युवा पुस्ता प्राविधिक शिक्षातर्फ आकर्षित

धरान । शिक्षा सदन उच्चमाविबाट प्लस टु उर्तीण गरेकी सरिता तामाङलाई बुबाले सब ओभरसियर पढ्न सल्लाह दिए । निर्माण व्यावसायमा रहेका बुबाको सल्लाह उनलाई पनि उचित लाग्यो । करिब डेढ महिनादेखि उनी धरान १५ स्थित पूर्वाञ्चल बहुप्राविधिक तालिम केन्द्रमा सिभिल सब ओभरसियर पढ्दैछिन् ।
‘पढ्ने बिषय र कलेज धेरै छन्, तर सब ओभरसियर पढ्दा छिटै रोजगारी पाइन्छ, बेरोजगार भएर बस्नु पर्दैन’–बुबाको सल्लाहमा सर्मथन जनाउदै उनले नागरिकसँग भनिन्–‘मलाई अटो क्याट(कम्प्युटरबाट नक्सा ड्रइङ गर्ने) बिषयमा धेरै रुचि छ ।’ सरितासँगै धरान ११ का डिल्लीश्वर चाम्लिङ राई पनि सब ओभरसियर पढ्दै छन् । उनी भने भविष्यमा रोजगारी नपाउला भन्ने चिन्ताले पढ्न आएका भने होइनन् । निर्माण व्यावसायमा सक्रिय राईलाई सब ओभरसियर पढ्नु बाध्यता बन्यो । भौतिक संरचना निर्माण गर्नको लागि आवश्यक नक्सा बनाउन अरुकै भर पर्नुपर्ने झञ्झटबाट मुक्त हुन उनी प्राविधिक शिक्षा पढ्न आएका हुन् । ‘प्राविधिक शिक्षा अतिआवश्यक रहेछ, आफैले पढेर घरनक्सा बनाउन सकियो भने गुणस्तरीय, आफुले चाहेजस्तो बनाउन सकिन्छ’–उनले भने ।
सरिता र डिल्लीश्वर झै अचेलका युवा पुस्ता प्राविधिक शिक्षातर्फ आकर्षित हुदै गएका छन् । प्राविधिक ज्ञान एवं सिप भएका दक्ष जनशक्तिको देश तथा विदेशमा अत्यधिक माग भएपछि युवा पुस्ता त्यसतर्फ आकर्षित भएका हुन् । तालिम केन्द्रले विगत १८ बर्षदेखि सिटिइभिटीबाट मान्यताप्राप्त १५ महिने सिभिल सब ओभरसियर पढाउदै आएको छ । यो बिषय पढ्न एसएलसी पास गरेमात्र पुग्छ । युवा पुस्ताले प्राविधिक शिक्षाको महत्व बुझ्न थालेपछि पछिल्ला बर्षहरुमा प्राविधिक ज्ञान तथा सिप सिक्न चाहने युवाहरुको संख्या ह्वात्तै बृद्धि भएको केन्द्रका प्रिन्सिपल सन्दिप लिम्बूले बताए । ‘नेपालमै पनि सबओभरसियर पढेकाले राम्रो जागिरको अवसर पाउछन्, विदेश जादा पनि सिप भएकालाई प्राथमिकता दिइन्छ’–प्रिन्सिपल लिम्बूले भने–‘हिजोआजका युवाहरुले प्राविधिक शिक्षाको महत्व बुझेका छन्, त्यसैले स्नातक, स्नातकोत्तर पढेका युवायुवती पनि पढ्न आएका छन् ।’
प्रिन्सिपल लिम्बूका अनुसार केन्द्रमा बर्षेनी ४० जना विद्यार्थीको कोटा हुन्छ । तर, आवेदन दिनेको संख्या दोब्बर भन्दा धेरै हुन्छ । यहाँबाट उर्तीण भएका ८० प्रतिशत भन्दा बढीले कुनै न कुनै निकायमा काम गरिरहेको उनको भनाई छ । छोटो अवधिको तालिम निःशुल्क सञ्चालन भएपनि १५ महिने सब ओभरसियर पढ्न भने शुल्क तिर्नुपर्छ । सब ओभरसियरले लोकसेवा आयोगमा भिड्ने अवसर पाउछन् भने नगरपालिका, गाविस, सडक विभाग, खानेपानी तथा विभिन्न परियोजनामा पनि जागिरको अवसर पाउछन् । ‘यो पढेपछि घरनक्सा, विल्डिङ कन्सट्रक्सन, वायरिङ, झोलुङ्गे पुललगायत सबै काम गर्न सक्छ, पास भएकाहरु वेरोजगार भएर बस्नुपदैन’–उनले भने ।
..................

                                             तीन महिने तालिममा पनि घुइचो

पूर्वाञ्चल बहुप्राविधिक तालिम केन्द्रले सञ्चालन गर्ने निःशुल्क तीन महिने तालिममा पनि युवा युवतीहरुको घुइचो छ । नेपाल सरकारको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि(इभेन्ट) परियोजनाअन्र्तगत शुरु हुन लागेको बिल्डिङ इलेक्ट्रिसियन र ड्रेस मेकर तालिम लिन आवश्यक कोटा भन्दा झण्डै चार गुणा बढी युवायुवतीहरुले आवेदन दिएका छन् ।
छोटो अवधि तालिम कार्यक्रमका संयोजक मनोज लिम्बूका अनुसार ड्रेस मेकर र इलेक्ट्रिसियन तालिममा ४०÷४० जनाको कोटा छ । तर, धरान १५ स्थित केन्द्रमा ड्रेस मेकरमा अढाई सय जनाको आवेदन परेको छ भने इलेक्ट्रिसियनमा डेढ सय बढीको आवेदन परेको छ । ‘सुनसरी र मोरङ जिल्लामा गरि जम्मा २ सय ६० जनालाई तालिम दिइन्छ, तर आवेदन ज्यादै धेरै परेको छ’–उनले भने–‘तालिम लिन आउनेहरु कतिपय विदेशमा दुःख पाएर फर्केकाहरु पनि छन् । सिप सिकेर मात्रै जानुपर्छ भन्ने ज्ञान उनीहरुले पाएका छन्, अरुले पनि सिप सिकेमा वेरोजगार बस्नु पर्दैन भन्ने ज्ञान पाएका छन् ।’
उनले भनेजस्तै ०६६ सालमा नै प्लस टु पढाई छोडेका धनकुटा डाडा बजारका विष्णु लिम्बूले बिल्डिङ इलेक्ट्रिसियन तालिम लिने इच्छा लिएर बुधबार छनौट अन्र्तवार्ता दिएका छन् । ‘वेरोजगार भएर बसिएको छ, सिप सिकियो भने आफ्नो खुट्टामा आफै उभिन सक्छौं भनेर आवेदन दिएको हुँ’–नागरिकसँग उनले भने । उनीसँगै अन्र्तवार्ता दिन आएका धनकुटा १ हिलेका रामबहादुर बिक भन्छन्–‘हामी सबै बेरोजगार नै छौं, हातमा सिप नहुदा काम नै नपाइदो रहेछ । विदेश जादा पनि सिप हुनै पर्ने रहेछ ।’ केन्द्रका प्रिन्सिपल सन्दिप लिम्बूका अनुसार करिब एक दशकअघिसम्म बिल्डिङ इलेक्ट्रिसियन तालिम लिन ५ हजार तिर्नुपथ्र्यो । तर, अहिले सरकारले पनि प्राविधिक शिक्षा तथा सिपलाई प्राथमिकता दिदै लगानी गरेकोले युवाहरुले निःशुल्क सिक्न पाएका छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे