हुर्रामय बन्यो धरान(फोटोफिचर)
धरान । बिहिबारे बजारैमा चिया खाने कपैलाई
सुपारी चाम्रो स्वागत छ हाम्रो, यहाँहरु सबैलाई..
धरान रमाइलो....।
धरान १५ स्थित शिक्षा सदन माविको मैदानमा भेडेटार, नाम्जेस्थित नेपाल मगर संघको टोलीले हुर्रा भाकामा गाउदै नाच्न थालेपछि शनिबार दिउँसो वातावरण एकाएक गीत,संगीतमय बन्यो । त्यसपछि त मगर समुदायको बाक्लो उपस्थितिमा आयोजिन कार्यक्रम घण्टौंसम्म हुर्रामय बन्यो । बीच बीचमा भाषण चलिरह्यो, तर सबैको मन भने हुर्रामा नै अल्झि रह्यो ।

हुर्रा कार्यक्रममा सहभागी हुन् मगर युवायुवती, बालबच्चादेखि बृद्धबृद्धाहरु पनि मौलिक पहिरनमा ठाटिएर आएका थिए । पुरुषहरुले मौलिक जातीय पहिरन घल्याङ, स्टकोट, पटनी र युवतीहरु गुन्यु चोलीसँगै विभिन्न गरगहनाले सजिएका थिए । कार्यक्रममा नाम्जे र धरानको टोलीले हुर्रा गीत,नृत्य प्रस्तुत गर्यो । संघका भेडेटार गाउँ कमिटि अध्यक्ष दिलिप थापा मगरका अनुसार गाउँघरमा हुर्रा नाच्न टाढा टाढाबाट तरुनी तन्नेरीहरु आउछन् र उनीहरु गीतबाटै जुहारी खेल्छन् । ‘त्यसरी जुहारी खेल्दा खेल्दै मन मिल्यो भने त जीवनसाथीकोरुपमा बिहावारी पनि गर्ने चलन छ’–उनले भने ।
पूर्वेली मगरहरुले मात्रै नाच्ने हुर्रा नाच धनकुटाको मुढेबासबाट शुरुवात भएको मगर अगुवाहरु बताउछन् । यो नाच धनकुटाको दक्षिणी क्षेत्र चौबिसे र मोरङ जिल्लाको उत्तरी क्षेत्रमा सबै भन्दा बढी नाचिन्छ । देशै रमाइलो..र हुर्रा हा हा..बोलको भाकामा मादल, बाँसुरीलगायत बाजाको तालमा एक आपसमा हात समातेर गोलाकारमा नाचिन्छ । हुर्रा कार्यक्रमका प्रमुख अतिथि एवं नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले आफ्नो सँस्कृति पहिचान भएकोले यस्ता कार्यक्रमले जोगाउन भुमिका खेल्ने बताए भने अदिबासी जनजाति महासंघ नगर समन्वय परिषदका उपाध्यक्ष रामबहादुर मोक्तानले सँस्कृतिसँगै समुदाय पनि सुदृढ हुदै गएको धारणा राखे । कार्यक्रममा बराह ज्ेवलरी इष्डष्ट्रिज प्रालिका पुर्णबहादुर कालिकोटे, मगर संघका जिल्ला अध्यक्ष विष्णु थापा मगरलगायतले पनि बोलेका थिए ।
Comments
Post a Comment