चुनावको ह्याङओभर:‘विपन्नले चुनावमा उठ्छु भन्ने नसोचे भो’


धरान,साउन १० । दोस्रो चरण निर्वाचनअन्र्तगत धरान उपमहानगरपालिकाको नतिजा आइसकेर मेयर, उपमेयरसहित जनप्रतिनिधिहरुले पदभार ग्रहण पनि गरिसकेका छन् । असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनको ‘ह्याङ्गओभर’ बाँकी नै छ । खासगरी निर्वाचनमा उम्मेदवारहरुले गरेको चुनावी खर्चप्रति अहिले पनि चोकहरुमा हुने चिया गफको बिषय बन्ने गरेको छ ।
धरानमा तेस्रो पटक विजयी झण्डा फहराएको एमालेबाट प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारी सुवेदीले जितिन् । धरानमा उनीहरुको विजय जति चर्चाको बिषय बन्यो, त्यतिकै मात्रामा वडाका उम्मेदवारहरुको चुनावी खर्च चर्चाको बिषय बन्यो । अझै पनि चिया गफ वा जमघटहरुमा चुनावी खर्चको चर्चा हुन्छ, र ती चर्चाको एउटै निष्कर्ष हुन्छ, ‘अब गरिब, विपन्न परिवारको व्यक्तिले निष्ठाको राजनीति गरेर चुनावमा उठ्छु भन्ने कल्पना नगरे पनि भो !’ अझै प्रदेश नं २ मा स्थानीय तह निर्वाचन हुनै बाँकी छ भने माघ भित्रमा प्रदेश र केन्द्रको चुनाव पनि संघारमा आउदैछ ।
बषौंपछि स्थानीय तहको निर्वाचन भएकोले पनि यसपाली मतदाता(जनता)लाई अत्यधिक चासो थियो । शुरुवाती चासो कस्तो उम्मेदवार उठ्लान् भन्ने थियो, तर कालान्तरमा मतदाताको मन कति खर्च गर्ने उम्मेदवार छन् भन्नेतिर मोडिएको चुनावका भुक्तभोगीहरु बताउँछन् । जसले गर्दा उम्मेदवारहरुमा मतदातालाई आकर्षित गर्न ठुलो धनराशी खर्च गर्ने होडबाजी नै चल्यो । निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारहरुले पैसा खर्चिए, जसको आधिकारिक लेखाखोजा कसैसँग छैन । ‘नहुनु पर्नेजति जम्मै भएकोछ, खर्चको त कुरै नगरौं,’ धरान १२ स्थित अमान बजारमा गफिदै विजयपुरका प्रेमप्रसाद पराजुलीले भने,‘नेताहरुमा मात्रै होइन, जनतामा पनि खराब आचरण बढेको हो कि भन्ने भान हुन्छ । चुनावको बेला एउटा उम्मेदवारको मात्र होइन, पाएजति सबैको पैसा, खर्च भ्याइदिने प्रवृत्ति देखियो, जुन ज्यादै खराब हो ।’
यसपटक वडाका अध्यक्षहरुको कम्तीमा पनि ३ लाख खर्च भएको जानकारहरु बताउँछन् । जुन खर्च जुटाउनु सामान्य परिवारको लागि सहज हुन्न । धरानको २० वडाहरुमा उम्मेदवारहरुको खर्च आचारसंहिताभन्दा बढी थियो तर सबैभन्दा बढी चर्चा वडा नं १७ र १४ को रह्यो । जानकारहरुका अनुसार वडा १७ कांग्रेस, माओवादी र एमालेका अध्यक्ष उम्मेदवारहरुले आश्चर्य लाग्ने किसिमले खर्च गरेका थिए । त्यहाँ माओवादी केन्द्रका उम्मेदवारले ५० लाखभन्दा बढी नै खर्च गरेका थिए भने कांग्रेसका उम्मेदवारले ३५ लाख हाराहारीमा सिध्याए । एमालेका उम्मेदवारको पनि १५ लाखको हाराहारीमा खर्च भएको पार्टीका स्रोतहरुले जनाएका छन् । वडा १४ मा पनि कांग्रेस उम्मेदवारले झण्डै ३५ लाख खर्चिएको जानकारहरु बताउछन् । ‘वडाअध्यक्ष उम्मेदवारको ३०÷३५ लाख खर्च भयो, यो ज्यादै खराब चिन्ताको बिषय हो,’एमाले जिल्ला नेता जयकुमार राईले भन्छन्,‘यस्तो प्रवृत्तिले योग्यता र क्षमता भएको व्यक्ति पाखा लाग्छन्, र पैसावालाहरु मात्र चुनिने अवस्था आउछ ।’ उम्मेदवारहरु स्वयम पनि चुनावमा अत्यधिक खर्च भएको स्वीकार गर्छन् । वडा १७ मा कांग्रेसबाट अध्यक्ष उठेका नारद राई भन्छन्,‘माओवादी पार्टीबाट खर्चको सिलसिला शुरु भयो, अनि, हामीले पनि फोटोकपी गर्नुपर्यो र खाल्डोमा पर्यौं ।’
............................................................................

                                       केमा भयो खर्च ?

विभिन्न पार्टीका नेताहरुले बताएअनुसार झण्डा, ब्यानर र माइकिङमा मात्र खर्च गर्ने हो भने निर्वाचन आचारसंहिताभित्रैको खर्च बजेटले पुग्छ । तर, चुनावमा त्यति खर्च गरेर मात्र हुन्न । मतदाता रिझाउन जे भन्छन्, त्यो पुरा गरिदिने प्रवृत्तिले खर्च बढेको देखिन्छ । ‘विभिन्न संघसंस्था, मतदाताहरुको समुह र झुण्ड बन्ने अनि वडाको विकासको नाममा बाटो, ड्रेन, कल्भर्ट छैन, विजुलीको पोल, तार छैन भन्दै माग गर्ने अनि उम्मेदवारले पनि टोकनकोरुपमा चुनाव अघि नै गर्दिनुपर्ने,’ कांग्रेस जिल्ला सचिव एवं धरानका निर्वाचनल परिचालन मुल समितिका संयोजक सुजेन्द्र गोले तामाङ भन्छन्,‘मतदातामा काम लिने मौका यही बेला हो भन्ने प्रवृत्ति हावि हुदै गएको देखिन्छ ।’
मतदाताको विकासे मागमा मात्र उम्मेदवारको खर्च भएन, कार्यकर्ता र शुभेच्छुक मतदाताहरुलाई टोपी, चुनाव चिह्न अंकित टि–सर्ट तयार गरेर बाड्दा पनि लाखौं खर्च भएको देखिन्छ । घरदैलोमा हिड्ने कार्यकर्ताहरुलाई खाना खुवाउदा, पेट्रेल खर्च दिदा, चिसो पिलाउदा, रिचार्ज कार्ड दिदा र साँझमा बिशेष पिउने व्यवस्थाको हिसाब गरिसाध्य छैन । उम्मेदवारहरु घरदैलोमा सयौंको संख्यामा कार्यकर्ताहरु हिडाउथे, जसले गर्दा उनीहरुको खर्च आकासिन पुग्यो । ‘मोटरसाइकललाई पेट्रोल हाल्नै पर्यो, गाडी रिजर्ब गर्नै पर्यो । भोक लाग्यो, फलानाले त पुलउ खुवाएछ भन्छन्, आफुले पनि मासु पुलउ खुवाउनै पर्यो,’अत्यधिक खर्च हुने कारणबारे वडा १७ मा पराजित उम्मेदवार नारद राई भन्छन्,‘जे जे माग भयो, पुरा गर्नैपर्यो । अरुको देखासिखी गर्दा यस्तो भएको हो ।’ एउटै मतदाता तीन पार्टी(कांग्रेस, एमाले र माओवादी)बाट फाइदा लिएको पनि चुनावअघि देखिएको नेताहरु बताउँछन् ।
..........................................................................

निष्ठाको राजनीति सकिएकै हो त ?

चाणक्यले भनेका छन् कि ‘जुन देशको जनता सित्तैमा खान खोज्छ, त्यो ठाउँमा फटाहाले राज(शासन) गर्छ ।’ चाणक्यको यो भनाई जस्तै चुनावमा राम्रो व्यक्ति होइन, हाम्रो र खर्च गर्नसक्नेलाई टिकट थमाउने प्रवृत्ति नेपाली राजनीतिमा देखिदै आएको हो । यसपाली स्थानीय तह निर्वाचनको क्रममा यो प्रवृत्ति झनै मौलाएको देखियो । यो प्रवृत्तिले चाणक्यले भने झै राम्रा र योग्य उम्मेदवार पाखा लाग्ने चिन्ता बढेको मात्र छैन, चुनावमा भएको लाखौं खर्च असुल्न भ्रष्ट मनोवृत्ति बढ्ला कि भन्ने चिन्ता राजनीतिकर्मीहरुले नै व्यक्त गरेका छन् । निष्ठापुर्वक राजनीति गर्नेहरुले चुनाव खर्च जुटाउन नसक्दा उम्मेदवार हुन नपाउने वा टिकट पाएर पनि जित्नै नसक्ने हो कि भन्ने चिन्ता छ । ‘यसपाली जुनखालको खर्च देखियो, त्यसलाई हेर्दा खर्च नहुने, विपन्न नागरिकले त उम्मेदवार हुने आशा नगरे भयो,’ कांग्रेस नेता सुजेन्द्र तामाङ भन्छन्,‘यो प्रवृत्तिलाई रोक्न अतिआवश्यक छ ।’
एमाले नेता जयकुमार राई पनि देश र जनताको सेवा गर्छु भनेर उम्मेदवार हुनेले चुनावमा भोट किन्नुपर्ने परिस्थिति बन्दा पछि भ्रष्टचार गरेर असुल गर्लान् कि भनेर गम्भीर चिन्ता प्रकट गर्छन् । ‘यो गलत चलन बस्यो, यसलाई मतदाता र पार्टी दुवैले रोक्नुपर्छ । पार्टीले पनि अलोकप्रिय मान्छे उठाउदा जित्नको लागि जनता रिझाउन खर्च गर्ने चलन बस्यो, जनताले पनि यही मौका हो भनेर फाइदा लिनु भएन । पछि आफैलाई नोक्सान हुने हो,’ उनी भन्छन्,‘जनताले पनि यस्तो कार्यलाई रोक्नुपर्छ ।’



Comments

  1. मेयर उपमेयर को पनि भए अझै राम्रो हुन्थ्यो की ..

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे