धरान रंगशाला निर्माण सुस्त,सिकारु थलो बन्यो


धरान । निर्माणकार्यमा ढिलाई भएसँगै धरान रंगशाला वेवारिस बन्दै गएको छ । सरोकारवाला निकायले सुरक्षा प्रबन्ध नगर्दा र खेलकुदकर्मीहरुको आँखा नपर्दा रंगशाला सवारीको सिकारु थलो बनेको छ । रंगशालामा बिहान बेलुका मात्रै मर्निङ वाकमा निस्कनेहरुको हुल देख्न सकिन्छ । दिनभर भने रंगशाला चार पांग्रे गाडी र दुई पांग्रे मोटरसाइकल सिक्ने थलो बनेको छ ।
सिकारु गाडीले झार किचेर मैदानको स्वरुप नै बिग्रिगदै गएको छ । रंगशाला निर्माणकोक्रममा यो मैदानमा लाखौं रुपैयाको झार रोपिएको थियो । स्थानीयबासीका अनुसार रंगशालाको संरक्षणमा कुनै पनि निकायले चासो नदिएको कारण वेवारिसे बन्दै गएको हो । ‘यहाँ चौबिसै घण्टा जस्तो सिकारु कार, मोटरसाइकल आउछन्, सुरक्षाको जिम्मा कसैले लिएको छैन’–स्थानीय बालकृष्ण पाठकले भने–‘रंगशाला न आपका न बापका भएको छ, कमाई खाने भाडो जस्तो मात्रै भयो ।’ उनका अनुसार सुरक्षा प्रबन्ध नहुदा सिकारु गाडीको मात्रै होइन, भौतिक संरचना जोगाउन पनि हम्मे परिरहेको छ ।

यसअघि मुल गेटको गजुर भत्काइदिने, बत्ति फुटाइदिने र सेमी कवर्ड हलमा पनि क्षति पुर्याउने गरेको थियो । यसबारेमा खेलकुद विकास समितिलाई भनेपनि वास्ता नगरिएको पाठकले बताए । ‘हामीले रोक्ने प्रयास गर्यौं, तर सकेनौं । समितिलाई भन्दा बनिसकेपछि सबै अफिस यही साछौं, त्यसपछि हेरिहाल्छौं भने, तर यो कहिले बनिसक्ने हो ?’–पाठकले भने । रंगशाला सुरक्षाको लागि स्थानीयसँग समन्वय र सहकार्य गर्न सरोकारवालाले चासो नदिएको पनि उनले बताए ।
धरान रंगशालालाई पूर्वाधार सम्पन्न बनाउने उद्देश्यले २०६८ सालदेखि पुरानो संरचना भत्काएर निर्माण कार्य शुरु गरिएको थियो । त्यसयता यहाँ खेलकुदका गतिविधिहरु शुन्य छ । स्थानीयस्तरमा धरान रंगशाला भौतिक निर्माण तथा मर्मत संम्भार समितिले फुटबल मैदानको स्वरुप परिवर्तन गर्दै पुनः मैदान तयार गर्यो । समितिले त्यहाँ करिब ८ लाख रुपैया खर्च गरेर दुबो(झार) उमारेको थियो । तर, अहिले सुरक्षा अभावले सिकारु थलो भन्दा मैदान वरिपरीको झार नष्ट भएको छ । मैदानको स्वरुप पनि बिग्रदै गएको छ । रंगशालाको मुल गेट बनेपनि अन्य ६ वटा सहायक गेट बन्न बाँकी छ । ति गेट नबन्दा रंगशालाको सुरक्षामा लापरवाही भएको हो ।

‘हामीले ८ लाख जतिमा मैदानमा माटो भर्यौं र दुबो रोप्यौं । राष्ट्रिय खेलकुद परिषदलाई चौकिदार व्यवस्था गर्नुस र गेट लगाइदिनुस् भन्यौ, तर त्यस्तो व्यवस्था भएन’–हाल विघटित समितिका संयोजक अशोक राईले भने–‘हामीले नै २ पटक बाँसले ढोका बन्द गर्यौं, तर भत्काइदिइ हाले । अहिले रंगशाला गाई भैसी चरण र गाडी सिक्ने थलो बन्यो ।’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङबाङ रंगशाला सुरक्षाको लागि मन्त्रालयमा २ जना चौकीदाको माग गरिए पनि नपाएको बताउछन् । साथै, रंगशाला प्रवेश गर्ने अन्य सहायक गेटहरु पनि चाडै निर्माण नभएसम्म समस्या जारी रहने उनको भनाई छ । ‘मन्त्रालयलाई चौकीदारको माग गर्यौं, सकिदैन भन्यो । तुरुन्त गेट बनाउनुपर्छ भनेर दबाब दिइरहेका छौं’–अध्यक्ष चोङबाङले भने–‘चार बर्षभइसक्यो रंगशाला भत्काएर बनाउन थालेको, यस्तै पारा हो भने १० बर्षमा पनि पुरा हुदैन । सरकारले आवश्यक बजेट दिएर चाडै निर्माण कार्य पुरा गर्नुपर्छ ।’


रंगशालामा हालसम्म सेमी कवर्ड हल र उत्तरपटि प्याराफिटको एक खण्ड मात्रै निर्माण सम्पन्न भएको छ । पुष मसान्तसम्म निर्माण कार्य सक्ने भन्दै हाल भिआइपी प्याराफिट निर्माण भइरहेपनि काम सुस्त छ । यो सँगै रंगशालाको ६ वटा सहायक गेट पनि बनाउने भनेर राष्ट्रिय खेलकुद परिषदले ठेक्कामा काम गराएको छ । रंगशाला चाडै तयार नहुदा खेलकुदका गतिविधिहरुमा समेत असर पुगिरहेको खेलकर्मीहरुको गुनासो छ । ‘बर्षेनी हुने बुढासुब्बा गोल्डकप एन्फाको सानो टेक्निकल सेन्टरमा गर्नुपरिरहेको छ, अन्य खेलाडीहरुलाई प्रशिक्षण लिन पनि ठाउँ अभाव भइरहेको छ’–बक्सिङका प्रशिक्षक अनुप लामाले भने–‘जति छिटो निर्माण सम्पन्न हुन्छ, रंगशाला पनि व्यवस्थित र सदुपयोग हुन्छ, खेलकुदको गतिविधिहरु पनि धमाधम हुन्छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे