निर्वाचन अधिकृत र गणक फेरिएपछि मतगणना तीब्र गतिमा
धरान,असार २३ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाको निर्वाचन अधिकृत र गणक कर्मचारीहरु परिवर्तन गरेपछि मतगणना कार्यले तीब्रता पाएको छ । मतगणनको क्रममा उत्पन्न विवाद मिलाएर गणनालाई सुचारु गर्न नसकेका निर्वाचन अधिकृतसँगै धरानको गणकहरुलाई पनि निर्वाचन आयोगले परिवर्तन गरेपछि बिहिबार बिहानदेखि गणना कार्यले तीब्रता पाएको हो ।दुई दिनसम्म मतगणनालाई सुचारु गर्न नसकेपछि आयोगले निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर उनको ठाउँमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापालाई जिम्मेवारी दिएको छ भने मुख्य निर्वाचन अधिकृतको निर्देशनमा सहायक अधिकृत गणेशप्रसाद खतिवडाको स्थानमा पनि परिवर्तन गरेर जिल्ला प्रशासन कार्यालयका सुरेन्द्र भटराईलाई ल्याइएको अधिकृत थापाले जानकारी दिए । न्युन संख्यामा मात्र पुराना गणक निरन्तरता दिएर अनुभवी तथा विज्ञ गणकहरुलाई धरान ल्याइएको पनि अधिकृत थापाल खुलाए । ‘सहायक अधिकृत पनि फेरिएको छ, मतगणना सकिएको स्थानबाट अनुभवी, विज्ञ गणकहरुलाई ल्याएका छांै,’ निर्वाचन अधिकृत थापाले भने, ‘गणनालाई पनि अत्यन्तै व्यवस्थित बनाएका छौं, अब कुनै समस्या हुदैन ।’
वडा नं ९ को मतगणना सकेर अनुसुची २ मा उम्मेदवारको मत भर्ने क्रममा गणक कर्मचारीले संघीय समाजवादी फोरमको उपमेयरको मत अर्कै चुनाव चिह्नमा भरेको सार्वजनिक भएपछि विवाद शुरु भएको थियो । माओवादी केन्द्र, समाजवादी फोरम गठबन्धनले त्यसअघि पनि गणक र दलका प्रतिनिधिबीचको रेजा लगाएको मतमा अन्तर देखिए कर्मचारी हटाइएको थियो । गठबन्धनको विरोधपछि सोमबार रातीदेखि मतगणना रोकिएको थियो । विवाद मिलाएर मतगणना सुचारु गर्न नसकेको भन्दै आयोगले अधिकृत र सहायकलाई हटाएपछि बिहिबारदेखि मतगणना गर्न दलहरु सहमत भएका थिए भने निर्वाचन कार्यालयले धेरै आलोचना खेपेको गणक कर्मचारीहरु नै परिवर्तन गरेको हो । ‘ज्यादै थोरै मात्र गणकलाई निरन्तरता दिएका छांै, ३० जना जति बाहिरबाट गणकहरु ल्याएर मतगणनालाई सुचारु गरेका छांै,’ अधिकृत थापाले भने ।धरानका गणक कर्मचारीहरुले गणनाको क्रममा धेरै त्रुटी गरेको आलोचना भएपछि मतगणना सम्पन्न भइसकेको इनरुवा, दुहबी, बराह नगरपालिका, हरिनगरा गाउँपालिकालगायत स्थानीय तहका अनुभवी गणकहरु धरान ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनालाई व्यवस्थित गर्न मत लेख्न २ जना गणक खटाइएको छ भने प्mलेक्स प्रिन्ट र सेतो वोर्डमा चिह्नसहित मत टिपेर रुजु गर्ने व्यवस्था गरिएको छ । यस्तै, पार्टीको एकछापे प्यानल र क्रस(मिक्स) भोट आएको मतपत्रलाई अलग अलग राखेर गणना गर्ने प्रबन्ध गरिएकोले विवाद नहुने र छिटो गणना सकिने अधिकृत थापाले बताए । ‘गणकहरु एक्स्पर्ट ल्याएर ५ टोलीले काम गरिरहेको छ, अब ३ दिनभित्र सबै वडाको गणना गरिसक्ने लक्ष्य लिएका छौं,’ उनले भने ।
............................................
वडा ९ र १० को विवाद कायमै
सर्वदलीय सहमतिअनुसार वडा नं ९ र १० को मत पुर्नयोग गर्दा राप्रपासहितको साना दल र स्वतन्त्र उम्मेदवारको मतमा फरक भेटिएको भन्दै दलहरुबीचमा फरक धारणा बनेपछि दुवै वडाका मतगणना विवाद कायम छ । पुर्नयोग गर्दा मत फरक परेको भन्दै दलहरुबीचमा मतभेद देखिएपछि दुवै वडाको नतिजा सार्वजनिक गरिएन । बिहिबार साँझ पुर्नयोग गर्दा राप्रपा र स्वतन्त्र उम्मेवारको मत इन्ट्री नगरिएको भेटिएको भन्दै दलहरुबीच विवाद हुदा शुक्रबार बिहानसम्म पनि वडा ९ र १० को बिषयमा सहमति हुन सकेको छैन ।बुधबार राती सर्वदलीय वैठकमा ती वडाको पुर्नयोग गर्दा मतमा अन्तर भेटिए सर्वदलीय वैठक बसेर निर्णय गर्ने सहमति भएको थियो । बिहिबार पुर्नयोग गर्दा फरक मत भेटिएपछि वडा ९ र १० को पुनःमतगणना गर्ने कि नगर्ने भनेर दलहरुबीचमा सहमति जुट्न सकेको छैन । बिहिबार पुर्नयोग गर्दा वडा १० मा राप्रपाको उम्मेदवारको मतमा फरक भेटिएको भन्दै नेपाली कांग्रेसले लिखितरुपमा पुनःमतगणना हुनुपर्ने माग राखेको थियो । एमालेले भने मतगणनाको नतिजामा असर नपर्ने भएकोले घोषणा गरेर जानुपर्ने अडानमा छ । राप्रपाकी मेयर उम्मेदवार तारा शाक्यले इन्ट्रीको क्रममा छुटेको मतलाई जोडिदिएर पुनःमतगणना नगर्न माग गर्दै लिखित माग गरेकी छिन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बोले कांग्रेसले पुर्नमतगणनाको माग गरेको तर एमालेसँग त्यसबिषयमा कुरा नमिलेको बताए । एमाले नेता मुरारी सुवेदीले पुर्नमतगणना गर्नुपर्ने गरि मतपरिणाममा फरक नआएकोले घोषणा गरेरै जानुपर्ने धारणा नफेरिएको बताए । वडा ९ र १० को नतिजा के गर्ने भनेर सर्वदलीय वैठक बस्न बाँकी छ ।
तीन दिनअघि सोमबार राती नै ती दुवै वडाको मतगणना सकिए पनि विवादले सार्वजनिक गरिएको थिएन । दुवै वडाको मतगणनाको नतिजाबारे अझै अन्यौल कायमै रहेको छ । एक हजार बढी मत गणना भइसकेको वडा ११ को मतलाई पुनः शुरुवातदेखि गणना थालिएको थियो । शुक्रबार बिहानसम्म धरानको वडा १ देखि ८ सम्मको मतणनाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने वडा ११, १२, १३ र १४ को मतगणना जारी छ । वडा १५, १६, १७, १८, १९ र २० को मतगणना हुन बाँकी छ । नतिजा सार्वजनिक भइसकेको वडा १, २ र ५ मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा ३, ४, ६, ७ र ८ मा एमालेको प्यानलै विजयी भएको छ ।


Comments
Post a Comment