विद्यार्थीलाई बास्केटवलको प्रशिक्षण दिइने

धरान,असार २९ । बर्खे विदामा रहेका स्कुले विद्यार्थीहरुको खेल प्रतिभालाई निखार्न साथै स्वस्थ्य बनाउने उद्देश्यले धरानमा तीन साता लामो समर बास्केटवल ट्रेनिङ क्याम्प सञ्चालन गरिने भएको छ । सुनसरी जिल्ला बास्केटवल संघको आयोजनामा साउन ६ गतदेखि २७ गतेसम्म धरानमा क्याम्प सञ्चालन हुने भएको हो ।
संघले बिहिबार पत्रकार सम्मेलन गर्दै डिपोट उच्चमावि, हरियाली बास्केटवल कोर्ट र यलम्बर कोर्टमा तालिम दिइने जानकारी दिएको छ । संघका सचिव विकास चाम्लिङ राईका अनुसार कक्षा ५ माथिका जुनसुकै उमेरका विद्यार्थीहरु तालिममा सहभागी हुन पाउनेछन् । ‘बर्खे विदाले विद्यार्थीहरु फुर्सदमा छन्, त्यसैले स्वास्थ्यको लागि खेलकुद नारा दिएर यो क्याम्प गर्न लागेका हौं,’ बास्केटवलका पुर्वाञ्चल प्रशिक्षकसमेत रहेका उनले भने,‘कम्तीमा ५० जना सहभागी हुन्छन्, उनीहरुलाई २ सिफ्ट गरेर बिहान र बेलुकी प्रशिक्षण गराउछौं ।’
तालिममा विद्यार्थीहरुलाई बास्केटवल खेल्ने तरिका, नियमका साथै ड्रिब्लिङ, सुटिङलगायत ‘स्किल’हरुबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइने सचिव राईको भनाई छ । तालिम सकिएपछि एक दिन मैत्रीपुर्ण खेल गराउनुका साथै प्रमाणपत्र पनि वितरण गरिने उनले बताए । ‘धरान बास्केटवल खेल्न रुचाउने युवा र विद्यार्थीहरुको शहर हो, त्यसैले तालिम लिएपछि उनीहरु आफै खेल्न सक्ने हुनेछन्,’उनले भने । संघले यसअघि पनि एसएलसी दिएका विद्यार्थीहरुबीच ट्यालेण्ट हण्ट आयोजना गरी उत्कृष्ट १५ जना खेलाडीहरुलाई प्लस टुमा छात्रवृत्ति दिलाएको थियो । भुकम्प र यसपाली चुनावको कारण ट्यालेन्ट हण्टलाई निरन्तरता दिन नसकेको भएपनि संघले बर्षेनी २ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउको संघका अध्यक्ष नारायण सुवेदीले बताए । ‘कलेजहरुमा एकदमै चासो छ, तर ट्यालेण्ट हण्ट गर्न सकेनौं । त्यसैले विद्यालयस्तरी यो प्रशिक्षणबाट धेरै प्रतिभावान खेलाडीहरु जन्मिन सकुन् भनेर आयोजना गर्दछौं,’ अध्यक्ष सुवेदीले भने ।
संघका अनुसार यो बर्ष एम्स कलेज र डिपोट उमाविले २ जना खेलाडी विद्यार्थीलाई संघको आग्रहमा छात्रवृत्ति दिएको छ । राजधानीपछि सुनसरी(धरान)ले शुरु गरेको ट्यालेण्ट हण्ट कार्यक्रम अहिले मोरङ र इलामले पनि गरिरहेको छ । ‘विद्यालयस्तरमा नै प्रशिक्षण गराउदा सानैदेखि खेलाडीहरुमा खेलबारे धेरै ज्ञान र सिप आर्जन हुन्छ, र प्रतिभावान खेलाडी जन्मिने आशा गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । तीन साताको तालिमअवधिमा विकास चाम्लिङ मुख्य प्रशिक्षक रहनेछन् भने सहायक प्रशिक्षकहरुमा विवेक श्रेष्ठ, हेमन्त राई, युगल लिम्बू, दिपेश लिम्बू, शिव राई, रवि बासफोर, जीवन लिम्बूलगायत हुनेछन् ।

स्पोर्ट्स टिचर आवश्यक

निजी विद्यालयहरुले बार्षिक शुल्क लिदा अभिभावकहरुबाट खेलकुद शुल्क लिए पनि न्युन संख्याका विद्यालयहरुले मात्र स्पोर्टस् टिचर(खेलकुद शिक्षक) राख्ने गरेका छन् । यसले गर्दा विद्यालयस्तरमा विद्यार्थीहरुमा खेलकुदप्रति कम चासो हुने र खेल प्रतिभा प्रष्फुटन हुने मौका पनि नपाउने खेलकुदकर्मीहरुको भनाई छ । ‘हरेक विद्यालयले स्पोर्टस् फि लिएका हुन्छन्, तर थोरैले मात्र स्पोर्टस् टिचर राखेका छन्,’ संघका सचिव राईले भने,‘हरेक विद्यालयमा खेलकुद शिक्षक राख्ने व्यवस्था हुनुपर्छ, त्यसो भयो भने स्कुलबाट नै धेरै खेलाडीहरु उत्पादन हुन्छन् ।’ उनका अनुसार धरानमा पनि सयको हाराहारीमा निजी स्कुलहरु छन्, तर आधा दर्जनको संख्यामा मात्र स्कुलले स्पोट्स टिचर राखेको छ । शुल्क लिएका स्कुलहरुले अनिवार्य खेलकुद शिक्षक राख्दा राम्रो खेलाडी उत्पादन हुने साथै अग्रज खेलाडीहरुले रोजगारी पनि पाउने उनले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे