घण्टाघरमा चढ्न खुला
धरान । एक महिनादेखि निषेध गरिएको धरानको पर्यटकीय गन्तव्यमध्ये एक भानुचौकस्थित घण्टाघरमा चढ्न एक महिना पछि खुल्ला गरिएको छ । घण्टाघरको सबैभन्दा माथिल्लो तलालाई सुरक्षित बनाएपछि आइतबारदेखि घण्टाघर चढ्न सर्वसाधारण एवं पर्यटकहरुको लागि खुला गरिएको हो ।
घण्टाघर व्यवस्थापन समितिका अनुसार सुरक्षाको लागि घण्टाघरको सबै झ्यालहरुमा ग्रिल लगाइएको छ भने सबै भन्दा माथिल्लो तलामा फेन्सिङ र जाली लगाइएको छ । ‘कोही पनि सजिलै खस्न वा हाम्फाल्न नसकोस् भनेर सुरक्षित बनाएपछि चढ्न खुला गरिएको हो’–समितिका अध्यक्ष एवं पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले भने–‘झ्यालमा ग्रिल र माथिल्लो तलामा फेन्सिङ र जाली हालेका छौं ।’ उनका अनुसार ५२ फिट अग्लो घण्टाघरको माथिल्लो तलामा पाँच फिट पक्की वालमाथि फेन्सिङ र जाली थपिएको हो ।

घण्टाघर व्यवस्थापन समितिले आम सर्वसाधारणलाई मनोवैज्ञानिकरुपमा पनि सुरक्षित गर्न हिन्दु सँस्कार अनुसार १४ जना पण्डितहरुद्धारा स्वास्ति शान्ति जप गराएको थियो भने लिम्बू विजुवा ल्याएर स्वघा(जागित्रा मार्ने कर्म) पनि गरेको थियो । ्लिम्बू सँस्कारमा लिम्बू संस्कारमा विजुवाले स्वघा गरेर जागित्रा मारेपछि भड्केको आत्मा पनि मर्ने र दुःख नदिने विश्वास गरिन्छ । जनसहभागीतामा भानुचौकमा बनेको घण्टाघर ०६२ साल पुष २० गते उद्घाटन गरिएको थियो । घण्टाघर धरान घुम्न आउनेहरुको प्रमुख गन्तव्य हो । विवाह भएको तीन दिनमा नै गत कार्तिक २ गते हरैचा ९ की २१ बर्षीय हेमन्ती मगरको घण्टाघरको माथिल्लो तलाबाट खसरे मृत्यु भएको थियो । घटनालगत्तै घटनास्थलबाट नियन्त्रणमा लिएका व्यक्ति, मृतकका श्रीमान्को वयान र पोष्टमार्टम रिपोर्टलगायतको विश्लेषणबाट हेमन्तीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।
Comments
Post a Comment