जुवा जस्तै खेलेको भन्दै प्रहरीद्धारा क्यारमवोर्ड र लुडो नियन्त्रण


धरान । युवाहरुले क्यारम वोर्ड र लुडोलाई जुवाजन्य खेलकोरुपमा प्रयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानले धमाधम नियन्त्रणमा लिन थालेको छ । एक साता यता मात्रै प्रहरीले दुई दर्जन बढी बोर्ड नियन्त्रणमा लिएको छ ।
मनोरञ्जन खेलमा प्रयोग गरिने लुडो र क्यारम बोर्डलाई सार्वजनिकस्थलमा नै हजारौं रुपैया बाजी थापेर खेल्ने गरेको भेटिएपछि त्यसविरुद्ध अभियान शुरु गरेको प्रहरीको भनाई छ । धरानका विभिन्न पसलहरुमा क्यारम बोर्डमा तास प्रयोग गरेर म्यारिज खेल सञ्चालन हुन्छ । जहाँ हजारौं रुपैयाको बाजी पनि खेलिन्छ । लुडोमा पनि बाजी खेलेर समय कटाउने गरेका छन् ।
जुवातास विरुद्ध प्रहरीले कडाई गरे पनि यस्ता खेलमा हुने बाजीप्रति भने ध्यान दिएको थिएन । तर, पछिल्लो समय सर्वसाधारणहरुबाटै असन्तुष्टी र आवाज उठ्न थालेपछि प्रहरीले निगरानी बढाएको थियो । जुवा तासविरुद्ध अभियान चलाएपछि बानी परेकाहरु यसतर्फ आकर्षित भएको हुनसक्ने प्रहरीको अनुमानछ । ‘अलग अलग स्थानमा अखडा बनाएर व्यावसायिकरुपमा नै क्यारम बोर्ड, लुडो सञ्चालन हुने गरेको रहेछ, त्यही भएर नियन्त्रणमा लिएका हौं’–डिएसपी सञ्जयसिंह थापाले भने ।
उनका अनुसार विभिन्न पेशाका व्यक्तिहरुसमेत जुवाकोरुपमा पैसा लगानी गरेर क्यारम बोर्ड, लुडोमा समय बर्बाद गर्ने गरेका छन् । साथै, यसले झगडा पनि गराउने भएकोले बाध्य भएर नियन्त्रणमा लिनु परेको डिएसपी थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका अनुसार एक सातामा २२ थान क्याराम बोर्ड र ६ थान लुडोको बोर्ड नियन्त्रणमा लिएको छ । ती सामग्रीहरुलाई जुवाजन्य खेलकोरुपमा प्रयोग नगर्ने र सार्वजनिक स्थानमा पनि नराख्ने प्रतिवद्धता जनाएपछि सम्बन्धित धनी तथा व्यवसायीलाई फिर्ता गरिने डिएसपी थापाले बताए । पुनः अनुगमन गर्दा फेला परेमा कडा कारबाही गर्ने पनि उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे