मालपोत र नापी कार्यालय घोषणामै सिमित, विना जानकारी ठाउँ खोज्नेहरु सक्रिय


धरान । दशैंअघि मन्त्रीपरिषद बैठकले मालपोत र नापी कार्यालय धरानमा खोल्ने निर्णय गरेपछि उत्साहित भएका धरानबासी यतिबेला भने निर्णय कार्यान्वयनमा ढिलाई हुदै गएकोमा चिन्तित छन् । कार्यालय धरानमा खोल्न जति ढिलाई भयो, त्यतिनै विवाद एवं मतभेद बढ्नसक्ने भन्दै निर्णय चाडो कार्यान्वयन गर्न सरकारसँग नगरबासीले आग्रह गरेका छन् ।
विकास निर्माणमा जनसहभागिताको नमुना शहर मानिएको धरानमा यसअघि आएका ठुला योजनाहरु दलीय स्वार्थ एवं मतभेदले विवादित र असफल छन् । अहिले पनि एसियाली विकास बैंकको ऋण तथा अनुदानमा शुरु भएको एकीकृत शहरी विकास आयोजनअन्र्तगतको खानेपानी परियोजना राजनीतिक दलहरुबीचको मतभेदले विवादमा छ । यसअघि बसपार्कको विकल्पसहित जेटिजेटको प्राविधिक सहयोगमा शुरु भएको तीनकुने सुन्दर वस्ती विकास आयोजना दलीय खिचातानीकै कारण असफल भएको थियो । अहिले मालपोत र नापी शाखाको कार्यालयमा कहाँ राख्ने भनेर धरानमा चासो र चर्चा बढीरहेको छ । तर, औपचारिकरुपमा भने यसको खोजी भएको भने छैन । अनौपचारिकरुपमा मंसिर १ गतेदेखि कार्यालय शुरु हुने भनिएपनि अहिलेसम्म त्यसबारे यहाँका सरकारी निकायहरुमा जानकारी आइसकेको छैन ।अहिले मालपोत र नोपी कार्यालय सदरमुकाम इनरुवामा मात्रै रहेकोले धरान, विष्णुपादुका, पाँचकन्या, हाँसपोशा गाविसतिरका जनता एक दिन माया मारेर धाउनु पर्ने बाध्यता छ ।
धेरै पहल र प्रयासपछि धरानमा आउने भनिएको मालपोत र नापी कार्यालय कुन ठाउँमा राख्ने भनेर अनौपचारिकरुपमा खोजी शुरु भइसकेकोले चाडै ठोस निर्णय र कदम नचालिए विवाद आउनसक्ने धरान १५ का नरेश इवारमको भनाई छ । यसमा राजनीतिक दल र व्यक्ति बिशेषको पनि स्वार्थ हुने भएकोले सचेत रहनुपर्ने र साझा धारणा बनाउनुपर्ने उनको सुझाव छ । ‘कार्यालय कहाँ राख्ने भनेर राजनीतिक दल, व्यक्ति बिशेषको दौडधुप शुरु भइसकेको छ । कोही यता राख्नुपर्छ भन्नेछन्, कोही उता ठिक हुन्छ भन्ने छन् । चाडै सर्वदलीय सहमति होस् भनेर कसैले नेतृत्व लिन जरुरी छ’–इवारमले भने–‘सबैलाई मिलाएर जनतालाई सुविधा हुने ठाउँमा छिटो भन्दा छिटो कार्यालय खोल्न पहल गरिनुपर्छ ।’
सुनसरी उद्योग वाणिज्य संघका वाणिज्य सचिव गिरीधारी सापकोटा कार्यालय कहाँ राख्ने भनेर राजनीतिक खिचातानी हुन नहुने धारणा राख्छन् । ‘दुई वटा सरकारी निकाय धरानमा आउदैछ, यसमा खिचातानी गर्न हुदैन, सबै मिलेर जनतालाई सहज सुविधा हुने ठाउँमा राख्नुपर्छ’–उनले भने–‘अहिले हल्लै हल्लामा कार्यालयको लागि घर खोज्ने काम भइरहेको छ, आफ्नो मात्रै सुविधा खोजेर हुदैन, समग्र धरानको विकास र जनताको सुविधालाई ध्यान दिनुपर्छ ।’ नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मालपोत र नापीको कार्यालय धरानमा शुरु गर्नेबारे सम्बन्धित निकायबाट अहिलेसम्म जानकारी नआएको बताए । त्यसबारेमा उनलाई सोध्ने र ठाउँको प्रस्ताव गर्नेहरु भने धेरै छन् । उनका अनुसार कार्यालय राख्ने उपयुक्त भन्दै धेरै ठाउँतिर प्रस्ताव आइरहेका छन् । तर, अहिलेसम्म सम्बन्धित निकायबाट आधिकारिकरुपमा कार्यालयको ठाउँ खोज्नेबारे जानकारी छैन ।
जानकारहरुका अनुसार धरान १५ स्थित पुरानो रेयुकाईको कार्यालय, धरान ४ स्थित पुरानो धरान अस्पताल, धरान ७ स्थित कर कार्यालयको भवन, भानुचौक क्षेत्र, रत्न चोकमा मालपोत र नापी कार्यालय राखिनुपर्छ भन्दै घर खोज्नेहरु सक्रिय छन् । कोही भने टेलिफोन कार्यालय, विजुली र पानीको विल काउन्टर पनि नजिक पर्ने गरि जनतालाई सहज हुने त्यसआसपासमा नै कार्यालय राखिनुपर्ने भन्दै आएका छन् । राजनीतिक दलआवद्धहरु पनि कार्यालय राख्न घर खोज्न सक्रिय रहेको भनिएपनि एमालेका नगर अध्यक्ष तारा सुब्बा भने दलहरुबीचमा औपचारिकरुपमा छलफल नभएको बताउछन् । तर, कोही १३ वडा, कोही १७ वडातिर राख्नुपर्छ भन्दै प्रतिक्रियाहरु भने आइरहेको उनले बताए । कांग्रेस नगर सभापति किसोर राई पनि कुनै विवाद नभएको उल्लेख गर्दै सम्बन्धित निकाय आएपछि तत्काल ठाउँ खोजेर सञ्चालन गर्ने र पछि दीर्घकालीन ठाउँ खोजिने बताए ।
...............

उपसचिवसहित २२ कर्मचारीको दरबन्दी

मन्त्रीपरिषद निर्णय वमोजिम धरानमा खुल्न लागेको मालपोत र नापी कार्यालयमा उप सविच प्रमुख रहने गरि २२ जना कर्मचारीको दरबन्दी रहने गरि गृहकार्य भइरहेको नापी कार्यालय सुनसरीका प्रमुख श्रवणकुमार पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार धरानसँगै अन्य २१ जिल्लामा पनि कार्यालय खोल्ने निर्णय भएको र ती सबैमा कर्मचारी मिलाउनु पर्ने भएकोले ढिलाई भएको हो ।
पोख्रेलका अनुसार धरानमा खुल्ने मालपोत र नापी कार्यालयको अधिकार र हैसियत हाल इनरुवास्थित कार्यालयको बराबर नै हुनेछ । धरानका खुल्ने कार्यालयको सम्पर्क सिधै विभागसँग हुनेछ । यहाँ कार्यालय खुलेपछि धरानसँगै विष्णुपादुका, बराहक्षेत्र र हाँसपोशा गाविसका जनता मालपोत र नापीको काम लिएर सदरमुकाम इनरुवा धाउनु पदैन । इनरुवास्थित कार्यालयमा पनि कामको चाप धेरै कम हुनेछ । ‘अब जनताले घरदैलोमा नै मालपोत र नापीको सेवा पाउछन्, यहाँ पनि ३५ प्रतिशत जनि कामको चाप घट्छ’–प्रमुख पोख्रेलले भने । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे