बीपी प्रतिष्ठानमा ‘क्लिन एण्ड ग्रिन’ अभियान

धरान । सार्वजनिक विदाको दिन शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्षसहित चिकित्सक, विद्यार्थी र कर्मचारीहरु प्रतिष्ठान हातामा रहेको सरस्वती मन्दिरमा भेला भए । अरु बेला भए हातमा पूजा सामग्री हुनेथियो, तर शनिबार भने सबैको हातमा झाडु थियो ।
सानो औपचारिक कार्यक्रमपछि सबैभन्दा पहिला झाडु बोकेर उपकुलपति डा.बलभद्रप्रसाद दास, शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, डेपुटी अस्पताल निर्देशक डा.पशुपति चौधरी, बाल रोग विभाग प्रमुख डा.गौरीशंकर शाहसहित चिकित्सकहरु फोहोर सफाई गर्न हिडे । उच्च पदाधिकारी र चिकित्सकहरु नै झाडु बोकेर सफाई गर्न थालेपछि अन्य चिकित्सक, विद्यार्थीहरु पनि फोहोर सफाईमा जुटे । यो दृष्य प्रतिष्ठानले शनिबारबाट शुरु गरेको ‘क्लिन एण्ड ग्रिन बीपीकेआइएचएस’ अभियानको हो ।
प्रतिष्ठानलाई सफा र हरियाली बनाउने उद्देश्यले प्रवक्त एवं डेपुटी अस्पताल निर्देशक डा.पशुपति चौधरीको पहलमा यो शनिबारदेखि अभियान शुरु गरिएको हो । यो अभियान प्रत्येक नेपाली महिनाको अन्तिम शनिबार सञ्चालन गरिने प्रवक्ता डा.चौधरीले बताए । ‘यो एक बर्षअघिकै कल्पना हो, ढिला भए पनि राम्रो कामको शुरुवात गरेका छौं’–उनले भने–‘बीपी प्रतिष्ठान हाम्रै हो, अन्तिम शनिबार एक घण्टा समय निकाल्न सक्छौं । विद्यार्थीहरु पढाईमा मात्रै होइन, यस्ता सामाजिक गतिविधिमा पनि सहभागी हुनु जरुरी छ ।’ उनका अनुसार यो अभियान सञ्चालन गर्न विद्यार्थीलाईसमेत सहभागी गराएर एउटा समिति बनाइनेछ । उक्त समितिले शनिबार कुन क्षेत्रमा सफाई अभियान चलाउने भनेर अग्रिमरुपमा नै निश्चित गरेर सबैलाई जानकारी पनि दिनेछ ।
बीपी प्रतिष्ठानले करिब ४ सय बिघा क्षेत्रफल ओगटेको छ । त्यसमध्ये आधा(करिब २ सय बिघा) क्षेत्रफल आवास क्षेत्र हो । त्यही क्षेत्रमा बढी फोहोर हुने गरेको छ । प्रतिष्ठानले सरसफाई गर्ने जिम्मा निजी क्षेत्रलाई जिम्मा दिएपनि सन्तोषजनक काम गर्न नसकेको जनाएको छ । ‘हामीले सफाई गर्ने जिम्मा दिएका छौं, यो उसको जिम्मा हो । तर, रोडमा, नालामा जहीत्यही फोहोर देखिन्छ, सन्तोषजनक काम भएको छैन’–उपकुलपति डा.दासले भने–‘यो अभियानले सफाईको जिम्मा जसले लिएको छ, उसलाई घच्घच्याउने काम गर्छ । आवास क्षेत्रका कर्मचारी, विद्यार्थीहरुलाई पनि सफा रहन सचेत गराउछ ।’ उपकुलपति दासले सफाईसँगै जि वान र जि टु क्षेत्रमा समिति बनाएरै सुरक्षा, पानी र विजुली वचतको अभियान पनि चलाउन जरुरी रहेको बताए । शिक्षाध्यक्ष बिक्रम श्रेष्ठले अभियानले सबैमा सफा रहनुपर्छ भन्ने सकरात्मक सोच जन्माउने आशा व्यक्त गरे । ‘हामी सबै नेपाललाई सिंगापुर बनाउने सपना देख्छौं, तर सिंगापुर सफा गरेर सफा भएको होइन, फोहोर नगरेर चाहि सफा भएको हो । हामी पनि फोहोर नगरौं, बीपी मात्रै होइन, देश नै सफा हुन्छ’–उनले भने ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे