अख्तियारले छानबिन थालेपछि वन कर्मचारीद्धारा धमाधम राजिनामा


इनरुवास्थित जिल्ला वन कार्यालय सुनसरीको कार्यालय परिसर

धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन र कारबाहीलाई तीब्र बनाएपछि पछिल्लो एक सातामा पूर्वका सात जिल्लाका वन कर्मचारीहरुले धमाधाम राजिनामा दिएका छन् । कार्तिक अन्तिम साता मात्रै सात जिल्लाबाट ९० जना वन कर्मचारीहरुले राजिनामा दिइसकेको पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ । राजिनामा दिएको जिल्लामा सुनसरी, मोरङ, सप्तरी, सिरहा, उदयपुर, झापा र इलाम छन् ।
साधारण लेखपढको आधारमा सशस्त्र वन रक्षकमा जागिर शुरु गरेका कर्मचारीहरुले बढुवा हुन फर्जी शैक्षिक प्रमाणपत्र पेश गरेकाले कारबाहीमा परिने डरले राजिनामा दिएको हुनसक्ने निर्देशनालयले जनाएको छ । तथापी, अधिकांश वन कर्मचारीहरुले राजिनामा दिनुको कारण घरायसी देखाएका छन् । ‘यो राजिनामा कार्तिक अन्तिम साता मात्रै आएको हो, नक्कली सर्टिफिकेटबारे अख्तियारमा उजुरी परेकोले छानबिन भइरहेको छ । यही कारणले पनि हुनसक्छ’–पूर्वाञ्चल क्षेत्रीय वन निर्देशक प्रकाशनाथ प्याकुरेलले भने–‘तर, सबै जसोले राजिनामा भने घरायसी कारण भनेका छन् ।’ निर्देशनालयका अनुसार राजिनामा दिनेहरुमा फरेष्टर र अधिकांश जमदार पदका कर्मचारीहरु छन् ।
सबै भन्दा धेरै उदयपुर जिल्लाबाट वन कर्मचारीहरुले राजिनामा दिएका छन् । यहाँका ६ जना फरेष्टर र १९ जना जमदारले गरि २५ जनाले राजिनामा दिएका छन् । मोरंङ जिल्लाबाट ४ फरेष्टर र ११ जना जमदार १५ जनाले राजिनामा दिएका छन् भने झापाबाट १४ जना जमदारले राजिनामा दिएका छन् । यस्तै, इलामबाट ५ फरेष्टर र ८ जमदार गरि १३ जनाले र सुनसरीबाट २ फरेष्टर र १० जना जमदार गरि १२ जना वन कर्मचारीले राजिनामा दिइसकेको निर्देशनालयले जनाएको छ । यसैगरि, सिरहाबाट ५ जना जमदार र सप्तरीबाट १ फरेष्टर र ५ जना जमदार गरि ६ जना वन कर्मचारीले कार्तिक अन्तिम साता राजिनामा दिइसकेका छन् । राजिनामा दिनेहरुमा २० बर्षे सेवा अवधि पुरा गरिसकेर पनि उमेरको आधारमा जागिर खाइरहेकाहरु पनि थिए । उमेर हदले ५८ बर्षसम्म जागिर खाने अवसर भए पनि अहिले भने उनीहरुले अचानक घरायसी कारण देखाएर राजिनामा दिएका हुन् ।


साधारण लेखपढको आधारमा सशस्त्र वन रक्षकबाट जागिर शुरु गरेकाहरुलाई कक्षा १० उतीर्ण गरेको प्रमाणपत्रको आधारमा बढुवा गरिएको थियो । जमदारमा बढुवा हुनलाई कर्मचारीहरुले टेष्ट पास गरेको प्रमाणपत्र पेश गरेका थिए । ती प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको छ । जिल्ला वन कार्यालय सुनसरी स्रोतका अनुसार अख्तियारबाट कारबाही हुनुपूर्व नै राजिनामा दिएर सरकारी सुविधा लिनको लागि कर्मचारीहरुले धमाधन राजिनामा दिएका हुन् । ‘अख्तियारबाट पत्र आएपछि कारबाहीमा परिने र सरकारी सेवा, सुविधा पनि नपाउने भएकोले अहिल्यै राजिनामा दिएर सुविधा लिनको लागि कर्मचारीहरुले राजिनामा दिएको हो’–स्रोतले भन्यो । उनका अनुसार कर्मचारीहरुले निजामति सेवा नियमावलीअनुसार संचित विदा, उपदान, पेन्सनलगायत सुविधा उपभोग गर्न पाउछन् । तर, अख्तियारबाट कारबाही परेमा ती सबैबाट उनीहरु बञ्चित हुनुपर्छ ।
जिल्ला वन कार्यालयका प्रमुख एवं जिल्ला वनअधिकृत ज्ञानेन्द्र मिश्रले केही कर्मचारीहरुले राजिनामा दिएको खुलाए पनि अख्तियारको छानबिनबारे भने कुनै जानकारी नभएको बताउछन् । कर्मचारीहरुले निजी घरायसी कारण देखाएर राजिनामा दिएको खुलाउदै उनले स्वीकृत पनि भइसकेको प्रष्ट्याए । ‘कर्मचारीहरुले निजी घरायसी कारण देखाएर राजिनामा दिएका छन्, स्वीकृत पनि भइसकेको छ’–डिएफओ मिश्रले भने–‘तर, अख्तियारबारे मलाई केही जानकारी छैन, हल्लै मात्र सुनेको हुँ ।’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले भने नक्कली शैक्षिक प्रमाणपत्रबारे उजुरी परेको र छानबिनको प्रक्रियामा रहेको बताए । राजिनामा दिन थालेको जानकारी आएपनि उजुरी पछि राजिनामा दिएको भएपनि भ्रष्टचार मुद्दामा कारबाही चलाउने सापकोटाले बताए । ‘उजुरी आउनु अघि नै राजिनामा दिएको हो भने केही छैन, तर उजुरी परेपछि राजिनामा दिएको हो भने भ्रष्टचार मुद्दा पर्छ’–सापकोटाले भने–‘उजुरी धेरै आएका छन्, छानबिनको प्रक्रियामा नै छौं ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे