ब्रिटिश गोर्खा स्मृति स्तम्भको गुरुयोजना तयार
धरान । विश्वयुद्धमा ज्यान वीरगति प्राप्त गरेका वीर गोर्खालीहरुको इतिहासलाई ज्यूदो राख्न सुनसरीको विष्णुपादुका ६ स्थित माछामारा डाँडामा निर्माण गरिन लागेको ब्रिटिश गोर्खा स्मृति पार्कअन्र्तगतको मोनोमेन्ट(स्मृति स्तम्भ)को गुरुयोजना तयार भएको छ ।
स्मृति पार्कको स्मृति स्तम्भ सन् २०१५ अप्रिल महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्यमसहित ब्रिटिश गोर्खा स्मृति पार्क समितिले गुरुयोजना तयार भएको जानकारी गराएको हो । यो पार्क ब्रिटिश गोर्खा भूपू सैनिक संघ(बि–गेसो)को महत्वकांक्षी योजनामध्येको एक योजना हो । पार्कमा गोर्खा भूपूहरुको पहिचान, पूर्खाहरुको सम्मान तथा अभिलेख, गोर्खाहरुको इतिहासलाई जीवन्त राख्दै अध्ययन, अनुसन्धानसहित पर्यटकीय आर्कषणको केन्द्र बनाउने गेसोको लक्ष्य छ । ‘यो हाम्रो महत्वकांक्षी योजना हो, स्मृति स्तम्भ क्षेत्रको गुरुयोजना तयार भएकोले अब ढिलामा एक महिनाभित्रै निर्माण कार्य शुरु हुन्छ’–स्मृति पार्क समितिका सल्लाहकार गजेन्द्र इस्पोले भने–‘पार्कको मुख्य आर्कषण नै स्मम्भ हुन्छ ।’
समितिका अनुसार हाल तयार भएको गुरुयोजनाअनुसारका निर्माण कार्य सक्न करिब ४ करोड खर्च हुने अनुमान गरिएको छ भने स्मृति स्तम्भको मात्रै ५० लाख रुपैया लाग्ने अनुमान छ । पार्कको कुल क्षेत्रफल १२ बिघा जमिन हो । त्यसमध्ये हाल झण्डै २ कट्ठामा मात्रै स्मृति स्तम्भसहितको संरचनाहरु निर्माण हुन लागेको हो । त्यसको गुरुयोजना आर्किटेकद्धय लुसान बराल र श्रवण श्रेष्ठले तयार गरेका हुन्् । गुरुयोजनावमोजिम पार्किङ क्षेत्रसहित ढुंगाको सिढी, विश्रामस्थल, थकाई मार्न घासे मैदान, पानीको फोहोरा, ठाक प्रयोग गरेर बनाइएको छहारी तथा धरानको दृष्यवलोकन गर्न सकिने प्वाइन्ट बनाइनेछ । ‘मुख्य आर्कषण स्मृति स्तम्भ नै हुनेछ । पप्पी फुलको बेसमा ९ वटा पल्टनको चिनारी छाप रहन्छ र त्यसमाथि प्रत्येक पल्टनको संक्षिप्त इतिहास राखिएको हुन्छ’–आर्किटेक श्रेष्ठले भने–‘त्यसमाथि भने आयो गोर्खाली शैलीमा लाहुरे पोकमा खुकुरी बोकेको मुर्ति राखिन्छ ।’ उनका अनुसार आसपासमा बगैचा र कृत्रिम झरना पनि बनाइनेछ भने स्मृति स्तम्भलाई चारैदिसाबाट नियाल्न सकिने गरि डिजाइन गरिएको छ ।

Comments
Post a Comment