जागिर लगाई दिने भन्दै महिलाबाट पैसा असुल्ने पक्राउ

जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गरेको अभियोगमा पक्राउ परेका भण्डारी ।
धरान । विभिन्न संस्थान एवं कार्यालयमा आर्कषक जागिर लगाइदिने भन्दै रकम असुल गरेर गठी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पीडित महिलाहरुले उजुरी दिएपछि धरान १५ का खेम भण्डारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
भण्डारीले जागिर लगाउने भनेर गठी गरेको भन्दै धरान १५ कै देविका केसी, सविता कार्की र शान्तिकुमारी कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी दिएलगत्तै प्रहरीले भण्डारीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । पीडितहरुका अनुसार भण्डारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर खुलेको भन्दै गत बैशाखमा जनही ४० हजार रुपैया लिएका थिए । आफु कांग्रेसको नेता भएको र प्रतिष्ठानमा पहुँच राम्रो भएकोले जागिर पक्का पाउने भण्डारीले आश्वासन दिएको पीडितहरुको भनाई छ ।
जागिर लगाईदिने भन्दै पैसा बुझाएर ठगिएकी महिलाहरु ।
ठगिएकामध्ये देविकासँग भण्डारीको सामान्य चिनजान थियो । त्यही विश्वासको भरमा तीन जनाले भण्डारीलाई ४० हजार रुपैया, २ वटा फोटो, शैक्षिक प्रमाणपत्र र नागरिकताको फोटोकपी बुझाएको पीडित शान्तिकुमारीले बताइन् । पीडित सविताका अनुसार भण्डारीले साउन ५ गतेभित्र बीपी प्रतिष्ठानमा अथवा खानेपानी संस्थानमा पक्का जागिर लगाईदिने आश्वासन दिएका थिए । तर, लामो समय बितिसक्दा पनि जागिर लगाउन नसकेपछि पैसा फिर्ता माग्दा भण्डारीले आलटाल गर्ने गरेका थिए । ‘पैसा फिर्ता माग्दा हल्ला नगर्नु, म राजनीतिक मान्छे हुँ, गाह्रो हुन्छ भन्थे’–शान्तिकुमारीले भनिन् –‘पैसा फिर्ता दिन्छ कि भन्दा भन्दै समय बित्यो ।’
आरोपित भण्डारी यसअघि पनि ठगी मुद्दामा कारबाहीमा परिसकेको इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए । एक महिनाअघि ठगी मुद्दामा पक्राउ परेका भण्डारीलाई दोहोरिएकोले अब भने ठगीमा कडा कारबाही हुने गरि मुद्दा चलाउने डिएसपी थापाले बताए । भण्डारीले भने काठमाण्डौंको विजय पाण्डे नामका एक व्यक्तिले आफुलाई फसाएको भन्दै बचाउ गरे । ‘विजय पाण्डेले काम गर्न लगाएको हो, तर अहिले ऊसँग सम्पर्क नै हुदैन । म फसेँ’–भण्डारीले भने । तर, प्रहरीले भने विजय पाण्डेको नाम लिएर भण्डारीले आफुलाई बचाउन खोजेको आशंका गरेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे