इष्र्टन ओपन गल्फको दोस्रो दिन सुर्यप्रसाद शीर्षस्थानमा (फोटोफिचर)
धरान । रोयल नेपाल गल्फ क्लबका सुर्यप्रसाद शर्मा सुर्य नेपाल इष्र्टन ओपनको दोस्रो दिन बिहिबार शीर्षस्थानमा रहन सफल भएका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बिहिबार ३६ होलको खेल समाप्ति हुँदासम्म कुल ५ अण्डर १३५ कार्ड बनाउदै शर्मा शीर्षस्थान उक्लिएका हुन् ।
पहिलो दिन ४ अण्डर ६६ को कार्ड बनाएर सञ्जय लामासँग एक स्ट्रोकले पछि परेका शर्माले बिहिबार दोस्रो स्थानबाट खेलको शुरुवात गरेका थिए । दोस्रो दिन उनले एक अण्डर ६९ को कार्ड बनाएका थिए । उनले फ्रन्ट नाइनमा पहिलो, तेस्रो र चौथो होलमा बुगी खेपे पनि पाँचौं होलमा बर्डी खेले भने पार ५ को छैटौं होलमा इगल गर्दै थप २ स्ट्रोक जोगाएर लेभर पार ३५ को कार्ड बनाए । यस्तै, ब्याक नाईन एक अण्डर ३४ खेल्ने क्रममा उनले १४ औं होलमा बर्डी गरेका थिए ।
पहिलो दिन ५ अण्डर ६५ को कार्ड बनाउदै शीर्ष स्थानमा रहेका सञ्जय लामा दोस्रो दिनको खेल सकिदा भने सुर्यप्रसादसँग एक स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा झरेका छन् । दोस्रो दिन उनले एक ओभर ७१ को कार्ड बनाउने क्रममा फ्रन्ट नाइन लेभर पार ३५ खेले भने ब्याक नाईनमा एक ओभर ३५ को कार्ड बनाए । उनले ब्याक नाईनमा १२ औं र १७ औं होलमा बर्डी गर्दै २ स्ट्रोक जोगाए पनि पार ४ को १० औं होलमा डबल बुगी र १३ औं होलमा थप एक बुगी खेप्दै स्ट्रोक खेर फालेका थिए ।
शीर्ष स्थानमा उक्लिएका नेपालका नम्बर ५ गल्फर सुर्यप्रसादले दोस्रो दिन पटिङ खराब भए पनि ड्राइभ र आइरन सटले साथ दिएको प्रतिक्रिया दिए । ‘छैटौं होलमा ड्राइभ राम्रो भएको भयो, र दोस्रो सटमा इगल भयो’–खुशी हुदै शर्माले भने–‘तर, पटिङले साथ दिएन, भोली(शुक्रबार) राम्रो खेल्नेछु ।’ दोस्रो स्थानमा झरेका सञ्जय लामाले दोस्रो दिन सबै राम्रो भएपनि पटिङ बिग्रेको प्रतिक्रिया दिए ।


एमेच्योरतर्फ भने स्थानीय शुक्रबहारदुर राई कुल ५ ओभर १४५ स्कोरका साथ पहिलो स्थानमा छन् । पहिलो दिन ३ ओभर ७३ को कार्ड बनाउदै दोस्रो स्थानमा रहेका उनले दोस्रो दिन भने २ ओभर ७२ को कार्ड बनाउदै शीर्षस्थानमा उक्लन सफल भए । यस्तै, कुल १० ओभर १५० स्कोरका साथ शिवराम माझी र राजु राई संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दोस्रो दिन ३६ होलको खेल समाप्ति हुदा कुल ३१ प्रोफेस्नल खेलाडीमध्ये ९ जना कटआउट भएका छन् । मुख्य स्पर्धाको तेस्रो तथा अन्तिम दिन शुक्रबार २१ प्रोफेस्नल खेलाडी मात्रै खेल्नेछन् । यस्तै, कुल २४ एमेच्योर खेलाडीमध्ये १८ जना कटआउट भए भने ६ जना मात्रै शुक्रबार तेस्रो तथा अन्तिम दिन खेल्नेछन् ।
Comments
Post a Comment