरुको डेलिगेशन
सडक तत्काल मर्मत गर्न माग गर्दै कोशी राजमार्गले छोएका धरान उपमहानगरभित्रका वडाका अध्यक्षहरु आइतबार सडक डिभिजन कार्यालय विराटनगर डेलिगेशनमा गएका थिए । कोशी राजमार्ग भएको वडा १, २, ४, ७,८, १२ र १३ का अध्यक्षहरु संयुक्तरुपमा डेलिगेशन गएपनि प्रमुख डि.ई.जितेन्द्र चौधरीलाई भने भेट्न सकेनन् । डिई चौधरी एक महिनाको लागि तालिममा जापान प्रस्थान गर्न राजधानीतिर छन् ।‘बजेट हुदा हुदै पनि के कति कारणले काम भएन, र अब कहिले मर्मत हुन्छ भनेर बुझ्न अध्यक्षहरु डेलिगेशनमा जानुभएको थियो,’ अध्यक्षहरुसँगै गएका उपमहानगरपालिकाका प्राविधिक किसोर अधिकारीले भने,‘सेउती पुलदेखि भेडेटारसम्मकै कोशीराजमार्गको कुरा हो, धरानको वरगाछी र भोटेपुल त झनै खतरा छ ।’ डिभिजन कार्यालयले बजेट फ्रिज भइसकेको निरिहता प्रकट गरेपछि अध्यक्षको टोलीले क्षेत्रीय सडक निर्देशकसँग सम्पर्क गरेर त्यसबारे जानकारी गराएका थिए । क्षेत्रीय निर्देशकले तत्काल गिट्टी र इमोल्सन लगाएर खाल्डखुल्डी पुर्न निर्देशन दिएको अधिकारीले जानकारी दिए । सडकको कालोपत्रे कार्य भने अब दशैंतिहार पछि मात्र हुने सम्भावना रहेको पनि उनले सुनाए ।
Comments
Post a Comment